रातको पौने १ बजे सगरमाथाको शिखरमा एक्लै पुग्दामध्यरातको त्यो अनुभव

रोचक

११ असार, काठमाडौं । हिमाल नहुँदो हो त मिङ्मा दोर्ची शेर्पा यतिबेला पहाडका कुनै टाकुरामा कसैको भारी बिसाउँदै हुन्थे । गोरेटाहरुको कुनै मोडमा चिया बेचिरहेका हुन्थे । या खेतमा बाँझो पल्टाइरहेका हुन्थे ।

हुन त उनले यो सबै गरे । विद्यालय जाने उमेरमा भारी बोकेर अग्ला गौंडाहरु चढे । बटुवालाई बोलाउँदै चिया पनि बेचे । सानो उमेरमै खेेतिपातीको लामो अनुभव त उनको योग्यता नै हो । तर उनका लागि अहिले यी सबैभन्दा माथि छ, हिमाल ।

अहिले लाग्छ… हिमाल छ र मिङ्मा छन्, मिङ्माकै लागि हिमाल छ, हिमालको अग्लिएको उचाइ मिङ्माले नै अग्लाइ भेट्न हो ।

हिमालसँग दैनिकी जोडिएका शेर्पालाई कतिपटक हिमाल पुग्नुभयो भनेर नसोध्नुहोला । कामकै लागि बेस क्याम्पदेखि शिखर गर्दागर्दै उमेर बिताएका उनीहरु पटकको गणना सम्झँदैनन् । ‘हिमालको देवता’को साथले सक्दासम्म त्यसैको वरपर बाँच्छन्, नसक्दा पनि त्यसैको सम्झनामा हराउँछन् । त्यसैको आर्जनले कृतज्ञ हुन्छन् ।

हिमालसँगको यस्तै सम्बन्धमा छन्, ३१ वर्षका मिङ्मा । फरक भनेको उनलाई हिमालमा कति पटक पुगेँ, कति पटक शिखर चढेँ भन्ने एकीन सम्झना छ ।

मिङ्मा हिमालसँग जोडिएको १० वर्ष भयो । यसअघि ३४ पटक हिमालको काखमा हुँदा उनको मनमा गुजारा गर्नेबाहेक अर्को सोच थिएन । तर ३५ औं पटकमा मिङ्माको मन फेरियो । लाग्यो, मैले पनि एउटा कीर्तिमान बनाउनुपर्छ ।

आफैंले बाटो देखाउँदै, आफ्नै सहयोगमा उचाइ पुर्‍याएका कतिले के-के कीर्तिमान बनाइसक्दा पनि नआएको इच्छा यसपटक मिङ्माको मनमा अचम्मसँगै आयो । ‘मैले पनि केही सम्झना छाड्नुपर्छ’ भन्ने सोच यति बलियो थियो कि उनले गरिछाडे ।

कीर्तिमानको त्यही भोकले नै मिङ्मा सगरमाथाको शिखरदेखि लोत्सेको शिखरसम्म ६ घण्टा १ मिनेटमा पुगे । त्यो पनि एक्लै । हुन त हिमालका साथी उनलाई अरु साथको खाचो परेन । एक्लै पनि हिउँ छिचोल्न सके । विश्व कीर्तिमान बनाए । ८ हजार मिटर अग्ला हिमालको शिखरमा १७ औं पटक पुग्दा उनको शरीरको ऊर्जा र मनको उत्साह हिमाल जसरी नै अग्लियो ।

मिङ्माले हिमालमा प्रतिस्पर्धा गर्न खोजेको होइनन् । हो त उमेर छँदै केही गरेर हिमाल आरोहणसँग नाम जोडियोस् भन्ने चाहना मात्रै । ‘सबै कुरा पैसा कमाउनु पनि त होइन । आफूले केही कीर्ति छाडेरै जानुपर्छ भन्ने लाग्छ । आफूले गर्न सक्ने काम किन नगर्ने त ? मेरो काम नै हिमालमा छ भने अरुले जस्तो कीर्तिमान मैले किन नबनाउने’ आरोहण अघिको दृढ सोच मिङ्माले सुनाए ।

हिमालसम्मको बाटो

सङ्खुवासभाको मकालु हिमाल आरोहणमा जाने बाटोको अन्तिम गाउँ नै मिङ्माको गाउँ हो ।

तीन कक्षासम्म उनी गाउँकै विद्यालयमा पढे । विद्यालयको अनुभव सुनाउँदा मिङ्मा यतिमात्रै भन्छन्, ‘दुर्गम क्षेत्रको विद्यालय त्यस्तै नै हो ।’ मिङ्माले कुन अर्थमा दुर्गमको विद्यालय त्यस्तै हो भनेर सुनाए त्यो उनको अनुहारमा झल्कन्थ्यो । पाठ्यपुस्तकको अभाव र नियमित पढाइ नहुने चलन जस्तै भइसक्यो ।

