Categories
ताजा समाचार

मोटरसाइकलमा पछाडि बस्नेलाई हेलमेट अनिवार्य गरिँदै

दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले समेत हेलमेट लगाउनु पर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुई पाङ्ग्रे सवारी साधनपछाडि बस्नेले समेत हेलमेट लगाउनु पर्ने नियम सुरु गर्न लागेको जानकारी दिए ।

दुई पाङ्ग्रे सवारी साधनको दुर्घटनालाई विश्लेषण गर्दा हेल्मेट नलगाई पछाडि बस्ने बढी मृत्यु र घाइते हुने गरेकाले दुवैलाई हेल्मेट अनिवार्य गरिएको महाशाखा प्रमुख एसएसपी बसन्तुकुमार पन्तले बताए । महाशाखाले ऐनमा संशाेधन गरी हेलमेट अनिवार्य व्यवस्था गर्न यातायात व्यवस्था विभागलाई अनुरोध गरेको जनाएको छ ।

महाशाखाले उपत्यकामा सवारी चाप कम गर्न मोबाइल एप प्रयोगमा ल्याउने भएको छ । एपले उपत्यकाको ट्राफिक जाम, बाटो डाइभर्सनलगायत महत्वपूर्ण सूचना हरेक १५ मिनेटमा दिने पन्तले जानकारी दिए । महाशाखाले नियम मिचेर सवारी चालकलाई जरिवाना तिर्न बैंकमा लाइन बस्नु नपर्ने व्यवस्था गर्न लागेको छ । ट्राफिक प्रहरीले इ चलानीमार्फत नियम उल्लङ्घन गर्ने चालकलाई चिट दिएपछि इ पेमेन्ट गर्न सकिने पन्तले बताए ।

यो पनि हेर्नुस्
बजारमा उत्साह, नेप्सेसँगै बढ्यो कारोबार रकम
जेठ महिनाको पहिलो कारोबार दिन नेप्से परिसूचक शून्य दशमलव ४२ प्रतिशत बढेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ । नेप्से र कारोबार रकम दुवै बढेपछि लगानीकर्ताहरू उतसाहित भएका छन् । नेप्सेमा सूचीकृत अधिकांश कम्पनीहरूले तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । सो वित्तीय विवरणलाई आधार बनाएर लगानीकर्ताहरूले लगानीको रणनीति तयार गरी बजार प्रवेश गरेका कारण बजारमा उत्साह छाएको एक ब्रोकरले बताए । अब लगानीकर्ताहरू आगामी आर्थिक वर्षको मौद्रिक नीति र बजेटको पर्खाइमा रहेका छन् । आगामी आवको सरकारी नीति पुँजीबजारमैत्री आएमा नेप्सेले नयाँ उचाइ कायम गर्ने उनको भनाइ छ ।

बजार सारांश
नेप्से परिसूचक यस दिन ५ दशमलव ५५ अंक बढेर १ हजार ३ सय २१ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स २ दशमलव ५१ अंक बढेर २ सय ८२ दशमलव २५ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ५२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ८५ अंक बढेको छ । यस दिन १ सय ७२ कम्पनीको १३ हजार ६ सय ३४ पटकको कारोबारमा १ अर्ब ३३ करोड ३ लाख १४ हजार रुपैयाँबराबरको ४० लाख ४३ हजार १ सय ५७ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

प्राविधिक विश्लेषण
आरएसआईः नेप्सेको १४ दिने आरएसआई यस दिन ७४ दशमलव १३ स्केलमा पुगेको छ । ओभरबट जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद चाप बढी रहेको संकेत गर्दछ ।

एडी रेसियोः नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलवम ८१ रहेको छ । यस दिन कारोबारमा आएका १ सय ७२ कम्पनीमध्ये ६८ कम्पनीको सेयरमूल्य बढेको छ भने ८३ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २१ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । यस दिन नेप्सेको पिभट बिन्दु १ हजार ३ सय २३ दशमलव ७३ रहेको छ । बिहीबार नेप्से ओरालो लागे १ हजार ३ सय १३ दशमलव ३५ बिन्दुमा पहिलो र १ हजार ३ सय ५ दशमलव ७० बिन्दुमा दोस्रो टेवा पाउने सम्भावना रहेको छ । त्यसैगरी, बजार उकालो लागे नेप्सेले १ हजार ३ सय ३१ दशमलव ३८ बिन्दुमा पहिलो र १ हजार ३ सय ४१ दशमलव ७६ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

