प्रपाेजहरु आइरहन्थे तर त्यसलाई ह्याण्डिल गरेर अगाडि बढेँ : गायिका शशी

मनोरंजन

शशी रावल नेपाली पार्श्व-गायन क्षेत्रकी एक गायिका तथा मोडल हुन् । उनी सन् २००७मा पहिलो सांगीतिक एल्बम ‘ईन्ट्रान्स’ मार्फत नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी थिइन् । यसै एल्बमको ‘चाहना सकियो, बहाना सकियो..’ बोलको गीतबाट नेपाली सांगीतिक क्षेत्रमा उनले चर्चा बटुल्न सफल भएकी थिइन् । हाल अमेरिकामा रहेकी गायिका रावलसँग न्यूज २४ का लागि कृष्ण कुमारी चाैँलागाईले गरेकाे अन्तरसंवाद-

नेपाली गीत-संगीत क्षेत्रमा पछिल्लो समय निकै रुचाइनुभएकाे छ, व्यस्तता निकै छ होला ? आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
खासमा आजभोलि व्यस्त नै चाहिँ छैन, २०१८ मा स्टेज कार्यक्रममा धेरे गीत गाएको कारण भोकल रेस्ट गर्नुपर्ने अवस्था आयो । सोही कारण अहिले भोकल रेस्ट कै क्रममा छुँ । हाल नेपालाबाहिर भएको कारण पनि घरव्यवहारमा नै व्यस्त छुँ भन्दा पनि होला ।

नेपाली संगीत क्षेत्रको विकासलाई कसरी नियाल्नुभएको छ ?
नेपाली गीत संगीतको क्षेत्रमा निक्कै नै सुनौँला आयामहरु थपिएका छन् । सुरु-सुरुमा जस्तो क्यासेटको भरमा गायक-गायिकाहरु बस्नुपर्ने अवस्था छैन । गीत-संगीतबाट पनि बाँच्न सकिन्छ भन्ने अहिलेको संगीतको क्षेत्रले देखाएको छ । हरेक सकारात्मक कुरासंगै नकारात्मक कुराको विकास पनि भएको छ । कहिलेकाहीँ चैँ पहिलाको संगीतको समय गोल्डेन थियो भनेजस्तो लाग्छ ।

त्यो बेला जब क्यासेट खूब बेचिन्थे र अहिलेको सांगीतिक बजारलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
मेरो पनि क्यासेट बेच्ने समयको लास्ट-लास्ट समय थियो । २००७ तिरको समयको कुरा हो, त्यो समय क्यासेट बेच्दा कति उत्साह हुन्थ्यो । बजारमा फलानोको त यति क्यासेट बिक्री भयो रे, क्यासेटको माग बढेको छ भन्दा गायक गायिकालाई आउने फिलिङ्स् नै फरक थियो । अहिले युटुबको समय आएको छ, यसले पनि आफ्नो गीतको भ्यूज कति छ भन्ने त स्पष्ट पारेको छ । तर जति पहिलाकाे उत्साह, कौतुहतला हुन्थ्यो, त्यो अहिले छैन ।

अहिले संगीत क्षेत्रका चुनौतीहरु के छन् ?
अहिलेको गायक गायिकाहरु आउने जाने क्रम छ । जस्तो पनि गीत आउने क्रम बढी रहेको छ । एक किसिमले हेर्दा अवसर धेरै पनि छ पहिलाको भन्दा चुनौती धेरै नै छन् । नेपाली संगीतको बजार फराकिलो भइसकेको अवस्थामा यतै हराउने सम्भावना पनि बढेको छ । गीत-संगीतको क्षेत्रमा पनि अनेकाैँ किसिमका विसङगतिहरु बढिरहेका छन् । जस्ले गर्दा पनि समस्या उब्जिएको छ ।

पप गीत गाउनुहुन्छ, पप गाउनेलाई समाजले हर्ने दृष्टिकोण नै फरक छ नि होईन र ?
मलाई त त्यस्तो लाग्दैन । संगीतमा पनि फरक टेस्ट रोज्ने श्रोताहरु अहिले छन् । प्राय गीत संगीत मन नपराउने मान्छे कमै हुन्छन् । पहिलाको समयमा पप गीत भन्दा ‘यस्तो पनि गीत हुन्छ र’ भन्ने थियो । तर अहिले हरेक मानिसको मानसिकता परिवर्तन भइरहेको छ ।

