Categories
राजनीतिक

आफै–आफै ठुस्केर बैठकमै नबस्ने रामचन्द्र पौडेलले गरे यस्तो निर्णय

काठमाडौं – उपनिर्वाचनको सफलतापछि नेपाली कांग्रेस पार्टीलाई गति दिने गरी पार्टी सभापति शेरबहादुर देउवाले पहल गर्न खोज्दा वरिष्ठ नेता रामचन्द्र पौडेल आफै–आफै ठुस्केर बैठकमै आउँदैनन् ।

केन्द्रीय कार्यसमितिको औपचारिक बैठकमा नआएपनि पौडेल समूहले छुट्टै भेला गरेर विभिन्न छलफल र निर्णय गर्ने गरेको छ । सोमबार पनि पौडेल समूहले पार्टी संस्थापन पक्षसँग भइरहेको वार्तामा विधानलाई टेकेर मात्र सहमति खोज्ने निर्णय गरेको चर्चा चलेको छ ।

पौडेल समूहले पार्टीमा भाग खोज्दै सभापति देउवासँग बार्गेनिङ गरिरहेको छ । पौडेल समूहले केन्द्रीय विभाग २८ वटा गठन गर्ने र नेपाल विद्यार्थी संघको नेतृत्वमा ३२ वर्षको उमेर हद लागू गर्ने अडानमा रहने सहमति गरेको जनाइएको छ ।

पौडेल समूहले १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न माग गरेको देखाएपनि भित्रभित्रै पार्टीमा भाग खोजेको स्रोतले जनाएको छ । महाधिवेशनबारे छलफल गर्न पौडेल समूह पार्टीको बैठकमा सहभागी नै हुँदैन । भागबण्डाको बार्गेनिङ मिलेपछि मात्रै पार्टी बैठकमा सहभागी हुने नीति पौडेल समूहले लिएको देखिएको छ ।

सोमबार महामन्त्री शशांक कोइरालाको निवासमा पौडेल समूहको बैठक भएको छ, जसमा कृष्णप्रसाद सिटौला निकट मानिएका गगन थापा र प्रदीप पौडेल पनि सहभागी भएको स्रोतले जनाएको छ ।

बैठकमा प्रकाशमान सिंह नेतृत्वको वार्ता टोलीले हालसम्म भएको छलफलबारे जानकारी गराएको छ । सहमतिको प्रयासमा विभिन्न विकल्पमा छलफल भएपनि सहमति हुन सकेको छैन । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस १० गते बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published.