सिइओ ज्ञवाली : हरेक दुई हप्तामा धरहराको एकतला थपिन्छ

ताजा समाचार

काठमाडौं : भूकम्पबाट क्षतिग्रस्त धरहराको पुननिर्माण तीव्र गतिमा अगाडि बढेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ।संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले धरहरा पुननिर्माणको काम तीव्र गतिमा अगाडि बढेको बताए।

तेस्रो तलासम्म ढलानका काम सम्पन्न भएको धरहराको अहिलेसम्म ३२ प्रतिशत काम सकिएको छ। अहिलेसम्म अण्डरग्राउण्डको काम भएकाले बाहिर नदेखिए पनि अब हरेक २ हप्तामा १ तला बनाउने गरी काम अगाडि बढेको उनले बताए।

गोश्वरा हुलाक कार्यालय र राष्ट्र बैंकको टक्सार कार्यालय स्थानान्तरण गर्न समय लागे पनि काममा सन्तोषजनक प्रगति भएको उनले बताए। हुलाक कार्यालयका लागि प्रिक्याब भवन निर्माण गरिएको र राष्ट्र बैंकलाई नेपाल औषधि लिमिटेको कम्प्लेक्समा भवन निर्माण गरि स्थानान्तरण गरिएको उनले बताए।

ज्ञवालीले स्थानीयहरुको माग अनुसार उत्तरतर्फ सडक खेलिएको र मुल सडकमा जोड्ने गरी गुरुयोजना स्वीकृत भएको बताए। ज्ञवालीलले बैशाखम्म सम्पन्न गर्नेगरि रानीपोखरी पुननिर्माणको काम अगाडि बढेको बताए।

रानीपोखरी भित्रको बालगोपालेश्वर मन्दिर कुन शैलीमा निर्माण गर्ने भन्ने विषयमा विवाद उत्पन्न हुँदा समस्या आएको बताउँदै उनले विज्ञलगायत सरोकारवालाको सल्लाह अनुसार ग्रन्थकुट शिखर शैलीमा निर्माण गरिने बताए। पोखरीको पिँधमा त्यही भएको कालीमाटी प्रयोग गरिएको उनले बताए।

पुस मसान्तभित्र पोखरीको पिँधको काम सकिने, मन्दिर र वरिपरिको काम बैशाखभित्र सम्पन्न हुने उनले बताए। प्रमुख ज्ञवालीले पुननिर्माण गर्नुपर्ने ७ हजार ५५३ विद्यालय भवनमध्ये ५ हजार ३४८ भवन निर्माण सम्पन्न भएको, १८ सय १६ पुननिर्माणको क्रममा रहेको र ३८९ भवन पुननिर्माण हुन बाँकी रहेको बताए।

विद्यालय भवनहरूको पुर्ननिर्माण उल्लेख्य देखिए पनि कक्षा कोठाको भने संख्यात्मक रुपमा कम निर्माण भएका छन्। धेरै कक्षाकोठा बनाउनुपर्ने अवस्था आएकाले स्रोत व्यवस्थापनमा समस्या देखिएको र अर्को वर्ष थप गर्ने गरी ४ कोठा माग भएका ठाउँमा २ वा ३ वटा कक्षाकोठा निर्माण गरिएको उनले बताए।

एक हजार १९७ स्वास्थ्य संस्थामध्ये ६६५ स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्पन्न भएको, १४९ पुनर्निर्माणको क्रममा रहेको र ३८३ पुनर्निर्माण सुरु हुन बाँकी रहेको उनले बताए। विद्यालय र स्वास्थ्य संस्थाको लागि स्रोत व्यवस्थापन गर्दै जानुपर्ने भएकाले एकैपटक काम सम्पन्न गर्न नसकिएको उनले बताए।

निजी आवास पुर्ननिर्माण तर्फ ८ लाख २० हजार ६९१ लाभग्राहीमध्ये ७ लाख ७९ हजार ८५६ सँग अनुदान सम्झौता भएको उनले बताए। अनुदान सम्झौता भएका मध्ये ७ लाख ६९ हजार ६१६ ले पहिलो किस्ता लगेको र ४ लाख ८१ हजार ५६ घरको निर्माण सम्पन्न भएको छ।

४१५ सरकारी भवनमध्ये ३५१ पुर्ननिर्माण सम्पन्न भएको, ५७ पुनर्निर्माणको क्रममा रहेको र ७ वटा भवनको पुनर्निर्माण नै बाँकी रहेका छन्। त्यसैगरी ३८३ सुरक्षा निकायका भवन पुनर्निर्माण गनुपर्नेमा १९४ वटा सम्पन्न भएको, २२ वटा पुनर्निर्माणको क्रममा रहेको र १६७ वटाको पुनर्निर्माण सुरु नगरिएको उनले बताए।सरकारको निर्णय अनुसार बाँकी रहेका भवनहरू अब नियमित कार्यक्रमअन्तर्गत पुननिर्माण गरिने छन्।

७५३ पुरातात्विक सम्पदाहरूको पुनर्निर्माण गर्नुपर्नेमा ३८७ वटा पुनर्निर्माण सम्पन्न भइसकेका छन्। १२३ वटा पुनर्निर्माणको क्रममा छन्भने २४३ वटाको पुनर्निर्माण सुरु भएको छैन। त्यसैगरी क्षति भएका १३२० गुम्बाको मर्मत तथा निर्माणका लागि ३७ करोढ ८९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए।

भारतीय एक्जिम बैंक तर्फको बजेट रकम स्रोतान्तरको लागि अनुरोध गरिएको उनले बताए।

Leave a Reply

Your email address will not be published.