‘गलत तरिकाले छिरे नर्क बन्न सक्छ अमेरिका’

अन्तरास्ट्रिय

सुदूरपश्चिमको डोटी जिल्लामा जन्मिएका हुन्, अधिवक्ता वासु फुलारा। छात्रवृत्तिमा पढ्न अमेरिका पुगेका उनी अमेरिकी अदालतमा बहस गर्ने नेपाली अधिवक्ता हुन्। न्युयोर्कको टाइम्स स्क्वायरमा रहेको ‘द ल अफिसेज अफ वासु डी फुलारा पीसी’ मार्फत उनले वाणिज्य, फौजदारी, पारिवारिक सम्पत्तिलगायत मुद्दामा बहस गर्दै आएका छन्। अहिलेसम्म अमेरिकाको ३० भन्दा बढी राज्यका अदालतमा बहस गरिसकेको उनी बताउँछन्। उनको अमेरिका अनुभव उनकै शब्दमाः

अमेरिका थुप्रै नेपालीको सपनाको देश हो। नेपाली मात्र नभएर अमेरिका जान अन्य देशका नागरिक पनि लालायित हुन्छन्। त्यहाँ थुप्रै अवसर छन्। मेहनत गर्ने मानिसहरू उच्च ओहदामा पुगेका छन्। नियमसंगत हिसाबले कागजपत्र पु¥याएर जाँदा अमेरिका भनेजस्तै ‘ड्रिम ल्यान्ड’ बन्न सक्छ। तर, गलत तरिकाले अरूको आश्वासनको भरमा जाँदा त्यही सपनाको देश पनि नर्क बन्न सक्छ। कतिपय दलालले अवैधानिक रूपमा नेपालीलाई अमेरिका पठाउने गर्छन्। ५० देखि ८० लाख रुपैयाँसम्म खर्च गरेर नेपाली अमेरिका जाने गरेको पाइएको छ। त्यति पैसा नेपालीले अमेरिका छिर्नको लागि मात्र खर्च गर्छन्। दलालहरूको आफ्नै सञ्जाल छ।

देशदेखि विदेशसम्म कति दलाल छन् ? उनीहरूका कति सञ्जाल छन् ? कसैलाई थाहा छैन। यसरी अवैधानिक तरिकाले विदेश पठाउने काम नरोकिएसम्म नेपाली पैसा विदेशी दलालकोमा पुगिरहनेछ। त्यसैले जुनसुकै देश जाँदा पनि कानुनी रूपमा भिसा लिएर मात्र जानुपर्छ।

गलत तरिकाले छिर्नै हुँदैन
गलत तरिकाले अमेरिका जाँदा अरू देशको बोर्डरमा गएर धेरै नेपाली फसेका छन्। अमेरिकाको बोर्डरमा पुगेकाहरू पनि त्यहाँ गएर समातिन्छन्। कतिपय नेपाली कागजपत्रबिना नै त्यहाँ पुगेका हुन्छन्। उनीहरूलाई समातेर जेलमा हालिन्छ। प्रहरी हिरासतमा रहेका थुप्रै नेपालीको केस मैले हेरेको छु।

गलत तरिकाले केस पेश गर्दा वकिललाई समेत जोखिम हुन्छ। त्यहाँको कानुन एकदमै कडा छ। गलत तरिकाले अमेरिका छिर्दा पैसाको मात्र सत्यानाश हुँदैन, केस जितेन भने खाली हात आफ्नो देश फर्किनुपर्छ। बर्सेनि कैयाँै नेपालीलाई फर्काइने गरेको पाइन्छ। हामी मानव बेचबिखनका कुरा गर्छौं। यो पनि एक हिसाबले मानव बेचबिखन नै हो। अमेरिकाको बोर्डरसम्म पुग्न मानिसहरू लाखौँ पैसा खर्च गरिरहेका छन्। कति व्यक्ति अमेरिका नै नपुगी बीच बाटोमा अलपत्र परेका घटना पनि छन्।

खाडी देशमा नेपाली महिला शोषणमा परेका कुरा आउँछन्। तर, विकसित देश पुग्नकै लागि दलालको फन्दामा परेर धेरै महिला यौन शोषणमा परेका हुन्छन्। यसमा कसैको ध्यान गएको देखिँदैन। विशेष गरी महिला सीमाहीन क्षेत्रबाट जाँदा उनीहरूमाथि दुव्र्यवहार हुने गरेको पाइएको छ। अवैधानिक रूपमा अमेरिका विदेशिने महिलामध्ये धेरै यौन दुव्र्यवहारमा परेका हुन्छन्। उनीहरू अमेरिका पुग्नुभन्दा पहिला सात–आठ महिना दलालसँग हिँड्ने गर्छन्। अवैधानिक तरिकाबाट अमेरिका गएका नेपालीका अनगिन्ती पीडा छन्। कति डिप्रेसनमा जान्छन्। कतिले त आत्महत्या नै गर्छन्।

