Categories
ताजा समाचार

झापामा अलैंची उद्योग, लमजुङका कृषकहरु उत्साहित

लमजुङ-पूर्वी नेपालको झापामा अलैंची उद्योग स्थापना भएसँगै लमजुङका अलैंची कृषकहरु उत्साहित भएका छन् । झापाको विर्तामोडमा सञ्चालनमा आउन लागेको एभरेष्ट लार्ज कार्डिमम् उद्योग सञ्चालन हुन लागेपछि यहाँका कृषकहरुमा उत्साह थपिएको हो ।

नेपालभरकै उत्कृष्ट अलैंची उत्पादन गरेका लमजुङका कृषकहरुको अलैंचीलाई उद्योगले पहिलो प्राथमिकतामा राखेको जनाएपछि जिल्लाको अलैंची खपतमा समस्या नहुने अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताए । अलैंची मुल्यमा तत्कालै सुधार हुने सम्भावना नदेखिएपनि झापामा बन्दै गरेको अलैंची उद्योगले जिल्लाका कृषकहरुमा उत्साह थपिएको अध्यक्ष तामाङको भनाई छ ।

जिल्लाका केही अलैंची कृषकहरुले उद्योगको स्थलगत अवलोकन समेत गरेका छन् । अवलोकनका क्रममा अलैंचीका विभिन्न परिकार बनाउने उद्योगमा लमजुङको अलैंचीलाई विशेष प्राथमिकता दिएको उद्योग सञ्चालक निर्मल भट्टराईले बताएका हुन् । लमजुङको अलैंची अन्य जिल्लाको भन्दा गुणस्तरीय भएकोले उद्योगमा सबैभन्दा पहिलो प्राथमिकता लमजुङको अलैंचलीलाई दिइने उद्योग सञ्चालक भट्टराईले बताए ।
लमजुङको अलैंची धुवाँमुक्त, सफा र उत्कृष्ट पाइएको भन्दै सञ्चालक भट्टराईले गुणस्तरीय अलैंची भएकोले आफ्नो उद्योगमा लमजुङको अलैंचीलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

नेपालमा उत्पादित अलैंचीको बजार छिमेकी मुलुक भारत र बंगलादेश मात्र भएको र हाल भारतमै अधिकमात्रामा अलैंची उत्पादन हुन थालेपछि नेपाली अलैंचीको बजार संकटमा पर्न थालेको छ । भारतको विकल्पमा नेपालमै अलैंची उद्योग स्थापना भएपछि बढ्दो अलैंची उत्पादन मुलुकभित्रै खपत हुने कृषकहरुले विश्वास लिएका छन् ।

उद्योगमा गुणस्तरीय अलैंचीलाई प्रशोधन गरी मसला मिठाइलगायतको अन्य परिकार बनाउने र भारतबाहेकका देशमासमेत निकास गरिने उद्योग सञ्चालकहरुले बताएका छन् । हाल नेपाली अलैंची कच्चा पदार्थको रुपमा भारत र बंगलादेशमा निकासी हुँदै आएको छ ।
पाँच वर्ष अघि लमजुङमा अलैंचीको मूल्य प्रतिकेजी दुईहजार भन्दा बढी थियो । सोही अलैंची अहिले प्रतिकेजी छसयको हाराहारीमा झरेको छ । प्रत्येक वर्ष अलैंची उत्पादन बढ्दो तर मूल्यमा भने गिरावट आएपछि वर्षौदेखि व्यावसायिक रुपमा अलैंची खेती गर्दै आएका कृषकहरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।

अलैंचीको मूल्यमा गिरावट आएसँगै निराश बनेका लमजुङका अलैंची कृषकहरु बजार खोज्दै भारतको सिक्किमसम्म पुगेका थिए । गुणस्तरीय अलैंची उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा नमूना बनेका कृषकहरुले उत्पादन गुणस्तर गरेपनि मूल्य अपेक्षित नपाएपछि आफंै बजार खोज्न बाध्य भएका हुन् ।

लमजुङको भुलभुले, बाँझाखेत, घनपोखरा, खुदी, गांैडा, इलमपोखरी, दुधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँलगायतका गाउँ पाखाहरुमा व्यावसायिक अलैंची खेती हुँदै आएको छ । पछिल्लो समय जिल्लामा अलैंची उत्पादन हुने क्षेत्रहरुलाई समेटेर प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, अलैंची जोन कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत अलैंची कृषकहरुलाई आवश्यक तालिम, अभिमुखीकरण, प्रशिक्षणलगायत विभिन्न उपकरणहरु सहयोग गर्दै आएको छ ।