तीन कक्षापछि उनी ७ कक्षासम्म तीन गाउँ परको विद्यालयमा आउने-जाने गरेर पढे । दुःखैमा पनि निरन्तर भइरहेको उनको पढाइ बुबा-आमा बितेपछि भने सम्भव भएन । मिङ्मा ७ वर्षको हुँदा आमा बितिन् । १४ वर्षको हुँदा बुबा । जेठो छोरा भएकाले काममा नै ध्यान दिनुपर्ने बाध्यता आयो र उनले पढाइ छाडे ।

गाउँमा खेतिकिसानी र भरिया काम गर्दै भाइ बहिनी हुर्काए । एक वर्ष जस्तो चिया पसल चलाए । त्यहीको चिनजानले उनी पर्यटन व्यवसायमा आएका हुन् । ‘गाउँकै दाइहरुको कम्पनीमा चिनेपछि पर्यटन पेशामा आउन पाएँ । सन् २००९ देखि यो क्षेत्रमा लागेको हो । २०१० मा आमाडब्लम हिमाल चढेपछि त हिमाल यात्रा राम्ररी नै सुरु भयो । २०११ मा मनासलु र सगरमाथा पनि चढेँ’ मिङ्माले भने ।

हिमालतिर काममा गएको त ३५ भन्दा बढी पटक भइसक्यो । आरोहण नै गरेको पनि १७ पटक त भइसक्यो । त्यसमा उनी एक्लै शिखरमा गएको त यो वर्ष मात्रै हो ।

अरु कम्पनीमा पाँच वर्ष काम गरेकै अनुभवले मिङ्मा चार जना साथीसहित अहिले छुट्टै कम्पनी चलाउँछन् । पायोनियर एड्भेन्चर कम्पनीमार्फत हिमाल आरोहणमा जान चाहनेको सहयोगमा उनीहरु लागिपरेका छन् ।

सगरमाथादेखि लोत्सेसम्म

१३ जेठको रात १२ बजेर ४४ मिनेट जाँदा मिङ्माको एक्लो शरीर सगरमाथाको शिखरमा थियो । त्यसैको बिहान ६ बजेर ४५ मिनेट जाँदा लोत्सेको शिखरमा ।

यो वर्ष पनि सर्वोच्च शिखर सगरमाथामा पर्यटक लैजाने मिङ्माको काम छँदै थियो । १७ जनाको टिमको नेतृत्व गरेर उनी सगरमाथामा थिए । उनको टिमले चढ्न सक्नेलाई शिखरसम्म पुर्‍यायो र नसक्नेलाई उद्दार गरेर तल फर्कायो ।

जाने बेलामा नै उनले सोचेका थिए, सबै टिमलाई सफल आरोहण गराएर आफू चढ्छु । तर मौसमका कारण तल आउने, माथि जाने गरिरहनु पर्दा ढिला हुन पुग्यो । त्यसैले ‘क्याम्प फोर’ मा मात्रै तीन रात बस्नुपर्‍यो ।

जेठ ८ गते टिमका सबैको आरोहण सकाएपछि ९ गते शिखरमा जाने सोचमा मिङ्मा थिए । तर त्यही दिन अरु आरोहीको बचाउका लागि जानुपर्ने भयो र उनी ‘क्याम्प टु’ फर्किए । मौसम नमिल्दा रात त्यहीँ बसेर उनी ११ गते ‘क्याम्प फोर’मा पुगे ।

७ः४० मा ‘क्याम्प फोर’ बाट हिँडेका उनी १२ः४४ मा सगरमाथा शिखरमा पुगे । २० मिनेटजस्तो शिखरमै बसे । फोटो भिडियो खिचे । त्यसपछि लोत्सेका लागि तल झरे । सगरमाथा र लोत्सेको बाटो ‘क्याम्प थ्री’सम्म एउटै नै पर्छ । ‘क्याम्प थ्री’बाट सगरमाथा जाने र लोत्से जाने ठाउँ छुट्टीन्छ । सगरमाथाको चुचुरोदेखि लोत्सेको चुचुरोसम्म र सकेदेखि त्यहाँबाट मकालुको चुुचुरोसम्म सबैभन्दा छिटो पुग्न सकिन्छ कि भन्ने सोचमा थिए मिङ्मा ।