दलालको फन्दा
दलालको फन्दामा परेर अमेरिका पुगेका प्रत्येक नेपालीलाई देख्दा ‘यस्तो मरिहत्ते गरेर यिनीहरू किन आएका होलान्’ जस्तो लाग्छ। केही समयअगाडि अमेरिकामा थुनिएका दुई नेपालीसँग भेट भयो। उनीहरू आठ महिना लगाएर विभिन्न देश हुँदै अमेरिका आइपुगेको रहेछन्। दलालले सबै पैसा खाएको हुनाले उनीहरू खाली हात फर्किनुपर्ने अवस्था थियो।

‘अमेरिकामा गएपछि खूब पैसा कमाइन्छ’ भन्ने धेरैले सोच्छन्। ‘लाख खर्च ग¥यो भने करोड आउँछ’ भन्ने धेरैको धारणा छ। यो भ्रम मात्र हो। आफूले खर्च गरेर गएकै पैसा उठाउन कतिलाई धौधौ पर्छ। गएको पैसा उठाउनै कतिलाई वर्षौं लाग्छ। अवैधानिक रूपमा गएकाहरूलाई केस जित्नै महाभारत पर्छ। केस जितेन भने उनीहरू देश निकालामा पर्छन्। दलालको बाटोबाट विदेशिनु भनेको आफ्ना लागि आफैँ खतरा मोल्नु हो। दलालको बाटोबाट जाँदा कति घनघोर जंगलमा सर्पले टोकेर मर्छन्। कति बीच बाटोमा पानी पनि खान नपाई अलपत्र परेका घटना मैले सुनेको छु।

दलालहरूविरुद्ध केस हालेर पनि केही हुन्न भन्ने सोचले धेरै नेपाली बोल्दैनन्। कारबाहीको प्रक्रिया अगाडि बढाए पनि दलालहरूलाई खोज्नै मुस्किल पर्छ। हरेक देशपिच्छे फरक–फरक गु्रपका दलाल हुन्छन्। ‘दलाललाई किन त्यत्रो पैसा तिरेको’ भनेर सोध्दा दलालको फन्दामा पर्ने कोही पनि बोल्दैनन्। पहिला कानुनी बाटोबाट कोसिस गरेर असफल भएपछि अवैधानिक बाटो रोजेको हुँ’ भनेर कसैकसैले जवाफ दिन्छन्। अवैधानिक तरिकाले जाँदा कागजपत्र हुँदैन। कागजपत्रबिना त्यहाँ काम गर्ने अनुमति हुँदैन। ग्रिनकार्ड भएका व्यक्तिलाई भने त्यहाँ बस्न सजिलो छ।

अमेरिका आदर गर्छ कामलाई
अमेरिका गएर नेपालीहरू ‘प्रोफेसनल’ र ‘नन–प्रोफेसनल’ दुई प्रकारका काम गर्छन्। त्यहाँको युनिभर्सिटिमा पढेर राम्रो नतिजा ल्याएकाहरूले प्रोफेसनल काम गर्छन्। अमेरिकीसँग प्रतिस्पर्धा गरेर काम गर्ने नेपाली पनि छन्। प्रोफेसर, डाक्टर, इन्जिनियर भएर धेरैले काम गरेका छन्।

प्रोफेसनल काम गर्नेहरू एकदमै थोरै मात्र छन्। नन–प्रोफेसनलमा शारीरिक काम गर्नेहरू पर्छन्। त्यहाँ प्रोफेसनल, नन–प्रोफेसनल जे काम गरे पनि नराम्रो अनुभव हुँदैन। जतिसुकै सानो कामलाई पनि आदर गरिन्छ। त्यसैले अमेरिकालाई ‘ड्रिमल्यान्ड’ भनिएको हो। नपढेर यहाँबाट डीभी परेर गएकाले पनि मज्जाले काम गरिरहेका छन्। उनीहरू रेस्टुरेन्ट, सेल्स कम्पनी, ब्युटिपार्लर, सरसफाइका काममा छन्। सानो कामबाट सुरु गरेर पछि आफैँ बिजनेस गर्नेहरू पनि छन्।अमेरिका जाने एउटा भिसा मात्र छैन। स्टुडेन्ट, भिजिटर, बिजनेसलगायत थुप्रै भिसामा कोसिस गर्न सकिन्छ। कुनै पनि देश जानुभन्दा पहिला त्यहाँको बारेमा बुझेर मात्र जानुपर्छ। त्यहाँको भाषा, संस्कृतिबारे जान्नुपर्छ। त्यहाँ गएपछि समय–समयमा कानुनी सल्लाह लिनुपर्छ। आफू जाने देशको वास्तविकताबारे जानकारी नराखी जाँदा निकै दुःख पाइन्छ।

