Categories
बिचार

‘बाख्राको दूध खाएर हुर्केको हुँ, कुनै रोगले छोएको छैन’

उमेरले ६० नाघिसके पनि कृष्णहरि बाँस्कोटा ‘बुढा’ भन्नलायक देखिँदैनन् । शारीरिक रुपमा जति तन्दुरुस्त छन्, मानसिक रुपले पनि उत्तिकै प्रखर छन् उनी । पुसको जाडोमा पनि बिहान ४ः३० नबज्दै तातो सिरक पन्छाएर उठ्छन् । नित्यकर्म सकेर घर अगाडिको सडकमा कुचो लिएर निस्किन्छन् । त्यसपछि क्रमशः भान्सामा पसेर चिया पकाउने, चिया–बिस्कुट खाँदै पत्रपत्रिका पढ्ने, अनि खाना खाएर कार्यालय वा कार्यक्रममा हिँड्ने उनको बिहानी–रुटिन हो ।

राति पनि उनी खानपिनपछि ११ बजेसम्म लेखपढ गर्छन् । त्यसपछि बल्ल साढे ५ घन्टाका लागि सिरकभित्र समेटिन्छन् उनी । बिहान उठेर फेरि त्यही रुटिन छँदैछ । बिहानको खाना पनि प्राय आफैं पकाउने गरेको बाँस्कोटा बताउँछन् ।

नेपाल सरकारको सचिवबाट अवकाश पाएपछि राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तको जिम्मेवारीमा छन् उनी । यहाँबाट पनि अवकाश पाउने समय नजिक आइसकेको छ । त्यसपछि के ? उनीसित तत्काल उत्तर छैन । सम्भवतः अध्ययन/लेखनमै बढी घोत्लिनेछन् । रक्सी विरोधी अभियानमा सक्रिय हुने सोच पनि छ उनको । भइपरि आउने कुराहरु त छँदैछन् ।

गत शुक्रबार बिहान अनलाइनखबरको टिम बास्कोटा निवास पुग्दा उनी सरसफाइमा व्यस्त थिए । सरसफाइ सकेर हात गोडा धोए र भान्सामा छिरे । अनि आफैंले चिया पकाएर बिस्कुटसहित हामीलाई स्वागत गरे । ‘मेरो त मूख्य खान्की नै बिस्कुट हो,’ चियामा बिस्कुट चोबल्दै उनले भने।

बास्कोटाका धेरै भाषणहरु सुनेकाले उनको वाकपटुताबारे हामी अनभिज्ञ थिएनौं । रसिक र गम्भीर दुवै पाटोमा उनी उत्तिकै धाराप्रवाह बोल्छन्। हामीसितको कुराकानी चाहिँ बाल्यकालको स्मृतिबाट सुरु भयो ।

१० कक्षासम्म ८ विद्यालय

धादिङको थाक्रेमा जन्मिएका बाँस्कोटा सानै छँदा उनकी आमा भर्‍याङबाट लडेकी थिइन् । घाइते भएर आमा थलिएपछि आफूलाई हजुरआमाले बाख्राको दूध खुवाएर हुर्काएको उनले सुनाए ।

‘सानैदेखि दुब्लो थिएँ, त्यसमाथि आमाको दूध खाना नपाएर बाख्राको खानुपर्ने अवस्था आयो,’ उनले भने । उमेरले ७ वर्ष नाघेपछि स्थानीय पाठशालामा भर्ना भए । आफै चकटी लिएर स्कुल जान्थे । त्यसबेला सानो कक्षाका बच्चाहरुलाई पीपलको चौतारीमा राखेर बाह्रखरी पढाइन्थ्यो।

उनका बुवा बहिदार सरहको सरकारी जागिरे थिए र वर्षेनी सरुवा भइरहन्थ्यो । त्यसैले बास्कोटाले कुनै पनि विद्यालयमा स्थिर भएर पढ्न पाएनन् । १० कक्षा पढ्दासम्म ८ वटा स्कुल फेरेका थिए उनले । स्थानीय केवलपुर हरिहर भोजकुमारी माविमा बाह्रखरी पढिसकेपछि उनी बुवासँगै काठमाडौं आए ।

