स्वास्थ्यकर्मीलगायतका यात्रु चढेको बस रामेछापमा दुर्घटना हुँदा २ जनाको मृत्यु,१५ जना घाइते

ताजा समाचार

काठमाडौं, ३१ जेठ । स्वास्थ्यकर्मीलगायतका यात्रु चढेको बस रामेछापमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १५ जना घाइते छन् । कोशिपारी यातायातको बा २ ख ७२४२ नम्बरको बस बिहीबार राति रामेछापको दोरम्बा–६, भष्मेडाँडामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा दोरम्बा–६ का हरिबहादुर कार्की र उद्धव गौतमको ज्यान गएको रामेछापका डीएसपी सन्तोषकुमार भट्टराईले पुष्टि गरे ।

उनीहरुको धुलीखेलस्थित अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । डीएसपी भट्टराईका अनुसार, दुर्घटनामा १५ जना घाइते भएका छन् । उनीहरु सबैको अहिले धुलीखेलस्थित अस्पतालमा उपचार भइरहेको छ ।

बसमा स्वास्थ्य शिविर सञ्चालनका लागि आएका चिकित्सकको टोली चढेको बताइए पनि को–को घाइते छन् भन्ने नखुलेको डीएसपी भट्टराईले जानकारी दिए । ‘बसमा औषधिसहितको स्वास्थ्यकर्मी चढेको पाइएको छ ।

तर, को–को चढ्नु भएको थियो भन्ने अहिलेसम्म खुलेको छैन, यसबारे हामी खोजखबर गरिरहेका छौं ’, डीएसपी भट्टराईले अनलाइनखबरसँग भने । चिकित्सकको टोली भोलि र पर्सि हुने स्वास्थ्य शिविरमा सहभागी हुन त्यसतर्फ गएका थिए । बस सडकबाट करिब ५ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन । प्रहरीका अनुसार, बसका चालक र सहचालक बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको डीएसपी भट्टराईले बताए ।

यो पनि हेर्नुहोस्ः मकवानपुरमा सुख्खा पहिरोमा पुरिएर २ जनाको मृत्यु ‍- मकवानपुरको विकट राक्सिराङ गाउँपालिका-८ टोड्केमा पहरा खनेर सडक निर्माण गर्ने क्रममा सुख्खा पहिरो खस्दा पुरिएर दुईजनाको मृत्यु भएको छ ।

एक्साभेटरले सडक खन्ने क्रममा माथिबाट पहिरो खस्दा दुईजनाको मृत्यु भएको हो । चितवन शक्तिखोरका २३ वर्षीय सुदीप श्रेष्ठ र धादिङका १७ वर्षीय रोशन बुढाथोकीको पहिरोमा पुरिएर मृत्यु भएको मकवानपुर प्रहरीले पुष्टि गरेको छ ।

मृतक दुबैजना स्काभेटर (डोजर) का सहयोगी हुन् । डोजरका चालक भने भागेर जोगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । पहिरोले पुरिएकाहरुको शव स्थानीय र प्रहरीले निकालेको छन् । अनलाईन खबरवाट साभार

Leave a Reply

Your email address will not be published.