Categories
समाचार

ज्वाईंलाई समेत पछि पारेर ९६ वर्षीया सासूले टपिन् परीक्षा

काठमाडौ। भारतको केरलमा ९६ वर्षीया कार्तियानी अम्माले अक्षरलक्ष्यम् साक्षरता कार्यक्रमअन्तर्गत भएको परीक्षामा ९८ प्रतिशत ल्याएकी छन्। यो कार्यक्रम केरल स्टेट लिटरेसी मिसनअन्तर्गत शुरू गरिएको हो ।

यो परीक्षामा कार्तियानीको पढ्न, लेख्न र हिसाब गर्न सक्ने क्षमताको परीक्षण गरियो । राम्रो साक्षरता दर भएको राज्य केरलले शतप्रतिशत साक्षरताका लागि यो कार्यक्रम शुरू गरेको हो।

कार्तियानीले भनिन्, ‘म त अब पढिरहने हो । छिट्टै म चार क्लास सक्छु । अनि दश क्लास पनि पढ्छु । म सय वर्ष हुँदा दश क्लास सक्छु । त्यसपछि मेरो सरकारी जागिर भए हुन्थ्यो।’

कार्तियानीसँगै उनका ज्वाईंले पनि तीन कक्षाको परीक्षा दिएका थिए तर सासूभन्दा १० नम्बर कम ल्याए।

कार्तियानी भन्छिन्, ‘म र मेरा ज्वाईं दुवैले पढाइ गरेका थियौं । हामी दुवैले परीक्षा दिएका थियौं । तर उनले परीक्षामा उत्तरै बिर्से । मलाई चाहिँ सबै उत्तर कण्ठस्थ थियो । मैले सबै सही उत्तर दिएँ।’

ज्वाईंले ८८ प्रतिशत ल्याएका छन् । यो परीक्षा पास गरेपछि कार्तियानीलाई मुख्यमन्त्री पिनराई विजयनका तर्फबाट प्रमाणपत्र प्राप्त भएको छ । यो परीक्षामा ४३ हजारजनाले भाग लिएका थिए । कार्तियानी सबै परीक्षार्थीमध्ये सबभन्दा वृद्ध थिइन्।

Leave a Reply

Your email address will not be published.