प्रचण्डको आडमा मात्तिए यी एसपी, गृहमन्त्री र आईजीपीलाई सिधै चुनौती

समाचार

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आडमा उनकै गृहजिल्ला चितवनमा रहेका एसपी दानबहादुर मल्ल मात्तिएका छन् ।

गृहमन्त्री रामबहादुर थापा मातहतको आईजीपी सर्र्वेन्द्र खनाल नेतृत्वको प्रहरी प्रधान कार्यालयले गरेको सरुवालाई चुनौती दिँदै एसपी मल्ल चितवनमै कब्जा जमाएर बसेका छन् ।

सरुवा सूची अनुसार रमाना लिएर जान दिइएको पछिल्लो निर्देशनलाई समेत चुनौती दिँदै एसपी मल्लले आफू तत्काल जिल्ला नछाड्ने बताउन थालेका छन् । विभिन्न अनलाइनलाई प्रतिक्रिया दिँदै एसपी मल्लले प्रहरी मुख्यालय र संगठनको चेन अफ कमाण्डलाई चुनौती दिने अभिव्यक्ति दिइरहेका छन् ।

एसपी मल्लले विभागीय प्रक्रिया अन्तर्गत प्रदेश प्रहरी कार्यालयको तर्फबाट पत्र आएकाले त्यसलाई आधार मानेर तत्काल जिल्ला नछाड्ने बताएका छन् । प्रदेश प्रहरी कार्यालयले १२ घण्टाभित्र जिल्ला छाड्न निर्देशन दिएको थियो । तर निर्देशनलाई चुनौती दिँदै एसपी मल्लले मिडियाबाटै चुनौती दिइरहेका छन् ।

बुधवार प्रदेश प्रहरी कार्यालयले पत्र नै लेखेर एसपी मल्ललाई चितवनमा डीएसपीलाई बुझबुझारत गरी जिल्ला छोड्न निर्देशन दिएको थियो । प्रहरी प्रधान कार्यालयले पुस ४ गते एसपी मल्लको सरुवा गरेको थियो । मल्लको ठाउँमा गंगा पन्तलाई सरुवा गरिएको छ । एसपी मल्ल प्रचण्डका पूर्व सुरक्षा गार्ड हुन् भने उनी प्रचण्डकै स्वार्थ अनुसार चितवनमा खटिएका थिए ।

Leave a Reply

Your email address will not be published.