Categories
ताजा समाचार

‘पर्यटक संख्या प्राथमिक होइन, नेपाललाई खर्चालु पर्यटक चाहिन्छ’-पर्यटन बोर्डको कार्यकारी अधिकृत दीपकराज जोशी

१३ पुस, काठमाडौं । हामी नेपाल भ्रमण वर्ष २०२० को संघारमा छौं । २० लाख पर्यटन भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्ष सुरु गर्दा दीपकराज जोशी, नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सीईओ) थिए । भ्रमण वर्षको औपचारिक उदघाटनको केही दिन पहिले चार वर्षे कार्यकाल पूरा गरेर विदा भए ।

समग्रमा नेपाल भ्रमण वर्षको तयारी कस्तो छ, कहाँ चुक्यौं, कहाँ राम्रो भयो ? साच्चै २० लाख पर्यटक भित्र्याउन सम्भव छ ? हामीलाई पर्यटकको संख्या मात्र चाहिएको हो कि खर्चालु पर्यटक पनि ? यस्तै सवालमा पर्यटन बोर्डका निवर्तमान सीईओ जोशीसँग अनलाइनखबरकर्मी अच्युत पुरीले कुराकानी गरेका छन् ।

नेपाल भ्रमण वर्ष २०२० को तयारीमा शुरुदेखि नै लाग्नु भयो । कसरी आएको हो भ्रमण वर्ष मनाउने सोच ?

भ्रमण वर्षको तयारीको सिलसिला खोज्दै जाँदा सन् २०१५ मा पुग्नु पर्छ । त्यसबेला भूकम्पका कारण नेपाल संकटमा थियो । यो संकटबाट हामी केही हदसम्म सम्हालिएपछि सन् २०१८ मा भ्रमण वर्ष मनाउने गरी मन्त्रिपरिषदबाट कार्यविधि पास भयो र सोहीअनुसार घोषणा भएको हो । भूकम्प, सीमा नाकामा भएको अवरोध, राजनीतिक अस्थिरताका बीचमा सन् २०१८ त्यति उपयुक्त हुँदैन कि भन्ने निष्कर्षमा हामी पुग्यौं । सन् २०१७ मा बजेट भाषणबाटै सन् २०२० लाख वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित भ्रमण वर्ष मनाउने घोषणा भयो । त्यसपछि यसले गति लिएको हो ।

भ्रमण वर्षका लागि करिब पाँच वर्षको तयारीको समय थियो, अन्तिम समयसम्म पनि चटारो उस्तै छ, तयारीमा कमजोरी देखिएको हो ?

विविध कारणले भ्रमण वर्षका लागि कार्यक्रम संयोजक नियुक्तिमा अलिकति समय लाग्यो । पछिल्लो सवा एक वर्षयता मात्र भ्रमण वर्षले कार्यक्रम संयोजक पाएको हो । त्यतिबेला यो कार्यक्रमलाई तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले निकै महत्व दिएर अगाडि बढाउनु भएको थियो । उहाँको कार्यकालमै पहिलो मूल आयोजक समितिको बैठक बस्यो । पर्यटन बोर्ड सदस्य सचिवको भूमिकामा रहेको छ । सोही बैठकले भ्रमण वर्षको नारा र लोगो तयार पार्न प्रस्ताव आह्वान भयो । ‘लाइफ टाइम एक्स्पेरियन्स’ नारा तय गरी लोगो पनि छान्यौं । अहिले भने तीव्रताका साथ कार्यक्रम अगाडि बढेका छन् ।

Image result for दीपकराज जोशी  नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सीईओ)"

भ्रमण वर्षको उद्देश्य र औचित्यलाई तपाईं कसरी पुष्टि गर्नुहुन्छ ?

भ्रमण वर्षलाई मुख्यतया चार भागमा ध्यान केन्द्रित गरेर अगाडि बढाइएको हो । नेपाललाई अन्तर्राष्ट्रिय जगतमा आकर्षक गन्तव्यका रुपमा स्थापित गराउने काम यस अभियानका दौरान हुनेछन् । आन्तरिक रुपमा पर्यटन प्रवर्द्धन गर्ने र मुलुकभित्र पर्यटन क्षेत्रका सम्बन्धमा जनचेतना अभिवृद्धिमा समेत यो अभियान महत्वपूर्ण हुनेछ । पर्यटनको महत्व र बुझाइलाई जनस्तरमा समेत बुझाउन प्रयास हुनेछ । केही प्याकेज ल्याउने, छुट र सहुलियत दिने गरी कार्यक्रम अगाडि बढेको छ । अर्कोतर्फ सबैभन्दा चूनौतिपूर्ण र कठिन अवस्था आधारभूत आवश्यकताको हो । पूर्वाधारको विद्यमान अवस्थामा केही न केही सुधार गर्ने योजना छ । यी चार वटा क्षेत्रमा केन्द्रित रहेर भ्रमण वर्षको तयारी गरिएको हो ।

