Categories
सूचना प्रविधि

अब एक महिनामै नेपालको राष्ट्रिय झन्डा अंकित रेल

काठमाडौं । नेपालको राष्ट्रिय झन्डा अंकित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी छ । रेल आउने समय तय भए पनि रेल विभाग अहिले कर्मचारी व्यवस्थापनमै अल्झिइरहेको छ ।

रेल सञ्चालनका लागि कार्यालय सहयोगीदेखि व्यवस्थापक र साधारण प्राविधिकदेखि विशेषज्ञ इन्जिनियरसम्मको जनशक्ति आवश्यक छ । अहिलेसम्म कर्मचारी भर्ना तथा व्यवस्थापनका नाममा केही पनि काम अगाडि बढ्न नसकेको खबर गोरखापत्र दैनिकमा छ । जयनगर–जनकपुर खण्डमा चलाउन सरकारले सूर्य-चन्द्र झन्डा अंकित रेल खरिद गर्ने निर्णय गरेको थियो ।

पहिलो रेल सन् २०२० को जनवरीमा र अर्को रेल भने फेब्रुअरीभित्र आइपुग्ने रेल विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए । नेपाल आउने रेलसेट अहिले भारतको चेन्नईमा निर्माणाधीन छ । रेल विभागका महानिर्देशकसहितको टोलीले निर्माणाधीन रेलको निरीक्षण गरेको छ । प्रवक्ता चित्रकार भन्छन्, “दुईमध्ये एउटा रेल जनवरीभित्र आइपुग्ने निश्चित भएको छ ।

अर्को रेल फेब्रुअरीभित्र आउँछ तर नेपालको तयारी भने केही पनि छैन । कसले चलाउने, कुन मोडलमा चलाउने, सम्बन्धित प्राविधिक जनशक्ति र कर्मचारी कहाँबाट ल्याउने भने कुरा थाहा छैन ।” रेल सञ्चालनमा लागि आवश्यक जनशक्ति व्यवस्थापनका कार्यहरू प्रक्रियामा रहेको बताउँदै उनले भने, “नेपालमा सम्बन्धित दक्ष तथा अनुभवी जनशक्तिको अभाव छ । उक्त रेल सञ्चालन गर्न आवश्यक ‘मेनपावर आउट सोर्सिङ’ गरी उपलब्ध गराउनेतर्फ काम भइरहेको छ ।”

पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्म र दोस्रो चरणमा कर्थादेखि बिजुलपुरादेखि रेल सञ्चालनमा ल्याउनेछ । ३४ किमि रहेको जयनगरदेखि कुर्थासम्म रेल सञ्चालनका लागि आवश्यक लिक निर्माणको काम पूरा भइसकेको छ । कुर्थादेखि बिजुलपुरासम्मको दूरी १७ किमि छ । जयनगरदेखि बर्दिबाससम्म ६९ किमिमा रेल सञ्चालन गर्ने योजना सरकारको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल सञ्चालनका लागि पहिलो चरणमा करिब २ सय कर्मचारी आवश्यक रहे पनि कर्मचारी भर्नाका लागि तत्काल विज्ञापन गरिहाल्ने अवस्था नरहेको स्पष्ट पारे । कर्मचारी भर्नाका लागि लोकसेवा र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भए पनि मन्त्रिपरिषद्बाट निर्णय नभएसम्म तत्काल विज्ञापन खुलाइहाल्ने अवस्था नरहेको उनको भनाइ छ ।

रेल विभागले विगत ६ महिनादेखि कर्मचारी माग गर्दै आइरहेको छ । रेल सञ्चालनका लागि सुरुमा प्राविधिक टोली भारतबाटै लिनुपर्ने भए पनि प्रशासनिक कार्यका लागि नेपाली कर्मचारी नै भर्ना गर्नुपर्ने महानिर्देशक मिश्रले स्पष्ट पारे । रेल विभाग, जनकपुर साइट कार्यालयका प्रमुख विनोदकुमार ओझाले रेल्वे लिकमा बाढीले पुर्‍याएको क्षतिको निर्माण भए पनि रेल्वे स्टेसनका घर मर्मतलगायतको काम अझै सुरु हुन नसकेको जानकारी दिए । अहिलेसम्मको तयारी र संरचनाले रेल सञ्चालन गर्न नसकिने उनले स्पष्ट पारे ।

रेल विभागका महानिर्देशक मिश्रका अनुसार नेपाल आउन लागेको रेल ‘डेमो ट्रेनसेट’ हो । एउटा ट्रेन सेटमा अगाडि र पछाडि गरेर दुई इन्जिन हुन्छन् । नेपालतर्फ आउँदा अगाडिको इन्जिन र भारततर्फ फर्किंदा पछाडिको इन्जिनले काम गर्छ । त्यसैगरी एउटा ट्रेन सेटमा पाँच डब्बा हुन्छन् जसमध्ये एउटा डब्बा वातानुकूलित (एसी कोच) हुनेछ । उनले भने, “जयनगरदेखि कुर्थासम्म साधारणतर्फ ६० रुपैयाँ र ‘एसी’तर्फ ३ सय रुपैयाँ भाडादर कायम गर्ने विषयमा छलफल भइरहेको छ ।” जयनगर स्टेसनमा समेत नेपाली रेल्वे व्यवस्थापन राख्ने तयारी भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published.