त्यसैले सगरमाथाबाट तल झरेर लोत्सेको लागि तयारी गरिहाले । पानी र अक्सिजन मिलाएर हिँडेका उनी बिहानको ६ः४५ मा लोत्सेको शिखरमा पुगे । आरोही निर्मल पुर्जा मगरले सगरमाथा शिखरदेखि लोत्सेको शिखरसम्म १० घण्टा १५ मिनेटमा बनाएको कीर्तिमान उनले तोडे ।

पाँचौ पटकको सगरमाथा आरोहणमा उनको अनुभव भिन्न बन्यो । एक त कीर्तिमानका लागि गरेको काम, अर्को रातको समयका एक्ला यात्री । लोत्सेबाट झरेर उनी दिउँसो ३ बजे सगरमाथा आधार शिबिरमा पुगे ।

मध्यरातको त्यो अनुभव

रातको पौने १ बजे सगरमाथाको शिखरमा एक्लै पुग्दा कस्तो अनुभव होला ? कति ठाउँमा डर, कति ठाउँमा उत्साह ।

मिङ्मा आरोहण गरेको दिन सगरमाथा चढ्न पाइने यो वर्षको अन्तिम दिन पनि थियो । उनीभन्दा पछि पनि अरु १० जना आरोही थिए, तर छिटो गर्नुपर्ने भएकाले मिङ्माले उनीहरुलाई कुरेनन् । ‘मौसम खराबीले गर्दा जेठ ११ गतेपछि अरु कोही चढेका थिएनन् । पुरानो बाटो हिँउले पुरिएकाले बाटो बनाउँदै जानुपर्ने थियो । ‘कति बाटो फोर्दै गएँ । फिक्स लाइन निकाल्न गाह्रो पनि भयो,’ काठमाडौंमा भेटिएका उनले भने ।

रातको समयमा मिङ्मालाई कतैकतै त डर पनि लाग्यो । हिँड्दा कसैले पछाडिबाट सुसेली हालेको जस्तो लागिरहेको थियो । उनलाई डर लाग्यो । भूतले तर्साएको हो कि भन्ने सम्झिए । पछाडि आफ्नै सामान बजिरहेको रहेछ भन्ने थाहा भएपछि उनी ढुक्क भए । एक्लै हुँदाका अनेक तर्कना मनमा आइ नै रहे पनि कीर्तिमानको उत्साहले उनलाई ऊर्जा मिलिरहेको थियो ।

मिङ्मालाई लाग्यो सगरमाथामा यो वर्ष गएका केही वर्षमा भन्दा हिउँ बढी नै परेको छ । उनले धेरै ठाउँमा पहिले देखिने ढुङ्गाहरु यस वर्ष हिउँले ढाकिएको देखे ।

‘हिलारी स्टेप र त्यो माथिको ठूलो ढुङ्गा पनि हिउँले छोपिएको थियो । त्यो त हरेक वर्ष भिन्न नै देखिन्छ । कतिले भूकम्प पछि हिलारी स्टेप भत्केर सम्म भयो भने, तर मलाई भने त्यस्तो लाग्दैन । हुन त सबैको अनुभव आ-आफ्नै हुन्छ । सबैले आफ्नै अनुभवका आधारमा बताउने नै हो,’ मिङ्माले अनुभव बताए ।

मकालुको आरोहण

सगरमाथा र लोत्से चढेर आधार शिबिरमा आएका मिङ्माको अबको यात्रा मकालुतिर थियो । तर मौसम खराब भएकाले समयमा हेलिकप्टर आउन सकेन । बेलुका मात्रै हेलिकप्टर आएपछि उनी ५ बजे मकालु बेसक्याम्प पुगे । त्यो रात बेसक्याम्पमा बसेका उनी बिहान ८ः३५ मा शिखरका लागि हिँडे ।

बेस क्याम्पबाट हिँडेको करिब २२ घण्टामा मिङ्मा मकालुको शिखरमा थिए । फरक यसपटक उनीसँगै अर्का दुई आरोही पनि थिए । त्यसैले सगरमाथा र लोत्सेमा जस्तो सेल्फी नभइ मकालुमा उनले राम्रै फोटो खिचाउन पाए ।

उनको जीपीएस ट्रयाकलाई हेर्दा जेठ १५ को बिहान ७ बजेर ९ मिनेट जाँदा मकालु शिखरमा पुगेको देखिन्छ । मिङ्मा त्यही दिन नै मकालुबाट झरेर तल ट्रेकिङ बेस क्याम्पसम्मै पुगेँ ।