प्रवर्द्धनमा निकै राम्रो तयारी हामीले गरेका छौं । पछिल्लो एक वर्षमा विजनेश टु विजनेश प्रवर्द्धन, लक्षित समूहसम्म पुगेर हुने प्रवर्द्धनमा बढी कार्यक्रम केन्द्रित गरिएको छ । विश्वका ४० वटा स्रोत बजारमा नेपालका पर्यटनसँग आवद्ध साढे तीन सयभन्दा बढी कम्पनीका मानिसलाई सम्बन्धित मुलुकका पर्यटन व्यवसायीसँग जोड्ने गरी काम भएको छ । अर्कोतर्फ सीधै उपभोक्तासम्म प्रवर्द्धन पुर्‍याउने गरी लण्डनमा बस ब्राण्डिङदेखि लिएर चीनको सिटि्रप र भारतको ओला क्यापसँगको सहकार्य यही उद्देश्यबाट अगाडि बढेका हुन् ।

Image result for दीपकराज जोशी  नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सीईओ)"

पछिल्लो एक वर्षमा करिब ३ सयभन्दा बढी विदेशी पत्रकार, ब्लगर्स, सेलिब्रेटी तथा आफ्नो मुलुकमा कुनै न कुनै प्रभाव पार्न सक्ने व्यक्तिहरुलाई नेपालमा भ्रमण गराएका छौं । यसरी विभिन्न माध्यमबाट प्रवर्द्धनको काम अगाडि बढेको छ । जनचेतनामा पनि विभिन्न कोणबाट काम भइरहेका छन् । प्याकेजका हिसाबले होटेल संघ नेपाल, टान, नाट्टा, होमस्टे एशोसिएशन जस्ता संघ-संस्थाले अग्रसरता देखाएका छन् । सरकारी स्तरबाट पनि छिट्टै एक प्याकेज घोषणाको तयारी भइरहेको छ ।

सन् २०१८ बाट २०२० मा भ्रमण वर्षको समय सार्दै गर्दा सरकारले भनेको थियो, त्यतिन्जेल पर्यटकीय पूर्वाधार बनिसक्छन्, मुलुकभित्र व्यापक तयारी हुन्छ र मुलुक २० लाख पर्यटक भित्राउन सक्षम हुन्छ, तपाईंलाई लाग्छ, मुलुक त्यो हिसाबले तयारी अवस्थामा छ ?

मुलुक र गन्तव्य भ्रमणको दृष्टिकोणबाट सन् २०२० पक्कै पनि एक उपयुक्त समय हो । हामीले अन्य क्षेत्रमा यो बीचमा धेरै सुधार गर्न सक्यौं, तर पूर्वाधारमा भने अपेक्षाअनुसार काम भएनन् । पछिल्लो एक वर्षयता भने आशलाग्दो ढंगले केही काम अगाडि बढेको पाइन्छ । खासगरी त्रिभुवन विमानस्थलको धावनमार्ग जिर्णोद्धारको काम सकिएको छ । अब त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालनका लागि योग्य बनेको छ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थल सन् २०१९ को सेप्टेम्बरमै सञ्चालनमा आइसक्छ भनिएको थियो, त्यसमा केही ढिला भएको छ ।

तर २०२० को पहिलो त्रैमासिकभित्र सञ्चालनमा आउन सक्यो भने पनि त्यो भ्रमण वर्षका लागि निकै महत्वपूर्ण सावित हुने छ । अन्य तयारीका काम त हामी सन्तोषजनक अवस्थामा छौं । पछिल्लो समय मन्त्रीज्यूले नयाँ अवधारणा सार्वजनिक गर्नु भएको छ, २०२० लाई आधार वर्ष मानेर २०३० सम्म ‘भ्रमण दशक’ मनाउनुपर्छ । यो यस मानेमा महत्वपूर्ण छ कि नेपाललाई यदि कुनै क्षेत्रले छिटो समृद्ध बनाउन सक्छ भने त्यो पर्यटन नै हो । तर विगतमा सतही रुपमा यस क्षेत्रलाई प्राथमिकता दिएको भनिए पनि त्यति धेरै महत्व पाइसकेको छैन । त्यसकारण आगामी दशकलाई नै भ्रमण दशकका रुपमा मनाउँदा त्यसले मुलुकमा पर्यटनले पाएको महत्व दर्शाउने छ । हरेक वर्ष पर्यटक आकर्षित गर्ने कार्यक्रम ल्याउन सक्छौं ।

सन् २०१९ को तथ्यांकलाई आधार मान्ने हो भने मासिक पर्यटक आगमन औसत ९० हजार रहेको छ । यसअनुसार अझै पनि वार्षिक १२ लाख पर्यटक भित्राउन धौधौ छ । सन् २०२० मै आगमन २० लाख कसरी पुग्छ ? संख्यात्मक रुपमा पर्यटक २० लाख भित्राउने रणनीति के हो ?

