जापानको सीप परीक्षामा सबै फेल, पहिलो चरणमा काेहि पनि जान नपाउने

ताजा समाचार

काठमाडौं : जापानमा नर्सिङ केयरगिभरका लागि पहिलो चरणमा नेपाली जान नपाउने भएका छन्।जापान फाउन्डेसनले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षणमा १५ जना र जापानी भाषा परीक्षणमा १२ जना सहभागी थिए। ती मध्ये भाषा परीक्षामा एक जना मात्र उर्तिण भए।

नेपाल र जापानको श्रम समझदारीअनुसार नर्सिङ केयरगिभरमा जाने कामदारले नर्सिङ सेवासम्बन्धी भाषा र सीप परीक्षणमा उतीर्ण हुुनुपर्छ। अनलाइनमार्फत आवेदन दिएकामध्ये लक्की ड्रबाट छानेर जापान फाउण्डेसनले परीक्षा लिएको थियो भन्ने खबर कान्तिपुर दैनिकमा छ।

कुन क्षेत्रमा जाने कामदारले कुन पाठ्यक्रमअनुसार परीक्षा दिनुपर्ने हो भन्ने स्पष्ट नहुँदा परीक्षार्थी अन्योलमा परेर फेल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विश्लेषण छ।

सात जना न्यायाधीश सिफारिस
न्याय परिषद्ले जिल्ला अदालतमा सात जना न्यायाधीश सिफारिस गरेको छ। मङ्गलबारको बैठकले न्यायाधीश सिफारिस गरेको हो। परिषद्को निर्णयअनुसार पाँच न्यायाधीशको सरुवा भएको छ।

निर्णयअनुसार उच्च अदालत तुलसीपुर इजलासमा कार्यरत रजिष्ट्रार गेहेन्द्रराज पन्त जिल्ला अदालत भोजपुरको न्यायाधीशमा सिफारिस भएका छन्। यस्तै सर्वोच्चका उपरजिष्ट्रार विद्याराज पौडेल रुकुम जिल्ला अदालतमा सिफारिस भएका छन्। यस्तै सर्वोच्चकै उपरजिष्ट्रार महेन्द्रराज काफ्ले जिल्ला अदालत सोलुखुम्बुको न्यायाधीशमा सिफारिस भएका हुन्।

उच्च अदालत महेन्द्रनगर इजालासमा कार्यरत रजिष्ट्रार टेकराज जोशी डोल्पा जिल्ला अदालतमा सिफारिस भएका छन्। सर्वोच्चकै उपरजिष्ट्रार इन्दिरा शर्मा जिल्ला अदालत झापाको न्यायाधीशमा सिफारिस भइन्। सर्वोच्चमै कार्यरत मनकुमारी जिएम (विक) बाँके जिल्ला अदालतको न्यायाधीशमा र उपरजिष्ट्रार रीताकुमारी बख्रेल सप्तरी जिल्ला अदालतको न्यायाधीशमा सिफारिस भए।

निर्णयअनुसार जिल्ला अदालत भोजपुरमा कार्यरत खिलनाथ रेग्मीको बारा जिल्ला अदालतमा सरुवा भएको छ। यस्तै सोलुखुम्बुका अमृतबहादुर बस्नेतको झापा, नवलपुर जिल्ला अदालतका अम्बिकाप्रसाद निरौलाको काठमाडौँ जिल्ला अदालतमा सरुवा भएको छ। निर्णयअनुसार जिल्ला अदालत दोलखाका तेजबहादुर खड्काको मोरङ जिल्ला अदालत र रुकुमका आत्मदेव जोशीको धादिङ जिल्ला अदालतमा सरुवा भएको छ।

Leave a Reply

Your email address will not be published.