Categories
राजनीतिक

राष्ट्रियसभामा नयाँ सदस्यको कार्यकाल ६ वर्ष

काठमाडौं । राष्ट्रिय सभामा यही फागुन २० गतेबाट १९ सदस्यको कार्यकाल सकिँदैछ । निर्वाचन आयोगले रिक्त हुने स्थानमा पदपूर्तिका लागि निर्वाचनको प्रक्रिया अघि बढाइसकेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार राष्ट्रियसभाका लागि उमेदवार टुंगो लगाएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने एकबाहेक १८ मध्ये दुई स्थानमा नेकपाल राष्ट्रिय जनता पार्टीसँग तालमेल गर्ने सहमति गरिसकेको छ । माघ ९ गते राष्ट्रियसभा निर्वाचन हुँदैछ ।

अब राष्ट्रिय सभामा आउने १९ सांसदको कार्यकाल ६ वर्षको हुनेछ । पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षको हुने गरी पदावधि कायम गरिएको थियो । जसअनुसार पहिलो दुई वर्षे कार्यकाल फागुन २० मा सकिँदैछ ।

संविधानकोे धारा ८६ मा राष्ट्रिसभा गठनसम्बन्धी व्यवस्था छ । जसमा ‘राष्ट्रिय सभाका सदस्यहरूको पदावधि छ वर्षको हुनेछ । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने,’ व्यवस्था छ । संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले अब आउने राष्ट्रिय सभा सदस्यहरुको कार्यकाल ६ वर्षकै हुने बताए । “अबको दुई वर्षपछि अहिले चार वर्ष कार्यकाल भएका सदस्यहरु विदा हुनेछन् । त्यसमा फेरि दुई वर्षपछि अरु २० जना सदस्यको निर्वाचन हुन्छ । ६ वर्ष पुगेर सदस्यहरु विदा हुँदै गर्दा आउने सदस्यको कार्यकाल पनि पाँच वर्ष नै हुन्छ,” उनले भने ।

प्रत्येक दुई वर्षमा एकतिहाइ सदस्यको पद रिक्त हुने र सोही पदमा निर्वाचित भएर आउने संवैधानिक व्यवस्था छ । पहिलो दुई वर्षमा १९ जना सदस्यहरु विदा हुनेछन् भने दोस्रो चार वर्षमा २० र तेस्रो ६ वर्षमा अरु २० सांसद विदा हुनेछन् । राष्ट्रियसभा ५९ सदस्यीय छ ।

राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यकको प्रतिनिधित्व हुने गरी ८-८ जनाको दरले निर्वाचक मण्डलबाट एकल संक्रमणीय प्रणालीबाट निर्वाचित ५६ र मन्त्रिपरिषद्बाट मनोनित तीन गरी राष्ट्रिय सभा ५९ सदस्यीय बनेको थियो । संविधान जारी भएपछिको पहिलो पटक गठन भएको राष्ट्रिय सभाका सदस्यको हकमा गोलाप्रथाबाट दुई वर्ष, चार वर्ष र छ वर्ष पदावधि निधारण गरिएको थियो । तर, अब आउने सदस्यको कार्यकाल भने पूरा अर्थात ६ वर्षकै हुनेछ ।

अर्थमन्त्री खतिवडा रहनसक्छन् !

डा. युवराज खतिवडा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभा सदस्य बनेका हुन । मन्त्रिपरिषद्ले तीनजना सदस्य सिफारिस गरेको थियो । जसमा खतिवडाको कार्यकाल गोलाप्रथाबाट दुई वर्ष, रामनारायण बिँडारीको चार वर्ष र विमला राई पौडेलको ६ वर्ष परेको थियो । जसअनुसार खतिवडाको कार्यकाल फागुन २० मा सकिँदैछ । उनी मन्त्रिपरिषद्को सिफारिसमा आएकाले उनको कार्यकाल पछि रिक्त हुने ठाउँमा पनि मन्त्रिपरिषद्कै सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति हुनेछ ।