सन् २०२० मा २० लाख पर्यटक आगमनको लक्ष्य राखिरहँदा तीन वटा आधारलाई केन्द्रमा राखिएको थियो । सन् २०१८ मा २५ प्रतिशतको वृद्धि थियो । सन् २०२० मा २० लाख पर्यटक भित्राउन सन् २०१९ मा करिब ३०/३१ प्रतिशत र २०२० मा ३१ प्रतिशतको वृद्धि हामीलाई चाहिएको थियो । यो लक्ष्य खासगरी हवाई पूर्वाधारमा बढी केन्द्रित थियो । आगमन संख्याका हिसाबले सन् २०१९ उत्साहजनक छैन । यसो हुनुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब वर्षभर नै औसत ७/८ घण्टा बन्द भयो, मर्मतका कारण ।

हामीलाई मुलुकको आयस्रोत बढाउन, रोजगारीका अवसर सिर्जना गर्न नै धेरै पर्यटक चाहिएको हो । त्यसकारण हाम्रो पहिलो प्राथमिकता संख्याभन्दा राजश्व नै हो

अर्कोतर्फ एकदमै राम्रो संख्यामा पर्यटक बोकिरहेको जेट एयर बन्द यसै वर्ष भयो । जेट एयर केवल भारतीय पर्यटक मात्र नभई तेस्रो मुलुकमा पर्यटक बोक्नेमा समेत पहिलो नम्बरमा आउने कम्पनी थियो । त्यसको विकल्पमा अरु वायुसेवा कम्पनी आउन नसक्दा अन्ततः पर्यटक आगमनमा असर पुगेको हो । अब हामीले आशा गर्ने सन् २०२० लाई हो । यस वर्ष हामीलाई कम्तीमा ४० प्रतिशतभन्दा माथिको वृद्धिदर आवश्यक छ । त्यसका लागि कम्तिमा १६-२० वटा नयाँ उडान दैनिक नेपालमा थपिनुपर्छ । करिब १० वटा उडान काठमाडौंमा थपिन सक्ने सम्भावना देखिएको छ । भैरहवाको विमानस्थल छिट्टै सम्पन्न भएर त्यहाँबाट पनि नयाँ-नयाँ एयरलाइन्सले उडान थाल्ने वातावरण निर्माण भएमा २० लाखको लक्ष्य पुग्न सक्छ भन्नेमा हामी ढुक्क छौं ।

दोस्रो रणनीति, व्यापक प्रचार-प्रसार नै हो । संसारभर नै नेपाल प्रवर्द्धनमा व्यापकता दिएका छौं । यस वर्ष हामीले नेपाली डायस्पोरालाई बढीभन्दा बढी सहभागी गराउँदैछौं । गैरआवासीय नेपालीको सञ्जाल विश्वका ८० भन्दा बढी मुलुकमा फैलिएको छ । कूटनीतिक नियोग र दूतावासलाई समेत यस वर्ष मुख्य ध्यान पर्यटक नेपाल पठाउनमा लगाउन आग्रह गरिएको छ । उहाँहरुसमेत निकै सक्रिय हुनु भएको छ ।

प्रवर्द्धनका सिलसिलामा हामीले नयाँ-नयाँ शैलीलाई समेत अंगिकार गरेका छौं । विगतमा सेलिब्रेटीका माध्यमबाट हुने प्रचार प्रसारलाई त्यति महत्व दिइदैनथ्यो । अहिले त्यसमा बढी जोड दिइएको छ । डिजिटल प्लेटफर्ममा हामी विगतमा निकै कमजोर अवस्थामा थियौं, अहिले त्यसमा ठूलो सुधार गरेका छौं । सामाजिक सञ्जालदेखि लिएर अनलाइनमाध्यममा हाम्रो बलियो उपस्थिति छ ।