तपाईले गाएका प्राय: गीतहरु चर्चामा रहे ? यो चैँ कसरी ?
मैले थोरै गीत गाएँ तर धेरै श्रोता कमाएँ । मेरो ‘चाहना सकियो…’ भन्ने गीतले नै नेपाली संगीतको मार्केटमा नाम राख्न सफल भयो । सो गीतका श्रोताले मेरा अन्य गीतहरुलाई पनि माया दिनुभयो ।

हुन त मेरो गीत चर्चामा आउनुमा मेरो एकजनाको हातभन्दा पनि नेपाली श्रोताहरुको हात छ । मेरो स्वरलाई यदि मन नपराउनु भएको भए म संगीत क्षेत्रमा त्यसै हराउने पो थिए कि ! मेरा गीत चर्चामा रहनुको कारण अर्को चाहिँ सबैजनाले ‘मेरो स्वर फरक खालको छ’ भन्नुहुन्थ्यो, सोही कारण पनि हुन सक्छ ।

शशी रावललाई विवाहपछि संगीतलाई माया मारेर अमेरिका लागेको आरोप लाग्छ नि ?
संगीतलाई माया मारेको भन्नचाहिँ अलि मिल्दैन । संगीतको क्षेत्रलाई नजिकबाट हेरेको छु । परिवार र संगीतलाई ब्यालेन्स मिलाउनको लागि मात्र अमेरिका आएको हो । यहाँ बसेपछि झन् क्यापेबल हुन सकिन्छ ।

विवाहपूर्वको कुरा गरौँ- चर्चित गायिका सबैको आँखामा पर्न सफल, कत्तिको आउथ्यो प्रपोज ?
योङ समय भनेको फरक नै हुन्छ , त्यो मलाई मात्र पक्कै होइन होला । त्यसमाथि पप गायिका भनेपछि के हो कसो हो भन्ने कुरा आउने नै भयो । मलाई त्यो समयमा अलिअलि प्रपोजहरु आउथ्यो नआउने होइन तर त्यसलाई ह्याण्डिल गरेर अगाडि बढेँ ।

सामाजिक सञ्जालको जमाना छ, फ्यानहरुले कत्तिको पछ्याउछन् ?
धेरै फ्यानहरुले पछ्याउनुहुन्छ । ‘म तपाईको ठूलो फ्यान हो, प्लिज मलाई फेसबुकमा साथी बनाउनुहोस् न’ भन्ने खालका म्यासेज गर्नुभएको हुन्छ । कत्तिले त थप गीतहरु किन आएनन् भनेर दुखेसो गर्नुहुन्छ ।

कस्ता खालका फोनकल र म्याजेजले वाक्क बनाउँछ ?
कुनै पनि विषयसँग सम्बन्धित नरहेर बकवासजन्य कुराहरुले वाक्क दिक्क बनाउँछ ।

नेपाली गीत-संगीतको थप विकासका लागि के गर्नुपर्ला ?
गीत-संगीतको क्षेत्रकै लागि भनेर धेरै संघ-संस्थाहरु खाेलिएका छन् । नेपाली मार्केट फस्टाउँदै गइरहेको पनि छ । रोयल्टीको कुराहरु पनि उठेको छ, रोयल्टी आयो भने संगीतकर्मी पनि सेक्युर हुन सक्छन्, यसले गीत-स‌ंगीतकाे थप विकास एवं संवर्द्धनमा टेवा दिन सक्छजस्तो लाग्छ ।

तपाईका गीत सन्न आतुर स्रोताहरुलाई कस्तो सरप्राइज लिएर आउँदै हुनुहुन्छ ?
मेरा श्रोतहरुलाई अब नयाँ एल्बम लिएर आउने सोचमा छु । सायद त्यो छिट्टै नै हुन्छ होला । म तयारीको अवस्थामा नै छुँ ।

Leave a Reply

Your email address will not be published.