Categories
राजनीतिक

भारतसँगको सीमा समस्या तत्काल समाधान गर्न सरकारलाई नेकपाको निर्देशन

काठमाडौं । नेपाल–भारतबीच देखिएको सीमा समस्या तत्काल समाधान गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारलाई निर्देशन दिएको छ ।

जारी स्थायी कमिटीको बैठकले यस्तो निर्देशन दिएको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए ।

उनका अनुसार स्थायी कमिटी बैठकले पुस २३ गते केन्द्रीय कमिटीको बैठक बोलाउने, विधान संशोधनको प्रस्ताव तयार पारेर केन्द्रीय कमिटीमा पेस गर्ने, प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्ने, पछिल्लो समय भएका सडक दुर्घटनाका घाइतेलाई उचित क्षतिपूर्तिसहित राहतको व्यवस्था गर्नेलगायतका निर्णय गरेको छ ।

“कालापानी क्षेत्र नेपालकै हो,” रावलले बैठकको निर्णयका बारेमा जानकारी गराउँदै भने, “यो समस्या समाधानको लागि सरकारले तत्काल भारतसँग वार्ता प्रक्रिया अघि बढाओस् भनेर निर्देशन दिएका छौं । अन्य क्षेत्रमा देखिएको सीमा समस्याको समाधान पनि तत्काल गरिनुपर्छ ।”

बैठकले अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।

यसैबीच एमसीसी प्रकरणमा पार्टी सचिवालयले आवश्यक गृहकार्य गरेर निर्णय लिन सक्ने निर्णय भएको नेता रावलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.