Categories
ताजा समाचार

उदयपुरमा ऐलानी जग्गा नाप्ने कार्य शुरु

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकाले आधुनिक मेसिनबाट ऐलानी जग्गाको नाप जाँच विवरण संकलन कार्यको सुरुवात गरेको छ। नगरपालिकाले मंगलबारदेखि औपचारिक कार्यक्रमको आयोजना गरी वडा नं. ६ देखि सो कार्यको थालनी गरेको हो।

नापचाँच गरी विवरण संकलनपछि उपभोग गर्नेलाई सो जग्गाको स्वमित्व दिने प्रक्रिया थाल्ने जनाएको छ। नगरवासीको प्रमुख समस्या, आवश्यकता र चाहना अनुरुप यस्तो कार्य थालनी गरिएको प्रमुख बलदेव चौधरीले बताए। नगर प्रमुख चौधरीका अनुसार वडा नं. ६ देखि थालिएको कार्यलाई १६ वटै वडामा विस्तार गरिने छ।

कामको प्रभावकारिता र पारदर्शिताका लागि ऐलानी जग्गाको विवरण संकलन तथा व्यवस्थापन निर्देशन समिति नै बनाइएको छ। नगरपालिका क्षेत्रमा करिब ६० प्रतिशत जग्गा ऐलानी, प्रति रहेको जनाउदै ऐलानी जग्गाको विवरण संकलनको उद्देश्यले उपभोगका आधारमा फारम भर्न निवेदन माग यस अघि गरिएकामा करिब १९ हजारले निवेदन दिएको प्रमुख चौधरीले बताए। प्रमुख चौधरीले वडा नं. ६ र वडा नं. १ देखि नाँप जाँचको काम थाल्ने र अन्य थप दुईवटा मेसिन किनेर सबै वडामा तीन महिनाभित्रमा नापजाँच गरी ऐलानी जग्गाको विवरण निकाल्ने कार्य गरिने बताए।

उनले विवरण संकलन लगत्तै नगरबासीलाई स्वामित्व दिने काममा नगरपालिका लाग्ने, ढिलोमा डेढ वर्ष भित्रमा नागरिकलाई स्वामित्व दिने काम पूरा गर्ने जानकारी दिए। प्रमुख चौधरीले भने, ‘अझै पनि प्रदेश र संघबाट नीति, निर्देशन र अधिकार प्राप्त गर्न आवश्यक छ। हामीले दृढताका साथ नगरबासीको आवश्यकता र चाहनाअनुरुप यो काम थालेका छौं।’ विवादरहीत बनाउन र आवश्यक परे संघ र प्रदेशमा जनमत देखाउन नगरबासीको सहयोग मागेको प्रमुख चौधरीले बताए। प्रमुख चौधरीले भने, ‘नगरबासीको पूर्ण सहयोग मिल्नेछ भन्नेमा म विश्वस्त छु।’ ऐलानी जग्गामा शदियौंदेखि जग्गाको चासभोग रहनुका साथै लाखौं खर्चेर घर बनिसकेका छन्।

तर स्वामित्वको सामान्य निस्सा प्रमाण भने नभएकाे स्थानीयको गुनासो छ। त्यस्तो ठाउँमा नगरपालिकाले बस्ती उठाउन पनि नसक्ने र राजस्व पनि उठाउन नसक्ने अवस्था यथावत छ। प्रमुखचौधरीले हाल ऐलानी जग्गाको विवरण संकलन गरी स्वामित्व दिने कामको प्रक्रिया थालिएको बताए।

Leave a Reply

Your email address will not be published.