Categories
समाचार

हरिद्वारमा प्रचण्डपत्नी सीता दाहालले पतंजलिका आचार्यलाई छोराजस्तै माया गरेपछि …

हरिद्वार – आयुर्वेदिक उपचारका लागि हरिद्वारस्थित पतंजलि योगपीठ ल्याइएकी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नी सीता दाहाल आईतबार काठमाडौं फर्किएकी छिन् ।

पतंजलि योगपीठका अध्यक्ष तथा कार्यकारी प्रमुख बालकृष्ण आचार्यका अनुसार दाहाललाई केही समयका लागि औषधि दिएर काठमाडौं पठाइएको छ । सीता दाहाल लामो उपचारका लागि फेरि हरिद्वार आउने उनले बताए ।

योग पद्दतिबाट गरिने आयुर्वेदिक उपचारका लागि लामो समय लाग्ने गरेको छ । आचार्यले भने, ‘उहाँ मलाई भेट्न आउनुभएको हो । सुरूदेखि नै उहाँले मलाई आफ्नो छोराजस्तै माया गर्नुहुन्छ । उहाँले मसँग भेट्ने इच्छा बताएपछि परिवारका सदस्यले यहाँ लिएर आउनु भएको हो ।’

तत्कालका लागि केही औषधि दिएर पठाएको र लामो उपचारका लागि सीता फेरि हरिद्वार आउने उनले बताए । केही समयदेखि पार्किन्सन्स रोगबाट ग्रसित सीताको स्मरण शक्ति पनि क्रमिक रुपमा गुम्दै गएको छ ।

सीतालाई प्रोग्रेसिभ सुपरान्यूक्लियर पाल्सी ’पीएसपी’ भएको चिकित्सकले बताउँदै आएका छन् । यो समस्या भएका व्यक्तिको मानसिक असन्तुलनका साथै हिँड्न,बोल्न र निल्न समस्या हुने गर्छ । दुई वर्षअघि निधन भएका छोरा प्रकाश दाहालको शोकपछि उनी यो रोगबाट ग्रसित भएकी हुन् ।

दाहालकी छोरी गंगा दाहालले गत शुक्रबार फेसबुकमा आमाको उपचारका लागि पतंजलि पुगेको जानकारी दिँदै सामाजिक सञ्जालबाट तस्बिर सार्वजनिक गरेकी थिइन् । दाहाललाई योगगुरु बाबा रामदेवसँग पनि भेट गराइएको थियो । दाहाल परिवारसँग पूर्वमन्त्री तथा नेकपा स्थायी समिति सदस्य मातृका यादव पनि पतंजलि पुगेका थिए ।

दाहाललाई सामान्य अवस्थामा फर्काउन प्रचण्ड परिवारले निकै प्रयत्न गर्दै आएको छ । यसअघि उपचारका क्रममा सीतालाई नयाँदिल्ली, सिंगापुर, अमेरिकालगायत विभिन्न देशमा पुर्‍याएको थियो । पछिल्लो समय दाहाल परिवारले धार्मिक, आध्यात्मिक लगायतका मान्यतालाई पनि पछ्याउँदै आएको छ । यसै क्रममा गत वर्ष सीताले तातोपानी कुण्डमा डुबुल्की मार्दै गरेको तस्बिर पनि सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published.