तेस्रो रणनीति, ‘नयाँ मार्केट-नयाँ सन्देश’ रहेको छ । मुलुकभित्रका विविध सिमितताका बीचमा पनि हामीले पर्यटक आगमन बढाउनु पर्ने छ । नेपालको पर्यटन मौसममा आधारित पर्यटन हो । अक्टोबर-नोभेम्बरमा पदयात्री आउने, अप्रिल-मेमा पर्वतारोही आउने, बाँकी मौसम भने कम पर्यटक आएर सबै क्षेत्र सिथिल रहनु पर्ने अवस्था थियो । अब समर, मनसुन र विन्टर गरी तीन वटा मौसमलाई केन्द्रित गरी छुट्टाछुट्टै स्रोत बजारमा प्रवर्द्धनका कार्यक्रम केन्द्रित गर्दै लगेका छौं ।

समरमा दक्षिण एसिया (बंगलादेश-भारतलगायत) बजारमा केन्द्रित भएका छौं । किनकी अधिक गर्मी हुने समयमा नेपालको चिसो हावापानीले उहाँहरुलाई आकर्षित गर्न सक्छ । अर्कोतर्फ मध्यपूर्वी एसियाली मुलुकबाट सम्भावना भएर पनि हामीले पर्यटक ल्याउन सकेका छैनौं । किनकी हवाई सञ्जालको दृष्टिकोणबाट मध्यपूर्वी एसियाली मुलुक सबैभन्दा सहज मुलुक हुन् । पाकिस्तानको ठूलो जनसंख्या अहिले मध्यपूर्वी देशमा गएर बसेको छ ।

धनाड्य भारतीय वर्ग पनि ती मुलुकमा पुगेको छ । तेस्रो मुलुकमा मानिस पनि उत्तिकै रहेका छन् । हाम्रो प्रवर्द्धन ती मुलुकमा केन्द्रित भएको छ । भैरहवामा अन्त्राष्ट्रिय विमानस्थल सञ्चालन भइसकेपछि केही बुद्धिष्ट मुलुकहरुबाट पर्यटक आगमन बढ्ने अपेक्षा छ । सोहीअनुसार भियतनाम, कम्बोडिया, म्यानमारजस्ता देशमा समेत कार्यक्रम पुगेका छन् । हवाई सञ्जालको बिस्तारसँगै जापान, कोरिया र चीनबाट पनि थप पर्यटक नेपाल आउने पक्का छ । त्यहाँ पनि प्रवर्द्धनका कार्यक्रम बढेका छन् । त्यसैले नेपाल जस्तो गन्तब्यका लागि २० लाख पर्यटक ठूलो संख्या होइन, हामी ल्याउन सक्छौं ।

संख्यालाई मानक बनाइरहँदा हाम्रो आवश्यकता गुणस्तरीय पर्यटक कि धेरै पर्यटक भन्ने प्रश्न उठ्छ, गुणस्तरीय पर्यटक ल्याउने खालको छुट्टै रणनीति के छ ?

पर्यटकको संख्यामात्र बढाउनु भनेको कुनै पनि देशका लागि थप जनसंख्या बढाउनु मात्र हो । त्यो त भार मात्र हो । हामीलाई मुलुकको आयस्रोत बढाउन, रोजगारीका अवसर सिर्जना गर्न नै धेरै पर्यटक चाहिएको हो । त्यसकारण हाम्रो पहिलो प्राथमिकता संख्याभन्दा राजश्व नै हो ।

लक्ष्य निर्धारण गर्दा यति संख्याबाट यति राजस्व संकलन गर्छौं भनेर तोक्नु उचित हुन्थ्यो कि संख्या ?

भ्रमण वर्षको सन्दर्भमा इमान्दारीसाथ भन्दा विगतकै परम्परा पछ्याइएको हो । हाम्रा हरेक घोषणामा संख्यालाई नै पहिलो प्राथमिकता दिने प्रचलन रह्यो । संख्या वास्तवमा आन्तरिक रणनीति हो । तर हामीले नबुझेर हो कि संख्या नै मार्केटिङ स्लोगन जस्तै भएको छ । भ्रमण वर्ष भन्नासाथ ‘कति लाख पर्यटक ?’ भन्ने बुझिन्छ । वास्तवमा त्यसो होइन । २० लाख पर्यटक भित्राउछौं भन्नुको मतलव नै उनीहरुबाट यति राजश्व संकलन हुन्छ भन्ने नै हो । अहिले संख्या बढी प्रचारमा आएको छ, त्यो प्राथमिक विषय होइन, नेपाललाई खर्च गर्ने पर्यटक चाहिएको छ । र, यसमा काम पनि गरेका छौं ।

