जाडोमा पवनकलीलाई आगोको व्यवस्था

ताजा समाचार

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेको एक मात्र हात्ती पवनकलीलाई पछिल्लो समय जाडो भएकाले साँझ, बिहान र रातको समयमा आगो बालेर ताप दिने व्यवस्था मिलाइएको छ । ६८ वर्षीया पवनकली बसेको ठाउँनजिकै पछुवा दीपेन्द्र राजवंशीले आगो बालेर ताप दिइरहेका छन् । उनले करिब एक महिनादेखि साँझ ५ बजेदेखि राति ११ बजेसम्म आगो बालेर ताप दिने गरेका छन् ।

‘बिस्तारै यसको उमेर बढ्दै जाँदा चिसोले समस्या पनि हुन सक्छ,’ चिडियाखानाको सेन्टर किचनका सहायक क्युरेटर गणेश कोइरालाले भने, ‘उमेरसँगै पवनकलीलाई जाडोमा न्यानो पनि आवश्यक छ ।’ पछुवा राजवंशीका अनुसार दिनहुँ तातो र न्यानोका लागि बालिने आगो आगामी फागु पूर्णिमासम्म जारी रहनेछ । चिडियाखानामा धेरै समय आफ्नो पिठिउँमा राखेर मनोरञ्जन दिइरहेकी पवनकलीले उमेर र स्वास्थ्यका कारण गत एक वर्षदेखि त्यो सेवा दिन सकेको छैन ।

एक समय उपत्यकामा रहेको एक मात्र हात्ती हेर्न र यसमाथि चढेर घुम्न बालबालिकादेखि वयस्क र वृद्धसम्म जाने गर्थे । तर, पछिल्लो समय स्वास्थ्यलाई ख्याल गर्दै यो सेवा हटाइएको सहायक क्युरेटर कोइरालाले जानकारी दिए । ‘पवनकलीको खुट्टामा केही समस्या देखिएको छ,’ उनले भने, ‘तौल मिलाउन खानासमेत कटौती गरिएको छ ।’ सहायक क्युरेटर कोइरालाका अनुसार घाँस दिन कुनै कमी गरिएको छैन, बरु धान ८ किलोको ठाउँमा चार किलो मात्र दिन थालिएको छ ।

सबैको प्यारो जनावरका रुपमा यो हात्ती रहेको धेरैको बुझाइ छ । सहायक क्युरेटर कोइराला हात्ती चिडियाखानाको आर्कषणको केन्द्र नै रहेको बताउछन् । ‘यहाँ आउने दर्शकहरू हात्ती भने पछि उत्साही हुन्छन्,’ उनले भने, ‘ठूलो जनावर भएकाले महŒव नै हुने भयो नि ।’

ललितपुरको सदर चिडियाखानामा हात्ती हेर्नकै लागि मात्र धेरै पर्यटक आउने गर्छन् । २०३१ सालमा तत्कालीन कोसी टप्पु वन्यजन्तु आरक्षबाट ल्याइएको हात्ती ‘पवनकली’ लाई गणेशको वाहन मान्दै पैसा चढाएर ढोग्ने गर्दछन् ।

चिडियाखानामा हात्ती सफारीका लागि धेरै पर्यटक आउने गरे पनि हात्ती बुुढो भएका कारण सबैको माग पूरा गर्न सकेको छैन । चिडियाखानाका सहायक क्युरेटर कोइरालाका अनुसार हात्तीले मान्छे नबोके पनि हल्का हिँडाएरै भए पनि कसरत गराउने गरिन्छ । सडकमा हात्ती हिँड्दा धेरैले दंग परेर हेर्ने गर्छन् । हात्तीको औसत आयु ७० देखि ८० वर्षसम्म हुन्छ ।

४ हजार ६ सय ५० किलो तौल भएको पवनकली हात्ती ६८ वर्षको भएको छ । यसलाई नेपालकै ठूलो पोथी हात्तीका रूपमा लिइएको छ । चिडियाखानामै बसेर यही हात्तीको स्याहारसुसारमा जुटेका दीपेन्द्र राजवंशीले हात्तीको उमेर धेरै भएकाले पहिलोजस्तो हिँड्ने डुलाउने काम कम भएको बताए ।

‘पहिलाको जस्तो त हिँड्न सक्दैन । अलि अलि हिँड्छ,’ उनले भने, ‘धेरै एक्सरसाइज गराइएको छैन, थोर थोरै गराइएको छ, उमेरको कारणले खाना खान पनि कमी भएको छ ।’

Leave a Reply

Your email address will not be published.