Categories
ताजा समाचार

चिनियाँ समातिँदा फेरि पनि भाषाकै समस्या, विश्वभाषाबाट विज्ञ झिकाउँदै प्रहरी

काठमाडौं : नेपाल प्रहरीले सोमबार राजधानीभित्र चलाएको ‘सर्च अप्रेसन’मा शंकास्पद गतिविधिमा संलग्न १ सय २२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहँदा फेरि पनि भाषाकै समस्या दोहरिएको छ।

काठमाडौंको बाँसबारी, ठमेल, मनमैजु, बुढानीलकण्ठ लगायत विभिन्न स्थानबाट विदेशी नागरिकलाई नियन्त्रणमा लिएको हो। १२ घण्टा लामो अप्रेसनमा अधिकांश चिनियाँ नागरिक पक्राउ परेका छन्। पर्यटन भिषामा नेपाल आएर उनीहरुले सफ्ट्वयर कम्पनीमा काम गर्न भन्दै अनलाइनबाट ठगी तथा अन्य गतिविधि गरेको देखिएको छ। समातिएका चिनियाँको भाषा नबुझ्दा अनुसन्धानमा जटिलता बेहोरिरहेको छ, प्रहरीले।

‘उनीहरु पर्यटक भिसामा आएर अनलाइन फ्रड लगायतका अपराधिक गतिविधिमा संलग्न रहेको देखियो,’ महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले भने।

प्रहरीको अप्रेसनमा चिनियाँ राजदूतावासले पनि सहयोग गरेको थियो। तर, उनीहरुलाई चीन नै पठाउने वा नेपालमै अनुसन्धान गर्ने प्रष्ट भइसकेको छैन।

‘भिसा नभएका र पासपोर्ट नभएकालाई भने उनीहरुकै देश पठाउने नियम हुन्छ। तर, अरु अपराध गरेको देखिएमा भने यहीँ अनुसन्धान गरिन्छ,’ केन्द्रीय अनुसन्धान व्यूरोका एसएसपी रामदत्त जोशीले भने।

प्रहरीले उनीहरुको साथबाट २ सय ५० थानभन्दा बढी ल्यापटप, ५ सय थान मोबाइल र अन्य डिभाइसहरु समेत बरामद गरेको छ। उनीहरुले यस्ता उपकरणबाट कुनै अपराधिक गतिविधि गरेका छन् वा छैनन् भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ। आवश्यक परेको खण्डमा प्रहरी ल्यावमा समेत पठाउने केन्द्रीय अनुसन्धान व्यूरोका एसएसपी रामदत्त जोशीले जानकारी दिए।

‘पहिले हामी आफैँ ती सामाग्री चेक गर्छौं। त्यसपछि आवश्यक देखिएमा ल्याबमा पठाउँछौं,’ एसएसपी जोशीले भने।

प्रहरीले नियन्त्रणमा लिएका केही चिनियाँ नागरिकहरुसँग पासपोर्ट समेत फेला परेको छैन। उनीहरु मध्येका नाइकेले सबै जनाको पासपोर्ट राख्ने भएकाले पनि केहीसँग पासपोर्ट फेला नपरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। पर्यटक भिसामा नेपाल आएका उनीहरुले घरको साविक मूल्यभन्दा बढी भाडा तिरेर अपराधिक गतिविधि गरेको जानकरी आएपछि केन्द्रीय अनुसन्धान व्यूरो, नेपाल प्रहरीको विशेष व्यूरो, महानगरीय अपराध महाशाखाको टोलीले संयुक्त अप्रेसन चलाएको हो।

उनीहरु विरुद्ध प्रहरीले आज अदालतबाट म्याद थप गर्दै छ।

फेरि भाषाकै समस्या

अहिले उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंले केन्द्रीय अनुसन्धान व्यूरोमा राखेर अनुसन्धान गरिरहेको छ। तर, नेपाल प्रहरीसँग चिनियाँ भाषा बोल्ने दोभाषे नहुँदा अनुसन्धानमा समस्या परेको छ। महानगरीय प्रहरी परिसरले विश्वभाषा क्याम्पबाट भाषा विज्ञ लिएर अनुसन्धान गर्ने भएको छ।

‘हामी चिनियाँ भाषा बुझ्दैनौं। उनीहरु अंग्रेजी बुझ्दैनन्। त्यसैले भाषामा समस्या भइरहेको छ। हामी विभिन्न भाषा विज्ञ खोजेर अनुसन्धान गर्छौं। यो अनुसन्धान अरु जस्तो चाँडो हुँदैछ,’ परिसरका डिएसपी होविन्द्र बोगटीले भने।

गत भदौमा एटिएम ह्याकिङ गर्ने समूह समात्दा समेत प्रहरीलाई भाषामा समस्या परेको थियो। त्यसो त गत शनिवार लागू औषध नियन्त्रण ब्यूरोको टोलीले बोलिभियन र बेलारुसका नागरिकलाई ६ किलो कोकिन सहित पक्राउ गरेको थियो। त्यसमा पनि दोभाषे नहँदा समस्या परेको थियो।

‘प्रहरीमा भाषाको समस्या परिरहेको हुन्छ। हामीसँग सबै भाषाका दोभाषे छैनन्,’ ब्यूरोका डिआइजी दिनेश अमात्यले भने। अहिले भने पर्यटक प्रहरीले १७ जनालाई भाषा सम्वन्धि कक्षा दिइरहेको छ। उनीहरुले अहिले चिनियाँ र फ्रेन्च भाषाको कक्षा लिइरहेको छन्।

Leave a Reply

Your email address will not be published.