विपन्न किसानलाई बाख्रा सहयोग

ताजा समाचार

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–७ का विज्ञपन्न २० परिवारलाई लक्षित गरी आयआर्जनका लागि साढे ९ लाख रुपैयाँको बाख्रा र कुखुराका चल्ला वितरण गरिएको छ । कतार च्यारेटी नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको ‘जीविकोपार्जनका लागि साना किसान सहायता परियोजना’अन्तर्गत कुखुरा र बाख्रापालनका लागि सो सहयोग प्रदान गरिएको हो ।

बाँके युनेस्को क्लबका अध्यक्ष प्रबेज अली सिद्दिकीले १२ विपन्न परिवारलाई कुखुरापालन सहायताअन्तर्गत प्रतिपरिवार गिरिराज जातका सयवटा कुखुराका चल्ला, खोर निर्माणका लागि पाँच थान जस्ता पाता, एक बन्डल जाली र पानी खानका लागि दुई ड्रम र पाँच बोरा दाना र आठ परिवारलाई बाख्रापालनका लागि चारवटा बाख्रा एक बोका र दुई थान जस्तापाता वितरण गरिएको बताए । कुखुरापालनका प्रतिपरिवार ४० हजार र बाख्रापालनका लागि प्रतिपरिवार ५५ हजार रुपैयाँ बराबरको कुखुराका चल्ला, बाख्रा, जस्तापाता र दानाको सहयोग प्रदान गरिएको हो ।

२० परिवारलाई सोबापत करिब साढे ९ लाख रुपैयाँको सहयोग प्रदान गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।राप्तीसोनारी गाउँपालिकाको–७ मा बिहीबार आयोजित एक कार्यक्रमका बीच वडा नम्बर ७ का वडाध्यक्ष रामलखन थारू, कतार च्यारेटीका प्रबन्धक इर्साद शेष र बाँके युनेस्को क्लबका अध्यक्ष प्रबेज अली सिद्दिकीले विपन्न परिवारका सदस्यलाई बाख्रा र कुखुराका चल्ला वितरण गरेका हुन् । वडाध्यक्ष थारूले गाउँका अति विपन्न परिवारलाई छनोट गरेर कुखुरापालन र बाख्रापालनका लागि यो सहयोग उपलब्ध गराइएको जनाउँदै यसबाट आर्थिक रूपमा बलियो हुने अवसर आएको बताउँदै सहयोगको सही सदुपयोग गर्न आग्रह गरे ।उनले भने, ‘यो सहयोगलाई सदुपयोग गरेर राम्ररी कुखुरापालन र बाख्रापालन गर्न सक्ने हो भने विपन्नको आर्थिक अवस्था सुदृढ हुनेछ । सहयोगको सदुपयोग गर्नुहोला ।

कार्यक्रममा कतार च्यारेटीका प्रबन्धक इर्साद शेषले कतार च्यारेटीले गत ६ महिनादेखि बाँके युनेस्को क्लबसँग सहकार्य गरेर जिल्लाका विपन्न, अनाथ र अपांगता भएकालाई विभिन्न प्रकारले सहयोग गर्दै आएको जानकारी दिँदै उनले कतार च्यारेटीको सानो सहयोगले सुरु गरेर आर्थिक रूपमा बलिया हुने सम्भावना रहेकाले गम्भीर भएर सहयोगलाई सदुपयोग गर्न आग्रह गरे ।

सोही अवसरमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष रुद्र सुवेदी, बाँके युनेस्को क्लबका वरिष्ठ कार्यक्रम संयोजक साजिद अली सिद्दिकी, क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खानलगायतले सहयोगलाई सदुपयोग गरेर आर्थिक रूपमा सबल बन्नुपर्नेमा जोड दिएका थिए । जीविकोपार्जनका लागि साना किसान सहायता परियोजनाअन्तर्गत कुखुरा र बाख्रापालनका लागि सहयोग पाउने स्थानीय विपन्न किसानले आफूहरूले पाएको सहयोगलाई सदुपयोग गरेर बढाउँदै लैजाने र आर्थिक रूपमा सक्षम हुने प्रतिक्रिया दिए ।

Leave a Reply

Your email address will not be published.