गुणस्तरीय पर्यटक भित्राउन दुई वटा पाटोमा कार्यक्रम केन्द्रित गरेका छौं । जहाँबाट अलि बढी पर्यटक आउँछन्, त्यहाँ बढी प्रवर्द्धन हुन्छ । जर्मन, जापानजस्ता मुलुक विगतमा बढी पर्यटक आउने भए पनि अहिले हामीले गुमाउँदै गएको स्रोत बजार हुन् । वार्षिक ३/४ लाख पर्यटक आउँदा मात्र पनि यी मुलुकबाट ३०-४० हजार पर्यटक नेपाल आउँथे, अहिले घटेर २० हजारमा पुगेको छ । यसमा पछिल्लो समय प्रवर्द्धनका कार्यक्रम बढी केन्द्रित हुँदा त्यहाँबाट आगमन दर बढ्न थालेको छ ।

अमेरिका गुणस्तरीय पर्यटकका दृष्टिकोणबाट महत्वपूर्ण स्रोत बजार हो । विगतमा यहाँ हाम्रो धेरै गतिविधि नै थिएन । पछिल्लो दुई-तीन वर्षयता हामीले अमेरिकामा प्रवर्द्धनका धेरै कार्यक्रम पुर्‍याएका छौं । त्यसको सुखद पक्ष देखिएको छ । नेपाल धेरै आउने मुलुकमा श्रीलंका तेस्रो स्थानमा थियो, त्यसलाई पछि पार्दै अमेरिका तेस्रो मुलुक बन्न पुगेको छ । यसरी बढी खर्च गर्ने पर्यटकलाई भित्राउने कोसिस पनि उत्तिकै जारी छ ।

तर गुणस्तरीय पर्यटक भित्राउने सवालमा हाम्रो मुलुक भित्रकै पनि केही समस्या बाधकका रुपमा रहेका छन् । नेपालको पर्यटन व्यवसायीको संख्या अत्यधिक छ । त्यहाँ नौलो सेवा सिर्जना गरेर त्यसलाई बेच्नेभन्दा सस्तोमा प्याकेज बेच्ने प्रतिस्पर्धा छ । त्यसलाई सुधार गर्नु जरुरी देखिन्छ ।

भ्रमण वर्षले पर्यटकले गर्ने खर्च र राजश्व संकलनमा कति सुधार गर्ला ?

सरकारी तथ्यांकअनुसार सन् २०१८ मा प्रतिदिन प्रतिपर्यटक खर्च अधिकतम ४५ डलर छ । यसलाई हामीले अधिकतम ६० डलरसम्म पुर्‍याउन सक्छौं भन्ने अपेक्षा छ । तर यसलाई तथ्यांकमा ठ्याक्कै देखाउने सन्दर्भमा भने नेपालमा धेरै चूनौती छन् । आउने पर्यटकले खर्च गरेको हुन्छ, तर त्यो सरकारी प्रणालीमा देखिएको छैन । नदेखिएको खर्चको गणना हुँदैन ।

उदाहरणका लागि केही समय अगाडि कुनै एक पर्यटकलाई नेपाली टूर अपरेटर्सले दैनिक १ सय २५ डलरमा प्याकेज बिक्री गर्थ्यो । त्यसबेला २५ डलर टूर अपरेटर्सले लैजान्थ्यो भने १ सय डलर दरबारमार्गको एक होटेलले लियो । तर पछिल्लो दिनमा अनलाइन माध्यमबाट बुकिङको ट्रेण्ड बढेको छ । जसले गर्दा हिजो टूर अपरेटर्ससँग आइपुग्ने रकम विदेशमै अनलाइन माध्यमले खाइरहेको छ ।

अर्कोतर्फ विगतमा धेरैजसो पर्यटक होटेलमै बस्थे । अहिले अलि लामो यात्रामा आएका पर्यटक होटेलमा बस्दैनन् । उनीहरु होमस्टेमा बस्लान् या बेड एण्ड ब्रेक फास्ट सेवा उपलब्ध हुने साना लजहरुमा बस्न थालेका छन् । हुन त यसले नेपालीलाई नै रोजगारी दिएको छ, तर धेरैजसो सानो व्यवसाय अहिले पनि राज्यको राजश्व प्रणालीमा आवद्ध भइसकेको छैन । त्यसकारण सरकारको गणनामा त्यो राजश्व देखिँदैन । पर्यटकले खर्च गर्दा पनि सरकारी संयन्त्रको दायरामा नआउँदा नेपालमा कम खर्चालु पर्यटक मात्र आउँछन् कि भन्ने देखिएको हो । यसका लागि भने सरकारको डिजिटल क्षमता बढाउन आवश्यक छ । बोर्डले यो सुझाव सरकारलाई दिएको छ ।

पर्यटनको कुरा गर्दा नेपाल एक महत्वपूर्ण क्षेत्र धार्मिक गन्तव्य बन्न सक्छ भन्छौं, भ्रमण वर्षको रणनीति केही छ ?

