पठाओ राइडरलाई १५/२० जना ट्याक्सी चालकले घेरे, पठाओमार्फत यात्रु ओसार्नेलाई ट्राफिक प्रहरीद्वारा जरिवानाको चिट

ताजा समाचार

पठाओमार्फत यात्रु ओसार्नेलाई ट्राफिक प्रहरीले जरिवानाको चिट काटेको छ। प्रयोजन विपरित सवारी चलाएको अभियोगमा पठाओ चालक विकास तामाङलाई महानगरीय ट्राफिक प्रहरी वृत स्वयम्भूले १ हजार रुपैयाँ जरिवाना हुनेगरी चिट काटेको हो।

यात्रु लिन गएका उक्त पठाओ राइडरलाई १५/२० जना ट्याक्सी चालकले घेरेर दुव्र्यवहार गरेको प्रत्यक्षदर्शी प्रकाश गोपालीले बताए। ‘बाफल आएका राइडरलाई ट्याक्सी चालकहरुले बाइक फुटाइदिन्छु भन्दै दुव्र्यवहार गरे’ उनले भने ‘त्यसपछि त्यही सडकमा रहेको ट्राफिक प्रहरीले चौकी लगे।’

यसरी राइडरलाई दुव्र्यवहार गर्नु र चिट काट्नु उचित नभएको पठाओका क्षेत्रीय निर्देशक अशिममान सिंह बस्न्यातले बताए। ‘प्रधानमन्त्रीज्यू स्वयमले संचालन गर्ने निर्देशन दिइसकेको कुरालाई नियम बनाएर संचालन गराउनु पर्नेमा चिट काट्नु आश्चर्यको कुरा हो,’ उनले भने ‘केही दिन अघि राइडरलाई दुव्र्यवहार भएको भिडियो सार्वजनिक भएको थियो। दुव्र्यवहार गर्ने व्यक्ति पहिले पठाओमा आवद्ध ट्याक्सी चालक थिए र उनको चालचलन नराम्रो भएपछि पठाओले सस्पेन्ड गरेको थियो,।’

टुटल र पठाओ जस्ता राइड सेयरलाई कारवाही गर्न यातायात व्यवस्था विभागले पत्र नपठाएको र आफूहरुले पनि त्यस्तो कुनै निर्देशन नदिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम प्रसाद ढकालले जानकारी दिए।

‘नियम उलंघन गर्नेलाई कारवाही नियमित भइरहेकै छ। तर कुनै निश्चित सेवालाई कारवाही गर्न निर्देशन दिएका छैनौं’ उनले भने। विगत केही दिनदेखि ट्याक्सी चालकहरुले टुटल–पठाओ राइडरलाई दुव्र्यवहार गर्ने, बाटो छेकेर बेइज्जत गर्ने घटना बढ्दो छ।

Leave a Reply

Your email address will not be published.