अलैंची मूल्य अझै संकटमा
एक दशकको अन्तरालमा अस्थिर रहेको अलैंचीको मूल्य अझै घटने सरोकारवालाहरुले अनुमान गरेका छन् । बढ्दो उत्पादन र बैकल्पिक बजार अभावका कारण अलैंचीको मूल्यमा अझै गिरावट हुने अनुमान गरेका हुन् ।

विगतमा सुनको संज्ञा पाएको अलैंचीको मूल्यमा भारी गिरावट आएपछि लमजुङका कृषकहरु थप निराश भएका छन् । अलैंची गुणस्तरमा जतिनै सुधार गरेपनि विगतको मूल्य नपाउदा निराश बनेका कृषकहरुले झापास्थित अलैंची व्यवसायी महासंघको केन्द्रिय कार्यालयमा पुगेर मूल्य समायोजनका लागि पहल गर्न पदाधिकारीहरुसँग आग्रह गरेका छन् ।

अलैंची व्यवसायी महासंघका पदाधिकारीहरुले भने नेपालको अलैंची हाल भारत र बंगलादेशमा मात्रै निकासी हुने गरेको र अरु कुने विकल्प नहुँदा मूल्य अझै संकटमा पर्ने आशंका गरिएको व्यवसायीहरुले बताएका छन् । पछिल्लो समय भारतले पनि आफ्नै देशमा अलैंची

उत्पादनलाई विशेष प्राथमिकतामा दिएको कारण नेपालको अलैंची खपत गर्न नै समस्या देखिएको व्यवसायीहरुको भनाई छ ।
अलैंचीको बजार र मूल्य बढाउन कृषकहरुले अधिक प्रयास गरेपनि सरकारी निकायबाट कुनै पहल नहुँदा मूल्य अझै गिरावट हुने आशंका बढेको नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष इन्द्रचन्द्र जिन्दालले बताए । अलैंचीको हव मानिने पूर्वी नेपालको झापाबाट देशभरको अलैंची भारत निकासा हुने गरेको छ ।

‘हाल भारतको आसाममा ६० प्रतिशत जमिनमा मात्रै अलैंची लगाउदा त नेपाली अलैंचीको मुल्य घट्न थालेको छ’, उपाध्यक्ष जिन्दालले भने, ‘शतप्रतिशत जमिनमा अलैंची लगाउन थालेपछि नेपाली अलैंचीले बजार पाउनै मुष्किल हुनेछ ।’

नेपाली अलैंची गुणस्तरीय भएपनि भारतीय उत्पादन सस्तो हुँदा नेपाली अलैंचीको बजार संकटमा पर्नसक्ने व्यवसायीहरुको अनुमान छ । भारत सरकारले स्वदेशी अलैंची उत्पादनमा प्राथमिकता दिएकोले पनि नेपाली अलैंचीको बजार विकल्प खोज्न आवश्यक रहेको व्यवसायीहरुको भनाई छ ।

कतिपय अवस्थामा अलैंची व्यवसायीहरुको विचौलिया प्रवृत्तिले अलैंचीको मूल्य घट्दै गएको कृषकहरुको आरोप छ । तर अलैंची निकासको विकल्प नहुँदा कृषकसँगै व्यवसायीहरु पनि समस्यामा परेको बताएका छन् ।

अलैंचीको उचित मूल्य निर्धारणको निम्ती अलैंची व्यवसायी महासंघले सरकार समक्ष अधिक पहल गरेपनि कतैबाट सुनुवाई नभएको व्यवसायीहरुको आरोप छ । अलैंची निकासीको लागि पारवाहन समस्या हुँदा नेपाली अलैंचीले उचित मूल्य पाउन नसकेको उनीहरुको भनाई छ ।
प्रत्येक वर्ष अलैंची उत्पादन बढ्दो तर मूल्यमा भने गिरावट हुँदै आएको छ । लमजुङको बेसीशहरसहित मस्र्याङदी, क्होलासोंथार, दुधपोखरी, दोर्दीलगायतका गाउँ पाखाहरुमा व्यावसायिक रुपमा अलैंची खेती हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published.