काठमाडौंको गीतामाता माविमा १ कक्षा र २ कक्षा पढे । ३ कक्षा पढ्न बर्दिया पुगे । ४ कक्षा पढ्न धुलिखेल पुगे भने ५ कक्षा पढ्न काठमाडौं फर्किए । ६ कक्षा नुवाकोटमा पढेका उनी ७ कक्षा पढ्नका लागि पुनः काठमाडौं आइपुगे । काठमाडौंमा आठ कक्षा पढेपछि चितवन गए । त्यहाँको नमूना माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा उत्तिर्ण गरे । उनले चितवनकै वीरेन्द्र क्याम्पसबाट २०३६ सालमा प्रविणता प्रमाणपत्र तह अध्ययन पूरा गरे ।

पहिलो प्रयासमै सुब्बा

बास्कोटाले १२ कक्षाको बोर्डपरिक्षा दिइरहँदा बेला लोकसेवा आयोगले नायव सुब्बाका लागि विज्ञापन निकालेको थियो । उनी आइए पास भए पनि सर्टिफिकेटहरु आइनसक्दै लोकसेवाको आवेदन दिने म्याद सकिनै लागेको थियो । दोब्बर दस्तुर तिरेर आवेदन दिने अन्तिम दिन बास्कोटाले कलेजबाट उत्तीर्ण भएको प्रमाण पेश गरेर सर्टिफिकेट आउन बाँकी रहेको प्रमाणित गराएर आवेदन दिए ।

२०३७ साल जेठमा परीक्षा दिएका उनलाई निजामति सेवा प्रवेशका लागि दोस्रो परीक्षा दिन परेन । पहिलो परीक्षामै उनी उत्तिर्ण भए र तत्कालिन प्रशासन व्यवस्था विभाग (हालको सामान्य प्रशासन मन्त्रालय) मा पोस्टिङ पाए । जागिरसँगै उनले पाटन क्याम्पसमा अध्ययन पनि अघि बढाए । विभागमा छँदै शाखा अधिकृत भए ।

त्यसपछि उनी उपसचिवमा बढुवा भए । उपसचिव हुँदा अछाम जिल्लाको सीडीओ पनि भए । त्यसपछि सहसचिवमा बढुवा भएका उनी वाणिज्य विभागको महानिर्देशक, भन्सार विभागको महानिर्देशक, अर्थमन्त्रालयको बजेट महाशाखा प्रमुख हुँदै राजश्व सचिव भए । राजश्व सचिवबाट अर्थसचिव बनेका उनी बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालयको सचिव बने ।

निजामति सेवाबाट अवकाश भएपछि बाँस्कोटालाई सुशील कोइराला नेतृत्वको सरकारले प्रशासन सुधार समितिको संयोजकमा नियुक्त गर्‍यो । त्यसपछि उनी पाँचवर्ष अघि राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नियुक्त भएका हुन् । यहाँ उनको कार्यकाल एक महिना मात्र बाँकी छ ।

भन्सारमा जाने हुट्हुटी

बास्कोटाले जागिरे जीवनका केही रमाइला किस्साहरु पनि सुनाए । उनी प्रशासन विभागको नासु बनेर ललितपुरको हरिहरभवनमा पोष्टिङ भएका बेला अर्जुनमणि आचार्य दीक्षित र शेषरमण मानन्धर दुईजना हाकिम थिए । बास्कोटा केही दिनमा नै ती हाकिमका नजिक भए । उनी भन्छन्, ‘त्यसपछि त उपसचिव, सहसचिवहरु मात्र सहभागी हुने कार्यक्रमहरुमा पनि म पर्न थालेँ ।’

त्यसैबेला विमानस्थल भन्सारमा भ्रष्टाचार भएको विषयमा राजदरबारमा उजुरी परेछ । राजाले तत्कालिन सचिव मंगलकृष्ण श्रेष्ठलाई बोलाएर सबै कर्मचारी परिवर्तन गर्न निर्देशन दिए । त्यसलगत्तै कार्यालय प्रमुख सहसचिव समेत गरेर ११३ जना भन्सारका कर्मचारी फेरिए । त्यसमा आधा कर्मचारी त सामान्य प्रशासनबाटै गएका थिए ।

