Categories
ताजा समाचार

विप्लवले आह्वान गरेको बन्दले काठमाडौं उपत्यकाको जनजीवन प्रभावित

१३ जेठ, काठमाडौं । विप्लवले आह्वान गरेको बन्दले काठमाडौं उपत्यकाको जनजीवन प्रभावित भएको छ ।

बन्दको पहिलो प्रभाव उपत्यकाको सवारी आवागमनमा परेको छ । विप्लवको निशानामा पर्ने डरले अन्य दिनभन्दा आज निकै कम सवारी चलेका छन् । चक्रपथ क्षेत्रमा तुलनात्मक रुपमा केही बढी गाडी चले पनि काठमाडौं, ललितपुरका भित्री भागमा कम मात्रामा सवारी गुडेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, उपत्यकाको सवारी आवागमन सोमबार बिहानैदेखि केही प्रभावित भएको छ । सडकमा सवारी गुडिरहेका भए पनि अन्य दिनभन्दा आज बिहानैदेखि कम सवारी चलेको महाशाखाको भनाइ छ ।

काठमाडौंबाट उपत्यका बाहिर जाने सवारी साधन पनि बन्दको मारमा परेका छन् । महाशाखाका अनुसार, उपत्यकाका नाकाबाट कुनै पनि सवारी साधन बाहिरिएका छैनन् ।

निर्वाध रुपमा सवारी नचल्दा सार्वजनिक यातायातको भर पर्दै आएका यात्रुहरु बिहानैदेखि मारमा परेका छन् । गन्तव्यमा पुग्न यात्रुहरु कोचिएर तथा झुन्डिएर यात्रा गरिरहेको दृश्य उपत्यकामा देखिन्छ ।

सामान्य अवस्थामा काठमाडौं उपत्यकाका ट्राफिक प्रहरीहरु निकै व्यस्त हुन्छन् । ट्राफिक व्यवस्थापन गर्न खटिएका ट्राफिक प्रहरीहरुलाई ‘पिक आवर’मा त झन् हम्मेहम्मे नै पर्छ । तर, आजको दृश्य फरक छ ।

अन्य दिन व्यस्त हुने ट्राफिक प्रहरी आज फुर्सदिला देखिन्छन् ।
बन्दको असर उपत्यकाका शैक्षिक संस्थाहरुमा पनि परेको छ । कलेजहरुका कक्षाहरु भएका छैनन् भने विद्यालयहरुले पनि बालबालिकालाई विद्यालय नपठाउन अभिभावकहरुलाई सूचित गरेका छन् ।

भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थ घिमिरेको प्रहरी गोलीबाट मृत्यु भएको विरोधमा प्रतिबन्धित विप्लवले सोमबार बन्द आह्वान गरेको हो । बन्दको पूर्वसन्ध्यामा उपत्यकाका विभिन्न स्थानमा बम विस्फोट भएपछि उपत्यकाको जनजीवन त्रसित छ ।

Leave a Reply

Your email address will not be published.