पूर्वमिस नेपाल वर्ल्ड श्रृङ्खला खतिवडाले पश्चिम युरोपको सबैभन्दा अग्लो हिमाल ‘मो ब्लाँ’ आरोहण गरेको भिडियो सार्वजनिक गरिएको छ। काठमाडौंस्थित फ्रान्सेली दूतावासले भिडियोलाई सोमबार युट्युवमा राखेको हो।
खतिवडाले यसै वर्ष साउनको पहिलो साता मो ब्लाँ आरोहण गरेकी थिइन्। खतिवडा नेपाल-फ्रान्स कूटनीतिक सम्बन्धको ७०औं वर्ष पुगेको अवसरमा आयोजना गरिने विशेष कार्यक्रमहरूको लागि सद्भावनादूत हुन्।
मो ब्लाँको चुचुरोमा पुगेपछि खतिवडाले त्यहाँ नेपाल र फ्रान्स दुवै देशको राष्ट्रिय झण्डा फहराएकी थिइन्। उनलाई दुई नेपाली चलचित्रकर्मी सिसन बानियाँ र प्रज्वल थापा मगरले साथ दिएका थिए। ब्लाँ आरोहण गर्दा खतिवडालाई लिजेन्ड्री स्केअर एनसेलमी बाउडले गाइड गरेका थिए।
मो ब्लाँ आरोहणको सम्पूर्ण तारतम्य काठमाडौंस्थित फ्रान्सको दूतावासले मिलाएको थियो। आरोहण नेपाल-फ्रान्स कूटनीतिक सम्बन्ध ७० औं वर्ष पुगेको अवसरामा गरिएको थियो।
मो ब्लाँलाई ‘सेतो हिमाल’ को रूपमा चिनिन्छ। मो ब्लाँको उचाई ४ हजार ८ सय ८ मिटर (१५ हजार ७ सय ७४ फिट) रहेको छ। यो हिमाल फ्रान्स र इटालीको सिमानामा रहेको छ।