मेरो भन्दा श्रृङ्खला दिदीको चर्चा बढी भएपनि मलाई केहि गुनासो छैन-मिस नेपाल अनुष्का श्रेष्ठ

ताजा समाचार

‘मिस वर्ल्ड २०१९’ बेलायतको लण्डनमा डिसेम्बर १४ तारिखमा आयोजना भयो । यो बर्षको मिस वर्ल्डको उपाधि जमैकाकी टोनी एन सिंहले चुमिन् । नेपालबाट यो विश्व चर्चित प्रतियोगितामा सहभागि हुन ‘मिस नेपाल वर्ल्ड’ अनुष्का श्रेष्ठ लण्डन पुगेकी थिइन् । उत्कृष्ट १२ सम्म पुग्न सफल अनुष्काले दुई महत्वपूर्ण अवार्ड पनि हात पारिन् । उनले ‘मल्टिमिडिया र व्यूटी विथ अ पर्पस अवार्ड’ जितेकी छिन् । अनुष्काले ‘हेड टु हेड च्यालेञ्ज राउण्ड’ पनि जित्न सफल भइन् ।

अनुष्काले विश्व सुन्दरी प्रतियोगीताको भव्य मञ्चमा आफूलाई अब्बल देखाउन खुबै प्रयास गरिन् । उनै, अनुष्का नेपाल फर्किएपछि भने आयोजकलाई उत्कृष्ट ५ मा नेपाल पर्न नसक्नुको कारण सोधिरहेकी छिन् ।

नेपाल फर्किएपछि अनुष्काले ‘मिस वर्ल्ड’ यात्राको अनुभव यसरी साटेकी छिन्ः

सर्वप्रथम त म सबैलाई धन्यवाद भन्न चाहन्छु । तपाइहरुको साथ र सहयोगले नै हामीले आज सफलता पाएका छौ । हाम्रो सहकार्यबाट नै हामीले यो सफलता चुम्न सफल भएका हौं । यहाँहरु सबै हाम्रो यात्रा र सफलताको पाटो हुनुहुन्छ । त्यसैले तपाई सम्पूर्णलाई बधाई, हामीलाई बधाई ।

यो पनि पढ्नुहोस-मिस वर्ल्डमा टप ५ को हकदार थिएँ : मिस नेपाल अनुष्का
खै कहाँबाट सुरु गरौं । भन्नु पर्ने कुराहरु धेरै छन् । म छोटकरीमा आफ्नो यात्राबारे भन्न चाहन्छु । ‘मिस वर्ल्ड’ प्रतियोगितामा फाइनलको दिनसम्म पनि प्रतियोगिता हो भन्ने नै लागेको थिएन । यो एउटा विभिन्न देशका प्रतिनिधिहरुको भेटघाट र उत्सव जस्तो थियो । किनभने हामीलाई कहिल्यै पनि मुल्याङ्कन हुदैन थियो । हरेक दिन फाइनलको तयारी हुन्थ्यो । त्यहाँ एक–अर्कालाई चिनिरहेका थियौं । व्यक्तिगत र देशका प्रतिनिधिको हिसावमा पनि चिनिरहेका थियौं । यो एउटा संजाल जस्तो लाग्थ्यो मलाई ।

मलाई ‘मिसवर्ल्ड’ एउटा खुल्ला मैदान जस्तै लाग्यो । त्यहाँ गएर तपाईले जे पनि गर्न सक्नुहुन्छ । त्यहाँ गएर व्यक्तिगत प्रस्तुति दिएर करिअर बनाउने हो या देश चिनाउने हो त्यो तपाईको हातमा थियो । त्यहाँ सबै देशको प्रस्तुति दिने तरिका आ–आफ्नो थियो ।

मेरो र हाम्रो टिमले के गर्ने, कसरी देशलाई चिनाउने भन्ने पहिल्यै योजना गरिसकेका थियौं । हाम्रो योजना पहिलो दिनदेखि नै नेपाललाई चम्काउने र चिनाउने भन्ने थियो । संवाद, पहिरन, बोलीदेखि हरेक कुरामा नेपालीपन झल्कियोस् भन्ने थियो । हामीले दिने सानो टोकनमा पनि नेपालीपन नै थियो । यो खुल्ला मैदानलाई हामीले त्यसरी नै प्रयोग गरेका छौँ । र, आज नतिजा हेर्दा सफल भएको जस्तो लाग्छ ।

तर, त्यहाँ अर्को समस्या पनि थियो । प्रतिष्पर्धा जस्तो नलागेपछि कसरी मुल्याङ्कन गरिन्छ भन्ने कुरा हामीलाई नै पत्तो थिएन । हाम्रो विधा र मुल्याङ्कन तालिका हुदैनथ्यो । र, यस प्रतियोगितामा अगाडि जान के गर्नुपर्छ भन्ने कुरामा नै हामी अलमलमा थियौं । जसलेगर्दा हामीलाई अभ्यास गर्न गाह्रो भइरहेको थियो ।

