अचम्म तर सत्य: १० हजार लगानी १० करोड कमाई (भिडियोसहित)

ताजा समाचार

सिअलघारी, चितवन । बँदेल पाल्न चाहन्थे उनी । अरु तीन साथी पनि उनको लहैलहैमा लागे । फर्म दर्ता भयो । अनि सुरु भयो सरकारी अनुमती प्रक्रिया । कानुन नै थिएन, वन्यजन्तुको व्यवसायिक खेति गर्ने । बीचैमा रोकिन वाध्य भए । बाँकी ३ साथी आआफ्नो बाटो लागे । किरण कँडेल त्यति सजिलै हार मान्ने मान्छे कहाँ थिएनन् । उनी लगातार नयाँ खेतिको खोजिमा लम्किए । “बँदेल पाल्न त पाइने भो तर पालेपछि के गर्ने भन्ने प्रस्ट कानुन नै थिएन, त्यसैले ३ वर्षसम्म केही गरिएन”, उनी भन्छन् ।

एकजना फ्रान्समा बस्थे उनका गाउँले । ती फ्रान्सेलीले टर्कीबारे बताएपछि किरण जुर्मुराए र टर्कीको खोजिमा निस्किए । पोखरामा एक जोडी भेटे, भाले पोथी तर जोडीको ७० हजार भने पछि आँट गरेनन् । खोज्दै जाँदा स्थानीय भरतपुरस्थित एक होटलमा एकजोडी टर्की भेट्टाए । जोडीको १६ हजार भने तर बार्गेनिङपछि १० हजारमा कुरो मिल्यो र आजभन्दा पाँच वर्षअघि एक जोडी टर्कीबाट उनले टर्की पालन सुरु गरे ।

यी ५ वर्षमा किरणले राम्रै कमाए । नाम र दाम दुवै । अहिले उनको फार्ममा २ हजार टर्की छन् भने करिव २ बिघा जग्गा कम्पनीकै नाममा खरीद गरेका छन् । जग्गाकै मात्र करिव साढे ६ करोड पर्छ अहिले । टर्की फार्म आधुनिक रुपमा बन्दै छ, त्यसमा पनि करिव २ करोड लगानी छ । आजकै दिन उनका टर्की बेच्ने हो भने ५ करोडमा बिक्री हुन्छन् । चल्ला पनि करिव ५० लाखमा । उनी अहिले १२ करोडका मालिक छन् । सबै पैसा किरणले तिनै एक जोडी टर्कीबाट जोडेका हुन् । भनौं १० हजारबाट १० करोड कमाए किरणले त्यो पनि मात्र ५ वर्षमा ।
उनलाई हालसम्म कुनै पनि बैंकले ऋण लेउ भनेका छैनन् । आफैं कमाउँदै अघि बढेका उनी ऋणको चक्करमा पनि लागेका छैनन् ।

उनले टर्की पालनलाई निकै व्यवस्थित पारेका छन् । उनी एक महिनाको चल्ला मात्र बेच्छन्, कारण त्यतिबेलासम्ममा चल्ला वयष्क भइसकेको हुन्छ, मर्ने डर हुँदैन । “सानो चल्ला हजारमा मागे  पनि दिन्न, म कम्तिमा १ महिनाको चल्लामात्र बेच्छु, देशको कुनै ठाउँबाट माग आए पनि फ्रि डेलिभरी गरिदिन्छु”, उनी भन्छन् ।

कँडेलको फर्म चल्ला उत्पादनका लागि हो, मासुका लागि होइन । तर भाले बढी भए नबेच्ने पनि होइनन् । उनको फार्ममा तयारी मासु प्रतिकिलो ८ सय र जिउँदो ६ सयमा पाइन्छ ।
उनले कालो कुखुरा पनि पालेका छन् । त्यसको चल्ला पनि पाँच सयमै बेच्छन्, त्यो पनि ३१ दिनको । त्यतिबेलासम्ममा चल्लालाई सबै भ्याक्सिन पूरा हुन्छ र चल्लो मर्दैन । कडकनाथ भनिने यो कुखुराको मासु पनि कालै हुन्छ । प्रेसर तथा सुगरका रोगीका लागि पनि यसको मासु राम्रो मानिन्छ । स्वाद पनि लोकल कुखुराको भन्दा तिख्खर हुन्छ । बढीमा डेढ केजी हुने यसको मासु पनि १५ सय पर्छ, भनौं किलोको हजार ।

उनले व्यवस्थित रुपमा व्यवसाय सञ्चालन गरेका छन् । अहिलेसम्ममा ११ हजार मानिस उनको फर्मबाट चल्ला लगेर व्यवसायी बनेका छन् । “ मसँगै चल्ला लगेर नेपालको पहिलो टर्की पालक हुँ भन्ने पनि भेटिए”, उनी भन्छन् । उनीसँग चल्ला किन्नेमध्ये करिव सयजना उनैलाई अन्डा र टर्की बेच्छन् । टर्की जिउँदैमा ५ सय प्रतिकेजीका हिसाबले किन्छन् भने नियमित ग्राहकबाट अन्डा प्रतिगोटा सय रुपैयाँमा खरीद गर्छन् ।

दुई सयभन्दा बढी टर्की पालन गर्न सके वर्षमा ५ देखि ७ लाख कमाउन कठिन नपर्ने उनको अनुभव छ । “अरब, कतार, मलेसिया आदि देशमा दुःख गरिरहेका हाम्रा भाइ बहिनीलाई म के भन्न चाहन्छु, भने तपाइँहरु मेरो फार्ममा आउनुहोस्, छलफल गरौं । दुई सय टर्की पाल्नु होस्, वर्षमा ६ देखि ७ लाख सजिलै कमाउन सकिन्छ”, उनी भन्छन् । कोही कसैले टर्की पालन गर्न चाहे उनी खुलेर सल्लाह दिन्छन् । टर्कीले घाँस खाने भएकाले पाल्न पनि खर्चिलो छैन । यसलाई दानाको खासै आवश्यकता पर्दैन । तर घाँसको कमी भए दाना चाहिन्छ । दाना खाएकोले भन्दा घाँस खाएकोले बढी अन्डा दिन्छ । “दाना खुवाउँदा छिटैदेखि अन्डा दिनथाल्यो तर छिटै थाक्यो । तर गाउँले पाराले घाँस ख्वाएर पाल्दा वर्षभरि नै अन्डा दियो”, आफ्नो अनुभव सुनाउँछन् ।

किरणलाई अनुशरण गरे अरु धेरैलाई पनि करोडपति बन्ने अवसर प्राप्त हुनसक्छ । किरण कँडेलको करोड कमाइ यात्रासम्बन्धी भिडियो यस लिंकमा हेर्न सकिन्छ- https://www.youtube.com/watch?v=K8FVPLScX0o&t=85s

Leave a Reply

Your email address will not be published.