मन्त्रिपरिषद्ले एकै व्यक्तिलाई दोस्रो पटक सिफारिस गर्न संविधानले नछेक्ने संसद सचिवालयका सहप्रवक्ता धमलाले बताए । “मन्त्रिपरिषद्ले दोहोर्‍याएर एउटै व्यक्तिलाई सिफारिस गर्न सक्छ,” सहप्रवक्ता धमलाले भने ,“त्यो मन्त्रिपरिषद्को निर्णयमा भर पर्छ । उसले दोहोर्‍याएर सिफारिस गर्न सक्दैन भन्ने व्यवस्था छैन ।”

मन्त्रिपरिषद्ले पुनः सिफारिस गरेमा खतिवडाको कार्यकाल पुनः थपिन सक्छ । राष्ट्रिय सभा सदस्यको कार्यकाल थपिएमा उनी अर्थमन्त्रीमै रहनसक्छन् ।
जो राष्ट्रिसभाबाट विदा हुँदैछन् ।

दुई वर्षे कार्यकाल सकेर राष्ट्रियसभाबाट विदा हुनेमा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु धेरै छन् । नेकपाका नौ, कांग्रेसका सात, राष्ट्रिय जनता पार्टीका दुई र समाजवादी पार्टीका एकजना सदस्यको कार्यकाल यही फागुन २० मा सकिँदैछ ।

सांसदहरु सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रित पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङको कार्यकाल सकिँदैछ ।

त्यस्तै, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली पनि राष्ट्रियसभाबाट विदा हुँदैछन् ।

२० सांसद चार वर्ष राष्ट्रिय सभामा रहने

राष्ट्रियसभामा अर्को दुई वर्ष कार्यकाल रहेका २० जना सांसद छन् । दुई वर्ष कार्यकाल पूरा गरेका उनीहरु अझै दुई वर्ष राष्ट्रिय सभामा रहनेछन् । सांसदहरु परशुराम मेघी गुरुङ, सुमनराज प्याकुरेल, राधेश्याम अधिकारी, दीनानाथ शर्मा, चन्द्रबहादु खड्का, खगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, रामनारायण बिडारी, नैनकला ओझा, शशिकला दाहालको कार्यकाल चार वर्ष छ ।

त्यस्तै, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, कोमल ओली, कविता बोगटी, तारादेवी भट्ट, खिमकुमार विक, चक्र स्नेही, रामलखन चमार, जीवन बुढा र अगम वान्तवा राई पनि थप दुई वर्ष संसदमा रहनेछन् ।

को-को रहन्छन् पूरा कार्यकाल ?

गोलाप्रथा एकप्रकारले भाग्य चिठ्ठाजस्तै हो । गोला तान्दा जति पदावधि पर्छ, त्यती नै समयावधि राष्ट्रियसभामा रहने व्यवस्था छ । यसरी गोला तान्दा पूुरा कार्यकाल अर्थात ६ वर्ष नै सांसद बन्न पाउनेमा राष्ट्रिसभा अध्यक्ष गणेश तिमल्सिनासहित २० सांसद छन् ।

सांसदहरु रमेशजङ्ग रायमाझी, जितेन्द्रनारायण देव, रामबहादुर थापा, गणेशप्रसाद तिमिल्सिना, खिमलाल भट्टराई, भैरवसुन्दर श्रेष्ठ र हरिराम चौधरी, बिना पोखरेल, प्रमिलाकुमारी, दिलकुमारी रावल, दीपा गुरुङ, अनिता देवकोटाको कार्यकाल ६ वर्षकै छ ।

त्यस्तै, सांसद नन्दा चपाई, इन्दु कडरिया, नरपति लोहार, सिंहबहादुर विश्वकर्मा, प्रकाश पन्थ, महेशकुमार महरा, रामचन्द्र राई र विमला राई पौडेल पनि पूरा कार्यकाल राष्ट्रिय सभामा रहने भाग्यमानी हुन् ।

Leave a Reply

Your email address will not be published.