Categories
समाचार

भारतले सार्वजनिक गरेको नक्सा अस्वीकार गर्ने नेकपा स्थायी समितिको निर्णय

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले नेपाली भूमि समेटेर भारतले जारी गरेको नक्सा अस्वीकार गर्ने निर्णय गरेको छ । आइतबार सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर भारतले जारी गरेको नक्सा अमान्य र अस्वीकार गर्ने निर्णय गरेको हो । बैठकले महाकाली नदीको मुहान लिम्पियाधुरा रहेको निष्कर्ष निकाल्दै कालापानी, लिम्पिायाधुरा, लिपुलेक र सुस्ता लगायतको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

सीमा समस्या समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रमा छलफल गर्ने सहमति र प्रयास भइरहेकोमा त्यसविपरीत प्रकाशित नक्सा आपत्तिजनक रहेको बैठकले ठहर गरेको छ । यस समस्याको छिटो समाधान गर्न आवश्यक कूटनीतिक र राजनीतिक प्रयास हुनुपर्नेमा बैठकले जोड दिएको छ ।

प्रवक्ता श्रेष्ठले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० परियोजनाका सन्दर्भमा यो इण्डो प्यासिफिक रणनीति अन्तर्गत होइन भन्ने कुरा अमेरिकालाई औपचारिक र आधिकारिक रुपमा स्पष्ट पार्न अनुरोध गर्ने निर्णय गरिएको उल्लेख गरे । अमेरिकाले एमसीसी इण्डो प्यासिफिक अन्तर्गत भन्ने प्रष्टीकरण दिएपछि यसमा रहेका अन्य भाषा परिमार्जन गर्ने विषयमा प्रधानमन्त्री र सरकारसँग छलफल गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
स्थायी कमिटी सदस्य भीम रावलले एमसीसीको विषयमा बैठकमा उठेका विषयहरु सरकरले स्पष्ट पार्नुपर्ने र अमेरिकाले पनि यो इण्डो प्यासिफिक अन्तर्गतको परियोजना होइन भनेर प्रष्ट पार्नुपर्ने निर्णय भएको बताए । यसको जिम्मा पार्टीको सचिवालयलाई दिइएको उनले जानकारी दिए ।

स्थायी कमिटीले पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन केही संशोधनसहित पारित गरेको छ । त्यसैगरी महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिइ आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने गरी पारित गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

पार्टी एकीकरणका बाँकी रहेका काम केन्द्रीय कमिटी बैठक अगाडी नै सम्पन्न गर्नुपर्ने निर्णय स्थायी कमिटीले गरेको छ । मंसिर २९ बाट बसेको स्थायी कमिटी बैठक आइतबार सातौँ दिन सम्पन्न भएको हो । बैठकमा प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य समस्याका कारण सहभागि भएनन् ।

Leave a Reply

Your email address will not be published.