नेपालको पर्यटनमा तीन-चार वटा उत्पादन महत्वपूर्ण छन् । त्यसमध्ये एक साहसिक प्रोडक्ट हो । त्यसमा पनि पर्वतारोहण र पदयात्रा, दोस्रो व्यापार-व्यवसायका लागि आउने कर्पोरेट सेक्टर हो । तेस्रो स्वयमसेवक, अनुसन्धानकर्ता र ग्रुपमा आउने युवाको समूह पर्छ । चौथो महत्वपूर्ण क्षेत्र नै धार्मिक पर्यटक हुन् । हामीले हिन्दु र बुद्धिष्ट पर्यटक भित्राउने योजनासहित प्रवर्द्धनका योजना बनाएका छौं ।

विगतदेखि नेपाल केबल साहसिक पर्यटकका लागि मात्र उपयुक्त गन्तव्य हो भन्ने आम मान्यता रहिआएको छ । तर हाम्रो क्षमता त्योभन्दा धेरै छ । सानो क्षेत्रफल, छोटो समय तर, एकै स्थानमा धेरै अनुभव र अनुभूति गराउन सक्ने गन्तव्य नेपाल हो । धर्म, संस्कृति, मौलिकता, प्रकृति, साहसिक गन्तव्यसहित हरेक पर्यटकीय प्रोडक्ट एकै स्थानमा पाइने संसारका धेरै कम गन्तव्यमध्ये नेपाल पनि एक हो । त्यसकारण पनि हामीले नेपाललाई ‘लाइफटाइम एक्स्पेरियन्स भेन्यू’का रुपमा स्थापित गर्ने कोसिस गरिरहेका छौं ।

नेपालले अब पर्यटक भित्राउन खोजेको नयाँ स्रोत बजार के हो ? त्यहाँ हाम्रो योजना के छ ?

उच्चगतिमा आर्थिक प्रगति हासिल गरिरहेको मध्यम आय भएको जनसंख्या र सामाजिक सञ्जालमा अधिक संलग्न रहने युवा वर्गलाई अब नेपालले नेपाल भित्राउन सक्छ । कुनै एक साथीले इन्स्टामा राम्रो तस्वीर पोष्ट गर्‍यो भने सोही स्थान पछ्याउँदै ग्रुप बनाएर पुग्ने टे्रण्ड चलेको छ । यस्तो समूहले ठूलो खर्च नगर्ला, तर उनीहरुमार्फत गन्तव्य प्रवर्द्धन र स्थापित गराउन सहयोग पुग्छ । चीन र भारतमा यस्ता समूहलाई बढी केन्द्रित गर्न सकिने सम्भावना छ र त्यहाँ प्रवर्द्धनात्मक कार्यक्रम अघि बढाइएको छ ।

बंगलादेश विगतमा हामीले धेरै प्राथमिकता नदिएको देश थियो । तर ढाका एउटै शहरमा साढे तीन करोड जनसंख्या छ । काठमाडौंबाट मात्र एक घण्टाको दूरीमा छ । उनीहरु शौखिन पनि छन् । त्यसकारण बंगलादेशलाई पनि केन्द्रित गरिएको छ । अबको प्रवर्द्धनमा बुद्धिष्ट मुलुक छुटाउनै नहुने स्रोत बजार हुन् ।

यूरोपमा केबल फ्रेन्च, जर्मन र अंग्रेजी बोल्ने गन्तव्यमा मात्र केन्द्रित भएकोमा अब पूर्वी यूरोपमा हामी पुग्न थालेका छौं । पोल्याण्ड, हंगेरी, चेकलगायत मुलुकबाट राम्रो संख्यामा पर्यटक बढिरहेका छन् । मध्यपूर्व र इजरायलसमेत केन्द्रमा छ ।

विश्वका नामी-नामी सेलिब्रेटीलाई नेपाल ल्याउन सकिन्छ, लियोनल मेसी हुन् वा विराट कोहली उनीहरुले एक दिन मात्र नेपालमा आइदिएर एउटा फोटो पोष्ट गर्दा संसारभर नेपालको प्रचार हुन्छ, त्यसतर्फ कुनै रणनीति छ ?

