८ जेठ, नवलपरासी । पूर्वीनवलपरासीको देवचुली नगरपालिकामा गएराति असिना पानीसहित आएको हावाहुरीले दर्जनौं घरहरुमा क्षति पुर्याएको छ । यद्यपि, मानवीय क्षति भने भएको छैन ।
देवचुली नगरपालिकाकी उपप्रमुख पार्वती तिवारीले हावाहुरीबाट मानवीय क्षति नभए पनि घरहरुमा क्षति पुगेको जानकारी दिइन् । उनका अनुसार कतिपय घर बस्नै नमिल्ने गरी भत्किएका छन् ।
दर्जनौं घरमा क्षति पुगे पनि हुरीले पुर्याएको क्षतिको यकिन तथ्यांक आइनसकेको प्रहरीले जनाएकाे छ ।
उपप्रमुख तिवारीका अनुसार हुरीले ठाउँठाउँमा बिजुलीको पोल, रुख ढालिदिएको छ । यसले विद्यत् तथा सवारी आवागमन प्रभावित भएको छ । देवचुली आधारभूत विद्यालय र भीमसेन माविलगायत केही विद्यालयको छानो पनि हावाले उडाइदिएको छ ।
हुरीको असर ६, ७, ८, ९, ११, १२ र १४ वडामा परेको छ । तर, यीमध्ये सबैभन्दा बढी असर वडा नं. ७ मा परेको छ ।
हुरीसँगै आएको असिना पानीले किसानका तरकारीलगायतका बालीमा पनि नोक्सानी पुगेको छ ।