नेपालबाट स्टुडेन्ड भिसामा गएका धेरै विद्यार्थीले कलेज ड्रप आउट गरेको देखिन्छ। विद्यार्थी भिसामा गएपछि काम गर्न पाइँदैन। त्यहाँको कलेजको शुल्क पनि महँगो हुन्छ। त्यसैले उनीहरूले कलेज छोड्छन्। अरू भिसामा गएकाको त कुरै भएन स्टुडेन्ट भिसामा गएकाको पनि भाषामा समस्या छ। उनीहरूलाई समेत राम्रोसँग अंग्रेजी आउँदैन। भाषाको समस्याले पनि धेरै नेपालीले समस्या बेहोरिरहेका छन्।

विद्यार्थीले यहाँबाट जाँदा राम्रो कलेज रोज्छन्। राम्रा कलेजमा कडा प्रतिस्पर्धा हुन्छ। महँगो पनि भएकाले सबैको पहुँचमा हुँदैन। विद्यार्थीलाई त्यहाँ आर्थिक समस्या हुन्छ। महँगो शुल्क तिरेर पढिसकेपछि पनि आफूले चाहे जस्तो ठाउँमा काम गर्न नपाउँदा धेरै नेपाली विद्यार्थी डिप्रेसनमा गएका छन्। पीएचडी सकेर पनि कम्पनीले स्पोन्सर नगरेपछि उनीहरूलाई प्रेसर हुन्छ। कति त नेपाल नै फर्किन सक्दैनन्। त्यसैले गैरकानुनी रूपमा लुकेर बसेका हुन्छन्। वर्षौंवर्षसम्म परिवारसँग टाढा भएर बस्छन्।

कानुनी रूपमा गएका कतिपय नेपालीको ग्रिनकार्ड फाइल गर्ने आधार नै हुँदैन। कतिपय नेपाली भिजिटर भिसामा गएर लुकेर बसेका छन्। ‘नेपालमा म खानदानी परिवारको मान्छे’, ‘म हाकिम थिएँ, मेरो मुनि यति मान्छे काम गर्थे’ भन्ने नेपाली पनि त्यहाँ नन–प्रोफेसनल काम गरिरहेका भेटिन्छन्।
अमेरिका पुगेपछि नेपालमा यस्तो थिएँ, त्यस्तो थिएँ भनेर सम्झिएर काम छैन। त्यहाँ गएर एकैचोटि ठूलो काम पाइँदैन। उनीहरू बिस्तारै बानी पर्छन्। त्यहाँको वातावरणले उनीहरूलाई परिश्रम गर्न सिकाउँछ। ‘अरूले यो काम गर्र्न मिल्छ भने हामीले किन मिल्दैन’ भन्ने भावना विकास हुन्छ। किनभने, उनीहरूसँग त्यसको विकल्प हुँदैन।

सुुविधासम्पन्न देश भएकाले मनिसहरू त्यहाँ जान्छन्। शिक्षा, स्वास्थ्य, वातावरण, सेवा सुविधाको हिसाबले अमेरिका राम्रो छ। सबै राज्यमा बराबर सेवा र सुुविधा छन्। यही कुराले धेरै नेपालीलाई अमेरिकाले तान्छ। त्यहाँ एउटा मात्र राज्यमा मान्छे थुप्रिएका छैनन्। धेरै नेपालीको सपना काठमाडौँमा घर बनाउने, गाडी किन्ने हुन्छ। तर, त्यहाँ धनाढ्य व्यक्ति पनि अपार्टमेन्टमा बस्छन्। बरु, यहाँबाट गएका नेपालीहरूमा भने त्यहाँ पनि घर बनाएर बस्ने होडबाजी हुन्छ। त्यही घर र गाडीको सपनाले नै नेपालीलाई अमेरिका पु¥याउँछ।

Leave a Reply

Your email address will not be published.