Categories
ताजा समाचार

मनाङ जिल्लाको तापक्रम माइनस १९ डिग्री सेल्सियस (फोटोहरुसहित)

लमजुङ । मनाङ जिल्लाको तापक्रम माइनस १९ डिग्री सेल्सियसमा झरेको छ । तापक्रम माइनसमा झर्दा खानेपानी बरफ बनेको छ भने जनजीवन अस्तव्यस्त बन्दै गएको छ ।

चिसो बढेर रातको समयमा शुक्रबार र शनिबारको तापक्रम माइनस १९ डिग्री सेल्सियसमा झरेको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए । उनले भने, ‘यहाँ अब फागुनसम्म यस्तै रहन्छ ।’

सदरमुकाम चामेमा गत २७ र २८ मंसिरमा परेको हिउँ अझै पग्लिएको छैन । प्रजिअ पौडेलले भने, ‘यतिबेला गाउँहरू प्रायः पालो पालो गरेर एक जनाले कुर्ने र अरु त काठमाडौं, पोखरा, चितवन जाने गरेका छन् । त्यसरी एक जना बस्नुको कारण पनि कोही पाहुना (पर्यटकहरू) आए भने खाने बस्ने प्रवन्ध गर्नका लागि रहेछ रहेछन् । त्यसरी गएका उनीहरू अब फागुन पछि मात्र फर्केर आउने छन् ।’ उनले थपे, ‘अफिसियल जिम्मेवारीले जिल्लाबासी नबसे पनि हामीले त जिल्ला छाड्न मिलेन ।’

खानेपानीको पाइपमा पानी जमेर बरफ बनेकाले खानेपानीको समस्या भएको जिल्ला प्रहरी कार्यालयका नि. प्रमुख प्रहरी निरीक्षक श्रवणकुमार विकले बताए ।

‘चिसोको कारणले गर्दा यतिबेला त पाहुना राख्न नै सकिन्न,’ चामे गाउँपालिका– ४ स्थित मोनालिसा होटलकी सञ्चालक लक्ष्मी गुरुङले भनिन् । उनले बिहानी पख साँझमा बाल्टीमा राखेको पानी जमेर बरफ बनेको देखाइन् ।

Leave a Reply

Your email address will not be published.