३ दिनमा तीन वटा आठ हजार मिटर अग्ला हिमाल चढ्ने योजनामा मिङ्मा थिए । ‘निम्स दाइ (निर्मल पुर्जा मगर) ले ४८ घण्टामा नयाँ कीर्तिमान बनाएको मलाई थाहा थिएन । त्यसैले म मकालु बेसक्याम्पमा १७ घण्टा बसेँ । त्यो कीर्तिमान थाहा पाएको भए म ५ घण्टाभन्दा बढी बेसक्याम्पमा बस्दैन थिएँ,’ उनले भने ।

यसपटक मिङ्मालाई अनुभव भयो, अरुलाई लिएर जाँदा र आफैं चढ्न भनेर जाँदा एकदमै फरक पर्नेरहेछ । सगरमाथा र लोत्सेमा फोटो खिचिदिने साथीसमेत नहुँदा उनले आफूले आरोहण गराएका कति पर्यटकको फोटो खिचिदिएको सम्भिmए । अनि टाउकोमा राखेको लाइटलाई प्रयोग गरेर सेल्फी खिचे ।

‘आफूले गाइड गरेर अरुलाई लिएर जाँदा त मजाले फोटो खिचिदिने, कहाँ के गर्नुपर्छ भन्ने, सबै कुरा बताउँदै लैजाने गरिन्थ्यो । तर एक्लै जाँदा कसैको साहरा नै भएन,’ उनले भने ।

सगरमाथा सफा पार्न

मिङ्मालाई लाग्छ, सगरमाथामा फोहोर गत दुई वर्ष अघिभन्दा कम नै छ । आधार शिविर र क्याम्प टु को आसपास त राम्रैसँग सफा भएको छ ।

क्लाइम्बिङ गाइडहरुले आधार शिविर माथिबाट ८ किलो फोहोर ल्याएर बुझाउन पर्ने नियमले पनि सफाइमा सहयोग पुर्‍याएको उनलाई लाग्छ । झण्डै पाँच सय जना गाइडले ८ किलोको दरले फोहोर ल्याउँदा धेरै सफा भएकै पनि हो ।

सगरमाथामा बाहिरबाट फोहोर जाने होइन । त्यहाँ चढ्ने मान्छेले नै फोहोर गर्ने हुन् । मिङ्मा भन्छन्, सबैले विचार गर्ने हो भने फोहोर कम गर्न सकिन्छ । प्रोजेक्टको रुपमा केही सयम काम गर्ने मात्रै नभएर हरेक पटक विचार गर्नुपर्छ । जति माथि हुँदै गयो, उति सफाइमा समस्या हुँदै जान्छ । प्रयोग भइसकेका सामानको व्यवस्थापनमा ध्यान दिनु पर्छ ।’

‘सबैले माथिदेखि नै निश्चित फोहोर ल्याउनुपर्ने र त्यसको केही रकम पनि दिने गरियो भने अझ सफा बनाउन सकिएला कि,’ उनले भने, ‘उदाहरणका लागि आफूले प्रयोग गर्ने ब्याट्रीको खोल तल नै व्यवस्थापन गरेर माथि जान सकिन्छ । त्यतिका मान्छेले ब्याट्री मात्रै परिवर्तन गर्दा पनि सयौँ खोलहरु छरिन्छन् ।’

अहिले पाकिस्तानमा

मिङ्मा अहिले पाकिस्तानमा छन् । त्यहाँ के टु, ब्रोडपिक, जि वान र जि टु गरी चार हिमाल चढ्ने उनको योजना छ । यी सबै हिमाल एउटै रेञ्जमा छन् ।

मिङ्माले यसभन्दा अघि पनि विश्वको दोस्रो अग्लो शिखर माउन्ट के टु दुईपटक चढिसकेका छन् । त्यसैले अब केही नयाँ कीर्तिमान बनाउन सक्छु कि जस्तो लागेको छ । अहिले गरेको कामले खुशी भएका उनी पाकिस्तानमा पनि केही कीर्तिमान बनाउन सके देशलाई चिनाउन केही गरेँ भन्ने गर्व हुने सुनाउँछन् । उनको मनमा के टुमा एकै सिजनमा दुई पटक चढ्न सकिन्छ कि भन्ने पनि छ । मिङ्माको हिमालप्रतिको श्रद्धा र आरोहणप्रति आत्मविश्वास हेर्दा लाग्छ, पाकिस्तानमा केही गर्ने छन् ।

Leave a Reply

Your email address will not be published.