Categories
ताजा समाचार

संघीय सरकारको कार्यशैलीप्रति उपत्यकाका १८ नगरपालिकाको आपत्ति

ललितपुर । उपत्यकाका तीन जिल्लाका १८ नगरपालिकाहरुले संघको कार्यशैलीप्रति आपत्ति जनाँउदै सरकारसमक्ष विभिन्न माग प्रस्तुत गरेका छन् ।

ललितपुरको झम्सिखेलमा बसेको काठमाडौं, ललितपुर र भक्तपुरका सम्पूर्ण नगरपालिकाहरुको छाता संगठन उपत्यका नगरपालिका फोरमको चौथो विस्तारित बैठकले सरकारले कर्मचारी समायोजन र व्यवस्थापनका नाममा आफूखुसी कर्मचारी खटाएको, शिक्षा क्षेत्रमा नगरपालिकाको अधिकार क्षेत्रमाथि संघले हस्तक्षेप गरेको, सरकारले मयादाक्रम निर्धारणका क्रममा स्थानिय सरकारका जनप्रतिनिधिहरुको उच्च सम्मान हुनेगरी मर्यादाक्रम निर्धारण गर्न नसकेको भन्दै नगरपालिकाहरुले असन्तुष्टि रहेको जनाँएको छ । बैठकमा राखिएको ‘आधारभूत तथा माध्यमिक शिक्षा व्यवस्थापन’ सम्बन्धि प्रस्ताबमाथि छलफल गर्दै एकाइका निर्णय अस्वीकार गर्ने र सो एकाईलाई यथाशिघ्र खारेजीको माग गर्ने निर्णय गरेको छ ।

निर्णयमा भनिएको छ, ‘नेपालको संविधानको अनुसूची–८ मा आधारभूत र माध्यमिक तहसम्म शिक्षा व्यवस्थापनको अधिकार स्थानीय तहलाई एकल अधिकारका रुपमा दिएको छ । तर, संघले ‘सिप विकास तथा समन्वय ईकाई गठन गरी हसतक्षेप गरेको छ । यो संवैधानिक तथा कानूनी व्यवस्थाको विपरीत हो । बैठकपछि पत्रकार सम्मेलनमा फोरमका सचिव तथा मध्यपुर नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले निर्णयबारे जानकारी गराएका थिए । बैठकले स्थानीय सरकारको काम, कर्तव्य र अधिकारमा पटक—पटक हस्तक्षेप गरेको भन्दै ‘काठमाडौं उपत्यका बिकास प्राधिकरण’ खारेज गर्नु पर्ने माग समेत गरेको छ ।

वि.सं.२०४५ सालमा गठन भएको प्राधिकरण राजनीतिक, सामाजिक, आर्थिक, प्रशासनिक अवस्थामा व्यापक परिवर्तन आईसकेको, नेपालको संविधान तथा परिवर्तित राज्य संरचना, विद्यमान कानून कार्यान्वयनमा समेत अवरोध हुने र समग्रमा संघीय संरचना कार्यान्वयनमैं वाधा पुग्ने प्रकृतिको संस्थाको देखिएको भन्दै खारेजीका लागिसरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै कर्मचारी समायोजनका विषयमा रिक्त दरवन्दी, आवश्यकता र स्थानीय सरकारको माग बमोजिम पठाइएका कर्मचारीलाई मात्र हाजिर गराई काममा लगाउने निर्णय भएको छ ।

स्थानीय सरकार संचालन ऐन अनुसार स्थानीय सरकारले आफ्नो संगठन संरचना, जनशक्ति व्यवस्थापन र बृत्ति विकास, दरबन्दी निर्धारण तथा जनशक्ति व्यवस्थापन सम्वन्धी अन्य कार्य समेत गर्ने अधिकार स्थानीय सरकारलाई दिएकामोे समायोजनका नाममा कर्मचारीलाई जबर्जस्ती स्थानीय तहमा पठाउने कामले स्थानीय सेवा व्यवस्थापनमा जटिलता पैदा भएको बताईएको थियो । बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई यसबारे जानकारी गराउने निर्णय गरेको छ ।

फोरमले सरकारले सावृजनिक खरिद ऐनमा गरेको संसोधनको स्वागत गरेको छ । साथै गृह मन्त्रालयबाट निर्धारण र जारी गरेको जनप्रतिनिधिहरुको मर्यादाक्रम नमिलेकोमा भन्दै मर्यादा क्रममा शंशोधन गरी जनप्रतिनिधिको मर्यादा उच्च हुनेगरीे मर्यादाक्रम बनाउन माग गरेको छ । विकास निर्माण तथा व्यवस्थापनका बिषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यले गठन भएको फोरममा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा उपत्यकास्तरीय नगरपालिका फोरम गठन भएको थियो ।

फोरममा ललितपुर महानगरका प्रमुख गीता सत्याल उपाध्यक्ष, मध्यपुर ठिमी नगरका प्रमुख मदनसुन्दर जगुलु श्रेष्ठ सचिव तथा सदस्यहरुमामा उपत्यकाका सवै नगरका प्रमुख र उपप्रमुखहरु रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यमा काठमाडौं जिल्लाका चन्द्रागिरी, कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर र टोखा नगरपालिका ललितपुरको गोदावरी र भक्तपुरको चाँगुनारायण नगरपालिका प्रमुखहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published.