पर्यटन मात्र होइन, संसारभर हरेक व्यवसायमा सेलिब्रेटीको सहभागिताले धेरै ठूलो प्रभाव पारेको छ । अझ गन्तव्य प्रवर्द्धनमा त यसको एकदमै ठूलो भूमिका खेल्छ । हामीले त्यसका लागि पहल मात्र गरेका छैनौं, पछिल्लो समय उपलब्धीसमेत हाँसिल भएको छ । सन् २०२० का अवसरमा संसारभरका १५ जना सेलिब्रेटीलाई सदभावना दूत बनाएका छौं । उहाँहरुमार्फत प्रवर्द्धनमा हामी सक्रिय हुन्छौं ।

अघिल्लो महिना यूनिसेफको एक कार्यक्रममा भाग लिन भारतीय क्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउनुभयो । उहाँलाई हाम्रै पहलमा पशुपति भ्रमणमा लग्यौं । अन्य गन्तव्यमा समेत घुम्नु भयो । ‘म सुन्दर देश नेपालमा छु’ भन्दै इन्स्टामा तस्वीर हाल्नु भएको थियो । त्यहाँ लाखौं मानिसले लाइक र कमेन्ट गरेका थिए । गन्तव्य प्रवर्द्धनमा यो निकै प्रभावकारी उपाय हो ।

भ्रमण वर्षको उदघाटनमै सेलिब्रेटी ल्याउन पाएको भए राम्रो प्रचार प्रसार हुन्थ्यो नि

भ्रमण वर्षको सुरुवात र अंग्रेजी नयाँ वर्ष एक पटक पर्‍यो । त्यतिखेरै संसारभर धेरै जना मानिस बिदा मनाउन निस्कन्छन् । उनीहरु अग्रीम योजना बनाएर भ्रमणमा निस्कछन् । यद्यपि ‘न्यू इयर इन नेपाल’ भन्ने अवधारणामा करिब २५/३० जना मुलुकका पर्यटन मन्त्रीलाई आमन्त्रण गरेका थियौं । त्यसमध्ये ७/८ जनाले भाग लिने सम्भावना देखिएको छ । करिब ४५ जना विदेशी पत्रकार भ्रमण वर्षको शुभारम्भका अवसरमा आउँदै हुनुहुन्छ । उहाँहरुलाई नेपालका विभिन्न गन्तव्यमा घुमाउनेछौं । आगामी फेब्रुअरीमा नेपालमा उडान गरिरहेका वायुसेवा कम्पनीका सीईओहरुलाई बोलाएर एउटा सम्मेलन गर्दैछौं । जनवरी ७ तारिखमा नेपालका सबै कूटनीतिक नियोग र दूतावासमा भ्रमण वर्षको शुभारम्भ हुनेछ । कूटनीतिक नियोगलाई समेत सम्भव भएसम्म सम्बन्धित मुलुकका सेलिब्रेटीलाई सहभागी गराउन निर्देशन जारी भएको छ ।

भर्खरै सम्पन्न सागलाई भ्रमण वर्षको प्रवर्द्धनमा कत्तिको उपयोग गर्नुभयो ?

सागको रिपोर्टिङमा आउनु भएका केही पत्रकारलाई हामीले नेपालका गन्तव्यमा भ्रमण गरायौं । सागको उदघाटनमा राज्यका तर्फबाट सम्माननीय राष्ट्रपतिसहित सबै महानुभावले भ्रमण वर्ष २०२० का सम्बन्धमा बोलिदिनु भयो । यसको अन्तर्राष्ट्रिय प्रचार भएको छ । नेपालको मौसम पनि निकै राम्रो भयो । इभेन्टले यस अभियानलाई निकै सहयोग गरेको छ ।

खेलाडीहरुलाई पनि घुमाउन कुनै पहल भयो ?

प्रतियोगितामा आउने खेलाडीहरुको निश्चित भ्रमण तालिका हुन्छ । त्यसकारण हाम्रो इच्छामा उहाँहरु समय मिलाउन सक्नुहुन्न । हामीले अफर भने गरेका थियौं ।

भ्रमण वर्षको सम्पूर्ण तयारी सकाएर उदघाटन गर्ने समयमा तपाईं रिटायर्ड हुनुभयो, महत्वपूर्ण क्षणमा बोर्ड सीईओविहीन हुँदा कस्तो असर पर्ला ?

सन्देशका हिसाबले केही असर गरे पनि त्यति ठूलो असर गर्दैन । किनकी पर्यटन बोर्ड संस्था त्यहाँ छँदैछ । मन्त्रालय तह र मन्त्रीज्यूबाट मलाई भ्रमण वर्षको तयारीका सन्दर्भमा समन्वय गरिदिनुस् भन्ने आग्रह भएको छ । म अवकास पाएपछिका दिनहरुमा पनि उत्तिकै व्यस्त छु, जति दुई दिन अगाडि थिएँ । अहिले बैठक, समन्वय र फलोअपमा खटिएकै छु । फरक यति मात्र हो, म सीईओका रुपमा कार्यकारी अधिकार प्रयोग गर्न पाउँदिनँ । अरु हिसाबले म सक्रिय नै छु ।

त्यसो भए अवकासको अनुभूति भएको छैन ?

