खै ‘माओवादी’ ? खोलाले बगायो, खै ‘फोरम’ ? सुक्यो

ताजा समाचार

राजनीतिमा जे पनि सम्भव छ । हो, जे पनि ! नभए गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका रहेको ‘नेकपा माओवादी’ अनि संघीय नेपालको गठनका लागि मधेसमा राँको बाल्न सफल ‘मधेसी जनअधिकार फोरम’ यत्ति चाँडै डाइनोसरझैँ किन बिलाउँथे र !

कति नै भएको छ र यी दुवै दल अस्तित्वमा आएको ! सशस्त्र द्वन्द्व शुरु गरेको २०५१ बाट गणना गर्ने हो भने ‘माओवादी’ नाम आम नागरिकको मस्तिष्कमा आश र त्रास बनेर जमेको २५ वर्ष त भयो ! अनि अन्तरिम संविधान जलाएर चर्चामा आएको मिति ०६३ माघ २ बाट उमेर गणना गर्ने हो भने ‘फोरम’ सुनिएको १३ वर्ष त भयो ! राजनीतिक दलका लागि यो उमेर कच्चै हो तर कच्चैमा गणतन्त्र र संघीय राज्य बनाउन योगदान दिएका ‘माओवादी’ र ‘फोरम’ जादुगरले मञ्चमा चुट्की बजाएर बक्साबाट खरायो गायब बनाएझैँ गायब भए ।
०६२–०६३ पछि ‘माओवादी’ अनि ‘फोरम’ शब्द झुण्डिएका आधा दर्जन बढी दल जन्मिए । जुन दलबाट जो नेता प्याट्ट छुट्टिए नामको पुच्छर या टाउकोमा ‘माओवादी’ या ‘फोरम’ शब्द छुटाएनन् ।

रहर थिएन त्यो । शक्ति थियो दुवै शब्दमा । ‘माओवादी’ र ‘फोरम’ मा परिर्वतनको राप र ताप थियो ।
सम्झौँ त त्यो समय ! ‘माओवादी’को नाममा जे आह्वान भयो त्यही भइहाल्थ्यो । नेपाल खुल्ला भने खुल्ला, बन्द भने बन्द । केन्द्रमा फोरमको मसल्स त्यत्ति जमेन तर तराईमा उसको रजगजै बेग्लै । केन्द्रीय दलका नेतालाई ठिंगुर्याउने क्षमता थियो ‘फोरम’मा । देशभित्रै राँको बाल्नु त सामान्य भई नै गयो । राष्ट्रिय सीमाको कुरै छाडौँ, उसले त अन्तर्राष्ट्रिय सीमासमेत बन्द गराउने ल्याकत राख्थ्यो ।

बगाउने श्रृंखला
शान्तिकालसम्म एकैठाउँ अटेका माओवादी नेता बीचको बढ्दो खटपटसँगै जो जत्रो ‘पोको’ बोकेर हिँड्न सके, पोकोसँगै ‘माओवादी’ पनि लिएर हिँडे ।
नेकपा माओवादी, एकीकृत माओवादी, क्रान्तिकारी माओवादी नामका पार्टी अस्तित्वमा आए । बाबुराम भट्टराईबाहेक मोहन बैद्य किरण हुन् या नेत्रविक्रम चन्द, कसैले पनि ‘माओवादी’ छाडेनन् । कुनै न कुनै रुपमा आफूसँगै ‘माओवादी ट्याग’ झुण्ड्याइरहे ।

पुष्पकमल दाहालले पनि सकेसम्म ‘माओवादी’ छाडेनन् । छुट्टिदा होस् या एकीकृत हुँदा, ‘माओवादी’सँग टाँस्सिइनैरहे उनी ।
तर अहिले वैद्यले पार्टीको नामको बीचतिर राखेर ‘माओवादी’ जोगाउने प्रयास त गरेका छन् । बाँकीले ‘माओवादी’ खोलामा बगाइसके ।

