Categories
ताजा समाचार

यातायातको प्रमुख माध्यम नै सडक पूर्वाधार हो : मन्त्री नेम्बाङ

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले सडक पूर्वाधार नै नेपालको प्रमुख यातायातको माध्यम भएको बताए। मंगलबार सडक बोर्ड नेपालको १७ औं बार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङले यस्तो बताएका हुन्।

नेम्वाङले नेपालमा सडक पूर्वाधार नै यातायातको प्रमुख माध्यम रहेकाले आम नागरिकसम्म पहुँच पुर्‍याउन सडक यातायातमै जोड दिने बताए। उनले भने, ‘देशका सवै भूभागमा सुविधायुक्त सडक निर्माणमा मन्त्रालय र अन्तर्गतका सबै निकायहरू क्रियाशील छन्।’ मन्त्री नेम्बाङले सडक निर्माण तथा मर्मत सम्भार कार्यमा राज्यका सबै तहको समान जिम्मेवारी रहेको समेत बताए।

‘केन्द्रीय स्तरको रणनीतिक सडकको निर्माण एवं मर्मत संभारसम्बन्धी कार्य सडक विभागबाट गरिँदै आएको छ’, उनले भने, ‘प्रदेश तथा स्थानीय स्तरका सडक निर्माण तथा मर्मत सम्भार सम्बन्धित प्रदेश र स्थानीय तहबाट गरिने हुँदा मुलुकले ठूलो धनराशी लगानी गरी निर्माण गरेको सडक पूर्वाधारको अनुगमन, नियमन स्थानीय सरकारले पनि गर्नुपर्छ।

सरकारले उत्तर तथा दक्षिण सीमापार सडकको विस्तार गर्ने कार्यलाई जोड दिएको उल्लेख गर्दै मेची, कोशी, गण्डकी र कर्णाली करिडोर जस्ता सडक निर्माणलाई उच्च प्राथमिकतामा राखेको नेम्वाङको भनाई छ। मन्त्री नेम्वाङले भने, ‘निर्माण सम्पन्न भएका र अहिले निर्माणाधीन सडकको निरन्तर मर्मत सम्भार एवं सम्वर्द्धन आवश्यक देखिएको छ। निर्माण गर्ने बेलामा देखिएका कमी कमजोरीलाई योजनाबद्ध रुपमा निराकरण गर्नुपर्छ।

उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले नेपालको भौगोलिक संरचनाले धेरै सडकको माग गर्ने बताए। ‘नेपालमा यातायातको मूल साधन सडकलाई नै बनाउनुपर्ने देखिन्छ’, कँडेलले भने,‘राष्ट्रिय योजना आयोगमा माग भएका योजनाहरू मध्ये ८० प्रतिशत भौतिक पूर्वाधारका छन्। त्यसमा पनि सडक बढी हुने गरेको छ।’ उपाध्यक्ष कँडेलले ठूला राजमार्ग र उपत्यकाका सडकमा बढी समस्या हुने गरेकाले मर्मत सम्भार पनि गर्दै आएको उनको भनाई थियो।

Leave a Reply

Your email address will not be published.