Categories
राजनीतिक

ओलीसँग सल्लाह गर्न एयरपोर्टबाट सिधै बालुवाटार पुगे प्रचण्ड, को बन्ला सभामुख ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट फर्कर सिधै बालुवाटार गएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभामुखका उम्मेदवारबारे छलफल गर्न प्रचण्ड त्रिभुवन विमानस्थलबाट सिधै बालुवाटार गएका हुन् । प्रचण्ड बिहीवारै चितवनबाट फर्केर सभामुखबारे छलफल हुने भनिएको थियो तर प्रचण्ड शुक्रवार मात्रै काठमाडौं फर्किएका छन् ।

संसदको ठूलो दल नेकपाले सभामुखबारे निर्णय लिन नसक्दा संसदको कारवाही समेत प्रभावित भएको छ । संसदको शुक्रवारको बैठकले सभामुख निर्वाचनको कार्यतालिका पारित गर्ने कार्यसूची रहेपनि ‘विशेष कारण’ देखाउँदै सूचना टाँस गरेर बैठक स्थगित भएको छ ।

नेकपाले सभामुखका उम्मेदवारबारे टुंगो लगाउन नसक्दा संसदको प्रक्रिया नै अवरुद्ध भएको देखिएको छ । सभामुखमा नेकपाले उम्मेदवारी दिन उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले समेत राजीनामा दिनुपर्ने चर्चा पार्टीभित्र छ तर शिवमायाले समेत राजीनामा दिएकी छैनन् ।

शुक्रवार अध्यक्षद्वय ओली र प्रचण्डबीच सभामुखको उम्मेदवारबारे छलफल हुने र त्यसपछि नेकपा सचिवालय बैठकले निर्णय गरेर सभामुख उम्मेदवार टुंगो लाग्ने जनाइएको छ । नेकपामा सभामुखका लागि सुवासचन्द्र नेम्वाङ, अग्नी सापकोटा र तुम्बाहाम्फेको नाम चर्चामा छ ।

Leave a Reply

Your email address will not be published.