संविधान दिवसको अवसरमा सुन्दर यातायातले काठमाडौंमा निःशुल्क बस सेवा सञ्चालन

ताजा समाचार

३ असोज काठमाडौं,। संविधान दिवसको अवसरमा सुन्दर यातायातले काठमाडौंमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । कम्पनीले शुक्रबार काठमाडौंको रिंगरोडको रुटमा चलिहरेका आफ्ना विद्युतीय बसमा भाडा नलाग्ने जनाएको छ । कम्पनीका अध्यक्ष भेषबहादुर थापाले संविधान दिवसको उपलक्ष्यमा सेवाग्राहीलाई आज निशुल्क सेवा दिएको बताए ।

‘संविधानसभाबाट संविधान जारी भएको सुखद् दिनको सम्झनामा विद्युतीय बसमा यात्रुलाई निःशुल्क यात्रा गराएका हौं,’उनले भने,’यसले विद्युतीय बसप्रति नागरिकको सकारात्मक भावना जागृत गर्न पनि सहयोगी पुग्ने विश्वास हामीलाई छ ।’ सरकारी स्वामित्वको ट्रली बस बन्द भएको एक दशकपछि गत भदौ २३ गतेबाट निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा थालेको थियो ।

कम्पनीले अब नेपालमा विद्युतीय सार्वजनिक सवारीको युग सुरुआत भएको घोषणा गरेको थियो । साझा यातायातले पहिलो चरणमा करिब ५० वटा विद्युतीय बस ल्याउने तयारी गरिरहँदा सुन्दर यातायातले एक कदम अगाडि बढेर पहिलो विद्युतीय बस सञ्चालनमा ल्याएको छ ।यसअघि सरकारले लुम्बिनीमा चलाउने गरी ल्याएका बिजुली बस साझामार्फत केही समय चलाउन दिइएको थियो ।

तर, सञ्चालन सुरुआत नहुँदै मापदण्डअनुासरको बस नआएको भन्दै फिर्ता पठाइएको थियो । सुन्दरले हाल ल्याएका बस ब्याट्रीबाट चल्ने बीएके कम्पनीका हुन् । बिजुली बस चलाउन कम्पनीले रिंगरोडको रुट पाएको छ । कम्पनीले थप ५० वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ ।

 

Leave a Reply

Your email address will not be published.