तर त्यसमा बास्कोटा परेनन् । कमाइ राम्रो हुने भएकाले कर्मचारीहरु भन्सारमा जान मरिहत्ते गर्थे । सामान्य प्रशासनमा सरुवा गर्न सक्ने नुतनराज श्रेष्ठ भन्ने उपसचिव थिए । उनीसँग पनि बाँस्कोटाले राम्रो सम्बन्ध बनाएका थिए । उनले श्रेष्ठलाई भेटेर आफू भन्सारमा जान नपाएकोमा गुनासो गरे ।

तर श्रेष्ठले उनलाई पैसा कमाउने होइन, सचिव बन्ने सपना देखाएर फर्काए । साथीहरुले उचालेर आएको सुनाएपछि श्रेष्ठले बढो चित्त बुझ्दो तरिकाले सम्झाएर आफ्नो सोच नै परिवर्तन गरिदिएको बास्कोटा सम्झिन्छन् ।

‘उहाँले सुब्बा भएर त्यहाँ जाँदा जीवनभरमा पाँच करोड कमाउँछस्, अधिकृत भएर गइस् भने तीन वर्षमै पाँच करोड कमाउँछस्, झन् सहसचिव भएर गइस् भने एक महिनामै त्यति कमाइ हुन बेर लाग्दैन भनेर सम्झाउनुभयो,’ बास्कोटा सम्झन्छन्, ‘तर, सचिव भएर पनि धेरै कमाउनेतर्फ नलाग्, रिटायर्ड भएपछि करोडौं मूल्यमा गन्न नसकिने कदरहरु पाइन्छ भन्नुभयो ।’ त्यो सुझावकै कारण आफूले जागिरे जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको उनको दाबी छ ।

हवल्दारको आवाजले थर्कमान

उपसचिवमा बढुवा भएपछि बास्कोटाको पोस्टिङ अछामको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को रुपमा भयो । उनी नयाँ कार्यभार सम्हाल्न हवाइजहाजमा अछाम पुगे ।

नेपालगञ्जबाट उडेको ट्वीनअटर बिमान अछामको साँफेबगर विमानस्थलमा ओर्लियो । एयर होस्टेसले ढोका खोलेपछि एकजना पेस्तोलधारी प्रहरी हवल्दार जहाजभित्रै पसे । ‘यहाँ कृष्णहरि बाँस्कोटा को हुनुहुन्छ ?’ उनी ठूलो स्वरले कड्किए । हवल्दारले ठूलो स्वरले आफ्नो नाम लिँदा बाँस्कोटा एक छिन त आत्तिएछन् ।

‘गल्ती त मैले केही गरेको थिइनँ, तैपनि कसैले चाहे फसाउन सक्छन् भन्ने लाग्थ्यो, म त आत्तिएछु,’ उनी भन्छन्, ‘बिस्तारै सिटबाट उठेर म हुँ हजुर भनेँ।’ त्यसपछि हवल्दारले ढ्याप्प खुट्टा बजार्दै स्यालुट ठोकेर भने, ‘जय नेपाल सा’ब ।’ ती हवल्दार उनकै सुरक्षा गार्ड रहेछन् । तर, बाँस्कोटालाई सलाम फर्काउन आएन ।

विमानस्थलको गेटमै नयाँ सीडीओलाई स्वागत गर्न एउटा समूह बसेको थियो । हवल्दार चाहिँ आफ्नो जिम्मेवारी सम्हाल्न विमानभित्रै पसेका थिए । आफ्ना लागि सुरक्षा गार्ड आउँछन् भन्ने हेक्का नराख्दा केहीबेर तर्सिनु परेको बाँस्कोटाले बताए । त्यसो त सीडीओ बनेर जिल्ला जाँदा उनलाई धेरै कुरा थाहा थिएन । पछि त्यहाँका जिल्ला प्रहरी प्रमुखले सलाम फर्काउन सिकाएको उनी बताउँछन् ।

महानिर्देशक हुँदै अर्थसचिव

सहसचिवमा बढुवा भएपछि बास्कोटाको सरुवा वाणिज्य विभागको महानिर्देशकमा भयो । विभागमा छँदा आफुले सुधारका धेरै प्रयासहरु गरेको र त्यसको चर्चा अहिले पनि हुने गरेको उनी बताउँछन् ।