पक्कै पनि, त्यति धेरै भएको छैन । किनकी पर्यटन मेरालागि जागिर वा पद कहिले पनि रहेन । यो मेरो रुचिको विषय हो । आफ्नो मन पर्ने क्षेत्र भएका कारण म जहिले पनि उत्तिकै ऊर्जाका साथ खटिएको छु । फेरि पनि सीईओका लागि आवेदन खुलेको थियो । मैले पनि एक योग्य उम्मेदवारका रुपमा आवेदन दिएको छु । सम्भवतः १५/२० दिनमा यो प्रक्रिया पूरा होला ।

चार वर्षे कार्यकालको अनुभव कस्तो रह्यो ?

मैले सीईओका रुपमा पर्यटन बोर्ड छिर्दै गर्दा पर्यटनमा नेपालको मनोबल खस्किएको अवस्था थियो । आगमन संख्या स्वाट्टै घटेको र लगानीकर्ताको मनोबल खस्किएको थियो । लामो समय पर्यटनमा बिताएका हस्तीले समेत मसँग भन्नुहुन्थ्यो, ‘अबको ५ वर्ष नेपालको पर्यटन फर्किंदै फर्कन्न ।’ संसारभर नेपालको पहिचान ‘नो गो जोन’का रुपमा थियो । नेपाल जानै हुँदैन, त्यहाँ पूरै संरचना ढलेका छन् भन्ने सोचाइ थियो । आपूर्तिको असहजताले झनै सेवा पनि दिन नेपाल सक्षम छैन भन्ने प्रचार विदेशमा भएको थियो ।

लोडसेडिङ पनि हटेको थिएन । सिलिण्डर पाउँदैन, गाडी पाउँदैन, इन्धन छैन भन्ने प्रचार पर्यटकीय बजारमा भएको थियो । यही अवस्थाले मलाई देशका लागि अझै खट्नुपर्छ भन्ने उत्प्रेरणा दियो । म सीईओ बन्नका लागि दिएको आवेदनमा तीन-चार वटा ‘भिजन’ पेश गरेको थिएँ । त्यसबेला चार वर्षमा कुन वर्ष के गर्छु भन्नेबारे स्पष्ट योजना प्रस्तुत गरेको थिएँ । चार वर्षपछि मैले जुन नतिजाको अपेक्षा गरेको थिएँ, त्यो पूरा भएको छ, त्यसकारण मैले गरेको प्रयासमा आफू सन्तुष्ट छु ।

अर्कोतर्फ म सीईओ बनेर आएको समयमा एकातर्फ पर्यटन उद्योगकै मनाबल खस्किएको समयमा बोर्डभित्रैको वातावरण झनै संकटपूर्ण थियो । २३ जना कर्मचारी अख्तियारको छानबिनका कारण निलम्बनमा थिए । माथिल्लो स्तरका कर्मचारी कोही बाँकी थिएनन् । लेखा र प्रशासन रित्तै थियो । म माघमा पदबहाली गर्दा उक्त आर्थिक वर्षको बजेटसम्म पास भएको थिएन । अडिट भएको थिएन, विनियम बनेका थिएनन् । त्यस्तो परिस्थितिमा प्रवेश गरेर पनि सम्भवतः बोर्डमा एक मात्र यस्तो भाग्यमानी सीईओ बनेको छु, जसको नियुक्तिमा पनि कुनै विवाद बनेन, अवकासको समयसम्म पनि विवादित हुनु परेन । अझै निजी क्षेत्रको तर्फबाटै यो मान्छे फेरि आउनु पर्छ भनेर आवाज उठ्दा व्यक्तिगत रुपमा मलाई निकै सन्तुष्टि मिल्छ ।

अन्त्यमा, नेपाली पर्यटनका सवल पक्ष र दुर्बल पक्ष के हुन् ?

सवल पक्ष एक ‘नेपाली मान्छे’ नै हो । जसलाई संसारले निकै मन पराउँछ । अर्को ‘नेपाल देश’ । जुन प्राकृतिक र भौगोलिक रुपमा निकै सुन्दर छ । पर्यटनमा यो निकै महत्वपूर्ण पक्ष हो । दुर्बल पक्ष भने पूर्वाधार नै हो । पूर्वाधार जति चाँडो बढाउन सक्यौं, २० लाख निकै सानो संख्या हो ।

Leave a Reply

Your email address will not be published.