अहिले दाहाल आफैँ माओवादी शब्दबाट भाग्दै नेपाल कम्युनिस्ट पार्टीको शरणमा पुगेका छन् । नेत्र विक्रम चन्दले केही समय ‘माओवादी’लाई त्रास बढाउनमा प्रयोग गरे । जब यसले अब नागरिक डराउँदैनन् भन्ने सत्यबोध भयो, मिल्काउँदै ‘नेकपा’तिर लागे ।
धन्न, वैद्यले भने नाम छाडिहाल्न सकेका छैनन् । अहिले पनि उनले ‘नेकपा क्रान्तिकारी’को पछाडि ‘माओवादी’ भन्ने पुच्छर झुण्ड्याइरहेका छन् । त्यो शब्द पनि कतिखेर खोलाले बगाउने हो ग्यारेन्टी छैन ।

सुकाउने श्रृंखला
विचरा माओवादी मात्र हो र ! यस बीचमा फोरम शब्द पनि सुक्यो । २०६२–०६३ को राजनीतिक परिर्वतनपछि संघीयताको राप रन्काउने ‘फोरम’ शब्द, जोसँग मधेसको अधिकार जोडिएको थियो, त्यो अहिले कतै छैन ।

‘फोरम’ फोरिने क्रममा समेत यो शब्दको क्रेज गजबको थियो । जो–जो नेता उछिट्टिए पनि ‘फोरम’को मोह छाड्न सकेनन् र टाउको या पुच्छरमा झुड्याई नै राखे । फोरम फोरेर हिँडेका विजयकुमार गच्छदारले लोकतान्त्रिक पुच्छर राखेर नाम जुराए, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) । जेपी गुप्ताले जुराए मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) । अर्को समूह फुट्यो र बन्यो मधेसी जनअधिकार फोरम (मधेस) । मधेस तराई फोरम भन्ने दल पनि बनेको थियो क्यार !‘फोरम’ बद्लिँदा बद्लिँदा कोही कांग्रेसतिर मिलेर विलिन भए, कोही तराई मधेस लोकतान्त्रिक पार्टी हुँदै राष्ट्रिय जनता दलमा रुपान्तरण भए ।

संविधान जारी भएसँगै पुरानै घर कांग्रेसमा गच्छदार फर्किदा फोरम शब्द सुकाएर गए । भ्रष्टाचार मुद्दा प्रमाणित भएसँगै जेपीको फोरम हरायो । अन्य दल तात्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी हुँदै राष्ट्रिय जनता पार्टीमा परिर्वतन भए । अन्तिमसम्म मधेसी जनअधिकार फोरमका संस्थापक उपेन्द्र यादवले ‘संघीय समाजवादी फोरम’कै रुपमा भए पनि जोगाएका थिए ‘फोरम’ । नयाँ शक्ति पार्टीसँगको एकतापछि ‘फोरम’ पनि सुक्यो ।
अब टाउको या पुच्छरमा ‘फोरम’ झुण्डिएका दल मूलधारमा छैनन् । जसरी ‘माओवादी’ खोलाले बगायो, ‘फोरम’ उसरी नै सुक्यो ।
अन्त्यमा,

लाग्न सक्छ, जाबो शब्दमा के थियो र, के छ ? ‘माओवादी’ बगोस् या ‘फोरम’ सुकोस्, के फरक पर्छ र ? नेता त छँदै छन् नि ! प्रारम्भमा हरकोहीलाई ‘ए हो त नि’ भन्ने नलागेको हैन ।
तर हैन रहेछ । ‘माओवादी’ शब्दमा शक्ति नभएर नेतामा हुन्थ्यो भने सशस्त्र द्वन्द्व हाँकेका नेताहरु अहिले पनि सत्ता र शक्तिमा हुँदाहुँदै सम्पन्न हुन बाँकी शान्ति प्रक्रियाका महत्वपूर्ण सम्झौताका अक्षर किन धमिलियो ?

‘फोरम’ सुके पनि मधेसका नागरिकलाई राजनीतिक रुपमा शक्तिसम्पन्न बनाउन कस्सिएका नेता सत्ता र शक्तिमै रहँदारहँदै मधेसको राजनीतिक अधिकारबारे राज्यसँग भएका दर्जनौं सम्झौता किन अलपत्र परे ? मृत शब्द भए त हो ! तर परिर्वतनको बाहक बनेका शब्दको शक्ति बेजोडको हुने रहेछ । नेताभन्दा पावरफुल । नेता भन्दा बलियो । केपी ढुंगाना सुक्रबार साप्ताहिक बाट।

Leave a Reply

Your email address will not be published.