त्यसबेला नेपालमा ५४ वटा विभागहरु थिए, जसमा ५४ औं नम्बरमा वाणिज्य विभाग थियो । पहिलो नम्बरमा भन्सार विभाग थियो । वाणिज्यमा राम्रो काम गरेकैले हुनसक्छ उनको सरुवा भन्सार विभागमा भयो । भन्सार विभागमा पनि उनले सकेको गरे । त्यसपछि उनको सरुवा अर्थ मन्त्रालयमा भयो ।

अर्थमा लामो समय उनी बजेट महाशाखाको प्रमुख भएर काम गरे । १० वटा बजेट त उनी आफैंले बनाए । महाशाखाको प्रमुख छँदै उनको बढुवा भयो । उनी राजश्व सचिव भए । त्यसको केही वर्षमा अर्थसचिव बने । डा. बाबुराम भट्टराई प्रधानमन्त्री बनेपछि अर्थसचिव बास्कोटालाई प्रधानमन्त्री कार्यालय सरुवा गरे ।

सचिवहरुलाई थन्क्याउनका लागि प्रधानमन्त्री कार्यालयमा लैजाने चलन छ । त्यसबेला लिलामणि पौडेल मूख्यसचिव थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका चार सचिवमध्येका एक भए बाँस्कोटा । उनले विभन्न योजना र त्यसको कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई सघाए । नयाँनयाँ योजना लिएर जाने बाँस्कोटासँग प्रधानमन्त्री सन्तुष्ट देखिन्थे ।

काठमाडौंमा सडक विस्तारको काम चलिरहँदा तत्कालिन भौतिक सचिवको भन्दा पनि प्रधानमन्त्री कार्यालयका सचिव बाँस्कोटाकै धेरै चर्चा सुनिन्थ्यो । मुख्यसचिव लिलामणि पौड्यालसँग प्रधानमन्त्री भट्टराईको कुरा नमिलेको र बास्कोटालाई नै मूख्य सचिव बनाउन लागिएको भन्ने हल्लासमेत चलेको थियो ।भट्टराईपछि प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा पूर्वकर्मचारी सम्मिलित मन्त्रिपरिषद बन्यो । त्यसमा त झन् बास्कोटालाई काम गर्न असहज हुने कुरै थिएन ।

जागिरे जीवनमा बास्कोटा आलोचनामुक्त भने थिएनन् । खासगरी आलोचकहरुले उनलाई बढी प्रचारमुखी भएको र शक्तिकेन्द्रसँगको सामिप्यतामा रमाएको आरोप लगाउने गर्थे । यसबारे पूर्ण जानकार छन् बास्कोटा । ‘हो, जागिरे जीवनमा मेरो धेरै आलोचनाहरु पनि भए । तर आफ्नो आलोचनाहरुलाई म सँधै सकारात्मकरुपमा लिन्छु र सुधार्ने कोशिष गर्छु,’ उनले भने ।

घरको काम आधा–आधा

बास्कोटा अहिले पनि निकै हट्टाकट्टा र फुर्तिला छन् । अहिलेसम्म मर्निङ वाक नगरेको र कुनै प्रकारको औषधी पनि सेवन नगरेको उनी बताउँछन् । जीवनको उत्तरार्धमा रहेका बास्कोटा लेखपढमै बढी अभ्यस्त हुन चाहन्छन् । ‘फुर्सद हुनेवित्तिकै म लेखापढमा भिडिहाल्छु,’ उनी भन्छन् ।

हप्तामा ३ वटा लेख लेख्ने, ३/४ वटा कार्यपत्र तयार पार्ने र ३ वटा जति समारोहमा गएर बोल्ने उनको तालिका हुन्छ । बास्कोटाकी श्रीमती पनि जागिरे हुन्। दुवैले घरायशी काम बाँडेर गर्छन् । अन्य परिवारमा जस्तो श्रीमानले कमाउने र श्रीमतीले पकाएर खुवाउने नियम बास्कोटा परिवारमा छैन । ‘हामी दुबै जना पकाउन पनि सक्छौं र कमाउन पनि,’ उनी गर्वसाथ भन्छन् ।