मलाई मिस नेपालमा जानु पूर्व ‘तपाई आफै अलमलमा हुनुहुन्छ भने तपाईको रणनीति के हो त ?’ भन्ने प्रश्न सोधिएको थियो । मैले भनेकी थिए–‘नेपाललाई यो कारणले नदिने भन्ने कारण नै नदिने ।’ साच्चिकै हाम्रो नीति यही नै थियो । त्यसैले हरेक ठाउँमा उपस्थिति जनाउन खोज्यौं, प्रस्तुतिमा पनि अगाडि बढ्न खोजेकी थिएँ । त्यसको नतिजा पनि राम्रै देखियो । म नेपालको ब्याज नलगाई हिडेकी छु भने पनि मलाई नेपाल भनेर चिन्नुहुन्थ्यो । त्यो पनि सफलता हो ।

यो प्रतियोगीतामा संघर्ष र सिकाई दुबै थियो । यो कुरा हरेक प्रतिष्पर्धाबाट फर्किनुभएको व्यक्तिबाट सुन्नुहुन्छ । गाह्रो हुन्छ भनेर चेतना हुनु र आफैँले भोग्नुमा फरक हुदो रहेछ । मलाई लण्डन चिसो हुन्छ भन्ने थाहा थियो । तर, आफैले अनुभव गर्दा साच्चिकै गाह्रो हुने रहेछ । त्यस्तै नै थियो ‘मिस वर्ल्ड’को अनुभव पनि ।

सुरु–सुरुमा १ सय बढी देशका ‘बेस्ट अफ दि बेस्ट’ व्यक्तिहरु त्यहाँ हुदाँ आफू कतै हराएको हो कि जस्तो पनि लाग्थ्यो । किनभने न म त्यहाँ सबैभन्दा अग्ली थिएँ, न सबैभन्दा सुन्दरी थिएँ, न सबैभन्दा स्टाइलिस्ट नै थिएँ वा मेरो मेरो बोली नै उत्कृष्ट थियो । मलाई यस्तै लाग्थ्यो ।

अब नेपाललाई कसरी चिनाउने भन्ने प्रश्न आफैलाई गरेँ । त्यहाँ नेपालबाट साथीभाई, परिवार, शुभचिन्तक र मिडियाबाट सहयोग भइरहेको थियो । धेरैले राम्रो गरेकी छौं भनिरहनु भएको थियो । हाम्रो टिमले बनाएको नीति अनुसार म चलिरहेको थिएँ । टिमले नै बनाएको ‘भिजिट नेपाल’को चिनोले पनि ठुलै प्रभाव जमायो ।

जती फाइनल नजिकिँदै गयो मनमा उत्साह, डर र जिम्मेवारी पनि बढ्दै गएको अनुभुती मैले गरिरहेकी थिएँ । विशेषगरि, मल्टिमिडिया अवार्डको लागि यहाँहरुले देखाउनु भएको अपेक्षा जुन थियो त्यसलाई कसरी सम्हाल्ने भन्ने दिमागमा आइरहेको थियो ।

तर, त्यसको बोझले मेरो प्रस्तुति कमजोर नहोस् भन्ने लाग्यो । त्यसैले हरेक दिनलाई आज मात्रै हो मैले मिस वल्र्डमा भाग लिने भन्ने सोच्न थाले । आज एकदिनमात्र हो, मैले बेस्ट दिने । हरेकसँग कसरी बोल्ने, कसरी बोल्छु भन्ने कुरालाई विशेष ध्यानमा राखेँ । अनी दोस्रो कुरा भनेको, म हरेक कुरामा मनोरञ्जन गरिरहेकी थिएँ । केही कुराको डर, चिन्ता र पिर लिएर मैले प्रस्तुति दिइनँ ।

यदि कुनै कुराको दवाव महशुस गरेर प्रस्तुति दिने हो भने अनुहारमा आत्मविश्वास नझल्किने रहेछ । फेरि, म भित्रको आत्मविश्वास हराउनु भनेको मेरो देशका आत्मविश्वास नै हराउनु हो भनेर पनि सोचेँ । त्यसैले आफ्नो मिहिनेत, टिमको मिहिनेत र सबैको हौसलालाई विश्वास गरेर रमाएर नै अगाडि बढेकी थिएँ ।

अन्त्यमा गएर ‘व्यूटी विथ अ पर्पस’ । हरेक मान्छे कुनै न कुनै कारणले नै यस्तो प्रतियोगीतामा प्रतिष्पर्धा गर्ने गर्छ । मेरो कारण नै ‘ब्यूटी विथ अ पर्पस’ थियो । आफूले सक्दो सकारात्मक प्रभाव पार्नु नै मेरो लक्ष्य थियो । चाहाना थियो । र, यसैलाई केन्द्रमा राखेर काम गरिरहेकी थिएँ ।

