Categories
खेलकुद ताजा समाचार

(साग) मा पदक जित्ने नेपाली खेलाडीहरूको सम्मानमा सरकारले घोषणा गरेको पुरस्कार अधुरो तत्काल पूर्णता दिन सरकारबाट (कृपया शेर गर्नुहोला)

नेपाली खेलाडीहरूको छाता सङ्‍गठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गत महिना सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने नेपाली खेलाडीहरूको सम्मानमा सरकारले घोषणा गरेको पुरस्कार अधुरो भएको भन्दै त्यसलाई तत्काल पूर्णता दिन माग गरेको छ।

सरकारको तर्फबाट ‘सरप्राइज प्याकेज’ भन्दै साग सकिएको भोलिपल्ट मङ्सिर २५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीलाई दिइने पुरस्कारको घोषणा गर्दा सामूहिक खेलका रजत र कांस्य पदक जित्नेलाई प्रस्ट सम्बोधन भएको थिएन।

मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा सम्पन्न दक्षिण एसियाली खेलुकदको १३औं संस्करणमा नेपालले इतिहासमै सबभन्दा बढी ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदकसहित कूल २ सय ६ पदक जित्दै दोस्रो स्थान हासिल गरेको थियो।

‘आफैंले आयोजना गरेको दक्षिण एसियाली खेलकुदको सबभन्दा ठूलो कुम्भमेलामा देशलाई सर्वाधिक पदकका साथ ऐतिहासिक रूपमा दोस्रो स्थान दिलाउन नेपाली खेलाडीको मिहेनत, परिश्रम र सङ्‍घर्षको जति प्रशंसा गरे पनि कम हुन्छ। सीमित स्रोत र साधनका बाबजुत नेपाली खेलाडीले १३औं सागको सफलतामा गरेको योगदान अतुलनीय छ,’ संघका अध्यक्ष दीपक श्रेष्ठले भने, ‘दुई वर्षभित्र गर्नुपर्ने भनेर २०१६ को फेब्रुअरीमा भारतबाट झण्डा लिएर आए पनि पटक-पटक मिति सारिरहेको अवस्थामा १३औं साग नै होला कि नहोला भन्ने अवस्थामा राष्ट्रिय खेलकुद परिषद्को वर्तमान नेतृत्वले दिनरात मिहेनत गरेर सफलतापूर्वक साग सम्पन्न गरेकोमा हामी परिषद् र नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छौं।’

सागमा दुई पटकका स्वर्ण विजेता कराते खेलाडी श्रेष्ठले सरकार र राखेपको नेतृत्वले असम्भवझै देखिएको साग आयोजनालाई सम्भव बनाएर नेपाली खेलाडीलाई राष्ट्रिय गौरवका गाथा रच्ने अवसर दिएको बताउँदै श्रेष्ठले थपे, ‘वर्तमान सरकार र खासगरी प्रधानमन्त्रीज्युले खेलाडीको हौसला अभिवृद्धिका लागि आकर्षक पुरस्कारको घोषणा गर्नुभएको छ। त्यसलाई हामी खेलाडी स्वागत गर्न चाहन्छौं। व्यक्तिगत स्पर्धाका स्वर्ण, रजत र कांस्य विजेता खेलाडीका लागि पुरस्कार घोषणा भए पनि टिम खेलका रजत र कांस्य जित्नेलाई पुरस्कारमा प्रस्ट सम्बोधन भएको छैन। त्यो तत्काल होस् भन्ने हाम्रो माग हो।’

विगतमा पनि सरकारबाट घोषणा भएका पुरस्कार पाउन खेलाडीले लामो समयसम्म पापड बेल्नु परेको स्मरण गर्दै श्रेष्ठले यसपाली चाँही यथासिघ्र घोषित पुरस्कार प्रदान गर्न पनि अनुरोध गरे। नेपाली खेलकुदका कार्यकारी प्रमुख परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले यसपाली साग सकिएको एक साताभित्रै पुरस्कार दिइसक्ने घोषणा गरेका थिए।

सरकारले बनाएको खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि २०७२ मा सागमा स्वर्ण जित्ने एकल विधाका खेलाडीलाई ५ लाख, रजत जित्नेलाई ३ लाख र कांस्य जित्नेलाई २ लाख तथा सामूहिक विधामा स्वर्णलाई प्रतिखेलाडी २ लाख, रजत जित्नेलाई १ लाख ५० हजार तथा कांस्य जित्नेलाई १ लाख रुपैयाँ दिने व्यवस्था छ। तर, प्रधानमन्त्री ओलीले खेलाडीको मनोबल उच्च बनाउने भन्दै ‘सरप्राइज प्याकेज’ घोषणा भन्दै व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई प्रतिस्वर्ण ९ लाख, रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख रुपैयाँ दिने घोषणा गरेका थिए।

तीन पटकसम्म मिति सार्दै गरिएको घोषणामा एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रतिस्वर्ण ११ लाखका दरले दिने घोषणा थियो। यसैगरी टिम स्पर्धामा स्वर्ण जित्नेलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरे पनि रजत र कांस्य पदक भने छुटाएका थिए।

लामो समयको प्रचार तथा पटक-पटक मिति तोक्दै स्थगित गर्दै अन्तत मङ्सिर २५ मा गरिएको ‘सरप्राइज प्याकेज’ घोषणामा पनि सरकारले हचुवा काम गरेको भन्दै त्यसको चौतर्फी आलोचना भएको थियो।

Leave a Reply

Your email address will not be published.