अध्यात्मप्रति झुकाव

बास्कोटाको रुची आध्यात्मतर्फ पनि छ । उनले आफ्नो आध्यात्मिक झुकावलाई लिएर पनि केही किस्सा सुनाउन भ्याए । एक दिन एकजना कर्मचारीले साढे १० बजेतिर ‘सर पशुपतिको चन्दन लगाउनुस्’ भन्दै आएछन् । ती कर्मचारीले सोचेका थिए कि पशुपति गएर आएको थाहा पाएपछि ‘आध्यात्मिक हाकिम’ खुशी हुनेछन् र आधा घन्टा ढिला भएकोमा प्रश्न गर्ने छैनन् । तर, बास्कोटाले उनलाई थर्काए ।

‘भगवानको दर्शन गरेको बाहनामा तपाईंलाई कार्यालय ढिला आउने छुट छैन,’ उनले कर्मचारीलाई हप्काउँदै भने, ‘तपाईले ल्याएको चन्दन म लगाउँछु, तर भोलिदेखि यस्तो गल्ती नगर्नुहोला ।’

बास्कोटाले घरमा पनि मन्दिर बनाएका छन् । नियमित पुजा गर्छन् । तर भगवान मान्ने नाममा आफ्नो कामै छाडेर यसमा समय खर्चिन नसक्ने उनी बताउँछन्। ‘धर्म संस्कृति रक्षा गर्नु हामी सबैको दायित्व हो,’ बास्कोटा भन्छन्, ‘हाम्रो देशकै पहिचान धर्ममा छ भने कसैले पनि यो मान्दिन भन्नु हुँदैन ।’

एकपटक सुनसरीको चतरामा लागेको ३३/३३ दिनको कुम्भ मेलाको संयोजक उनी आफै थिए । जगतगुरु वालसन्तले सो मेलामा मेलामा १ करोड मानिसहरु आउने बताएका थिए । त्यसपछि बास्कोटाले सोचे, ‘एउटा सन्त लाग्दा एक करोड आउँछन् भने राज्य नै लाग्दा डेढ करोड आउन सक्छन् ।’ नभन्दै त्यस्तै भयो । मानिसहरु ठूलो संख्यामा ओइरिए । सो कुम्भमेलाको उद्घाटन प्रधानमन्त्रीबाट गराउन उनी सफल भए भने राष्ट्रपतिको भ्रमण पनि गराए । आफू हिन्दुधर्मवालम्बी भए पनि अरु सबै धर्मप्रति आफ्नो सम्मान रहेको उनी बताउँछन् ।

खानपिन र पहिरन

६१ वर्षको उमेरसम्म पनि शारीरिक रुपमा निकै स्वस्थ छन् बास्कोटा । अहिलेसम्म आफूलाई रोगका नाममा लुतो पनि नआएको उनले दावी गरे । ‘यसलाई मैले आफ्नो जागिरे जीवनमा गरेका कामको फल र खानपिनलाई लिएको छु,’ उनी गर्वसाथ भन्छन् । खानपिनमा विशेष सतर्क छन् बास्कोटा । सकभर बिहान–बेलुकाको खाना घरमै खान्छन् । घरमा खाना नभ्याए टिफिनमा बोकेर हिँड्छन् । जिल्ला बाहिर जाँदासमेत खानेकुराहरु गाडीमा बोकेर जाने गरेका छन् ।

‘सम्भव भएसम्म बाहिर जाँदा पनि होटलमा खान नपरे हुन्थ्यो जस्तो लाग्छ,’ उनले भने । पहिरनको कुरा गर्दा उनी नेपाली राष्ट्रिय पोशाक नै बढी मन पराउँछन् । औपचारिक कार्यक्रमहरुमा जाँदा राष्ट्रिय पोशाकमै ठाँटिने गर्छन् । ‘म अहिलेसम्म सय वटा पालिकामा गएर पालिका कसरी सञ्चालन गर्ने भन्ने प्रशिक्षणमा सहभागी भएको छु । मैले दौरा सुरुवाल लगाएको देखेर धेरै मेयर तथा गाउँपालिका अध्यक्षहरुले लगाउन थालेका छन्,’ उनले भने । त्यसो त कतिपय कार्यक्रमहरुमा सहभागी हुँदा सर्ट पाइन्ट वा सुट पनि लगाउँछन् ।

अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published.