रेनु दाहाल आफै जमानत बसेर अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अस्थायी बारमा डोजर लगाएर भत्काएको आरोपमा पक्राउ परेका थप चार जना रिहा गरेकी छिन्

ताजा समाचार

चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अस्थायी बारमा डोजर लगाएर भत्काएको आरोपमा पक्राउ परेका थप चार जना रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार १०ः ३० बजे मुख्य आरोपितका रूपमा चर्चामा आएका प्रकाश कँडेल, भैरव बास्ताकोटी, सुरेन्द्र बिक र धुव्र चापागाई रिहा गरेको हो ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल आफै जमानत बसेर उनिहरुलाई रिहा गराउनुभएको हो । यसअघि पक्राउ परेका १८ जनामध्य यसअघि १४ जनालाई हाजिरी जमानीमा छाडिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक दानवहादुर मल्लले पक्राउ परेका सबैलाई हाजिरी जमानीमा छाडिएको बताउनुभयो । चारै जनालाई १२ दिनसम्म दैनिक हाजिरी जमानीमा छाडिएको उहाँले जानकारी दिनुभयो । घटना घटाउने पक्षले क्षमायाचना गर्ने र भत्काएको बार पुनःनिर्माण गर्ने विषयमा सहमति जनाएपछि रंगशाला निर्माणमा थप वातावरण बनाउन रिहा गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

रिहा भए लगत्तैपक्राउ परेका चारै जनाले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै जेठ १५ गते विहान डोजर लगाएर बार भत्काउने कार्यप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गरेका छन् । उनीहरुले भत्काएको पश्चिम तर्फको बारलाई तत्काल यथास्थानमा पुनःनिर्माण गर्ने विज्ञप्तीमा उल्लेख गरेका छन् ।

रंगशालाको बार भत्काएपछि धुर्मुस सुन्तली फाउण्डेशनले काम रोकेको छ । कर्मचारी कामदारको जीउ ज्यान र भौतिक सम्पत्तिको सुरक्षामा खतरा र गम्भीर परस्थिति सृजना भइ काम गर्ने वातावरण नभएको भन्दै धुर्मुश सुन्तली फाउण्डेशनले काम स्थगनको घोषणा गरेको थियो ।

निर्माणाधिन रंगशालाका पश्चिम सीमाका स्थानीयले बाटो चौडा बनाउन जग्गा माग गर्दै फाउण्डेशनले लगाएको जस्ताको बारमा डोजर लगाएर भत्काएका थिए । घटनाको चौतर्फी बिरोध भएको थियो ।

Leave a Reply

Your email address will not be published.