सात महिनासम्म गरेको मिहिनेतलाई १० मिनेटमा समेट्नु हाम्रो लागि चुनौती नै थियो । परिचयात्मक भिडियोले पनि नेपालको ‘टोन’ सेट गर्यो । मेरो यो यात्रा एक्लैको थिएन । हरेक पक्षबाट मैले साथ र सहयोग पाएकी थिएँ । म यहाँहरुको मिहिनेतको प्रतिनिधी मात्र थिएँ ।

‘मिस वर्ल्ड’ त सकियो, अब के छ त ? धेरैको प्रश्न यो हुनसक्छ । कुरा प्रष्ट नै छ । मैले ‘मिस नेपाल वल्र्ड’ जित्दा जे भनेको थिएँ, सोही नै छ । यो क्राउनले पाउने माया र आकर्षणलाई मैले सक्दो सदुपयोग गर्नेछु । यसबाट सकरात्मक प्रभाव परोस् ।

हाम्रो जम्मा दुई लक्ष्य रहेको छ । एउटा शिक्षा र अर्को आय आर्जन । योजनाको एक भाग पूरा हुँदा हामीलाई तपाईहरुको आर्थिक सहयोग र हाम्रो उत्पादनलाई बजार विस्तार गर्न सहयोग चाहिने छ । मेरो काम भनेको टिमसँग मिलेर त्यसैको लागि हुनेछ ।

नेपाल किन टप ५ मा परेन ?
नेपाल किन टप ५ मा परेन भन्ने प्रश्न अहिलेको लागि सबैभन्दा ठुलो हुनसक्छ । त्यो प्रश्न मलाई पनि छ । दुर्भाग्यवश त्यसको उत्तर मसँग पनि छैन । त्यसैले यो प्रश्न म आफै पनि सोध्न चाहन्छु । उहाँहरुको केही न केही मुल्याङ्कन विधी होला । पहिला पहिला मुल्यांकन गर्दा बोर्डमा अंक दिइएको हुन्थ्यो । त्यो हुदाँ थाहा हुन्थ्यो । तर, यो वर्ष त्यस्तो थिएन ।

त्यसैले पनि नेपाल किन टप ५ मा पुगेन भन्ने प्रश्नको जवाफ मसँग छैन । हरेक वर्ष नेपालले सतप्रतिशत मिहिनेत गर्दै गर्दा पनि टप १२ मा नै सिमित हुने हो भने त के जानु पर्छ त ? भनेर पनि प्रश्न आउन सक्ला । यत्रो भोट, यस्तो मिहिनेत गर्दा पनि टप ५ मा नपुग्नुको कारण के त भनेर धेरैले भन्नुहोला । यो कुराको प्रश्न म आफैले आफैलाई पनि गरेको थिएँ ।

हाम्रो प्रस्तुति हेर्ने हो भने नेपालले टप ५ मा स्थान बनाउन सक्छ भन्ने लाग्छ । त्यसैले पनि म जान्न चाहान्छु कि, के कारणले हामी टप ५ मा पुगेनौ ? मैले आयोजकलाई उक्त कुराको उत्तर पनि मागेकी छु । यदि उक्त कुरा थाहा पाउने हो भने अर्को वर्ष त्यसमा बढी मिहिनेत गरेर जाने थियौं ।

‘मिस वल्र्ड’ महोत्सव जस्तो हुँदो रहेछ । यहाँ भएका सम्पूर्ण विवादलाई बिर्सिएर नेपाललाई एकजुट बनाउने रहेछ । यसलाई देख्दा टप ५ मा नपरे पनि हाम्रो एकताको लागि १ चोटी होइन २ चोटी नै विश्व सुन्दरी प्रतियोगीतामा जाने रहर जागेको छ ।

चर्चाको कुरा
गत वर्ष ‘मिस वर्ल्ड’मा सहभागीता जनाउनु भएको श्रृङ्खला खतिवाडाको जत्तीको चर्चा नभएको जस्तो मलाई लाग्दैन । त्यसको मापन गर्ने कुनै यन्त्र पनि मसँग छैन । मलाई कती मान्छेले मलाई चिन्थेँ, मलाई कतिले सुन्थेँ र अहिले कतिले चिन्छन्, सुन्छन् भन्ने कुरा मात्र मैले तुलना गर्न सकेँ ।

यदि दिदिको चर्चा बढि थियो भने पनि मलाई त्यसमा केही गुनासो छैन । मैले सक्ने जती प्रभाव मैले जमाएँ । त्यसमाथि उहाँले मेरो यात्रामा धेरै सहयोग गर्नुभएको छ । त्यसैले मलाई कसको बढी कसको कम भन्ने विषयमा चासो भएनँ । मलाई हाम्रो काम कसरी राम्रो गर्ने र चिनाउने भन्ने मात्र थियो ।

प्रस्तुतिः दिप्सन लुइटेल

Leave a Reply

Your email address will not be published.