एनसिसीको सर्वाधिक कारोबार
यस दिन कारोबार रकम र सेयर संख्याका आधारमा नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसी बैंक) लिमिटेड अगाडि रहेको छ । सो बैंकको यस दिन १४ करोड ८२ लाख ३६ हजार रुपैयाँबराबरको ५ लाख ६२ हजार ७ सय ८६ कित्ता सेयर खरिदबिक्री भएको छ । बैंकले बोनस सेयरबाट चुक्ता पुँजी पुर्‍याउने खबरले लगानीकर्ताहरू सोतर्फ आकर्षित भएका हुन् । सेयर संख्याका आधारमा भने यस दिन शिवम् सिमेन्ट्स लिमिटेड अगाडि रहेको छ । सो कम्पनीको यस दिन १ हजार ७ सय ७१ पटकको कारोबारमा १३ करोड ९ लाखबराबरको २ लाख ३७ हजार कित्ता सेयर किनबेच भएको छ । त्यसैगरी, नेपाल बैंकको यस दिन १३ करोड २४ लाख ६३ हजार रुपैयाँबराबरको ४ लाख १५ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ ।

कमाउनेमा नेपाल कम्युनिटी र विशाल बजार
यस दिन नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको सेयरमूल्य ७ दशमलव ९७ प्रतिशत बढेर १ सय ४९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, मध्यान्हसम्ममा १० प्रतिशत बढेर सर्किट लागेको विशाल बजार कम्पनीको सेयरमूल्य कारोबारको अन्तिम समयसम्ममा ७ दशमलव ७९ प्रतिशत बढेको छ । ग्रिन डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्सको सेयरमूल्य यस दिन ६ प्रतिशतभन्दा बढी बढेको छ । हिमालयन डिस्टिलरी लिमिटेडको सेयरमूल्य यस दिन ६ प्रतिशत घटेको छ । ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य साढे ५ प्रतिशत घटेको छ भने अन्य कम्पनीहरूको सेयरमूल्य ५ प्रतिशतभन्दा कम घटेको छ ।

६ समूहको परिसूचक बढ्यो
यस दिन कारोबारमा आएका १२ समूहमध्ये ६ समूहको परिसूचक बढेको छ भने ६ समूहको परिसूचक घटेको छ । व्यापार समूहको परिसूचक यस दिन सर्वाधिक ४ दशमलव १८ प्रतिशत बढेको छ । विशाल बजार कम्पनीको सेयरमूल्य बढेपछि सो समूहको परिसूचक बढेको हो । विकास बैंक समूहको परिसूचक यस दिन १ दशमलव ६६ प्रतिशत, अन्य समूहको १ दशमलव शून्य ९ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ८४ प्रतिशत, वित्त समूहको शून्य दशमलव ३१ प्रतिशत र लघुवित्त समूहको शून्य दशमलव शून्य १ प्रतिशत बढेको छ ।

उत्पादनमूलक समूहको परिसूचक यस दिन सर्वाधिक २ दशमलव २८ प्रतिशत घटेको छ । त्यसैगरी, होटेल समूहको परिसूचक १ दशमलव ६ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव ६४ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ६१ प्रतिशत, म्युचुअल फन्ड समूहको शून्य दशमलव ३८ प्रतिशत र जीवन बिमा समूहको शून्य दशमलव २६ प्रतिशत घटेको छ ।

सिटिजन्स म्युचुअल फन्ड–२ जेठ ९ गतेदेखि
सिटिजन्स म्युचुअल फन्डले जेठ ९ गतेदेखि सिटिजन्स म्युचुअल फन्ड–२ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । यस योजनाले प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाइ निष्कासन तथा बिक्री खुला गर्न लागेको हो । निष्कासन बन्द छिटोमा जेठ १३ गते हुनेछ भने ढिलोमा असार ८ गते हुनेछ । योजनाले १० करोड इकाइ बिज पुँजीबापत १ करोड ५० लाख इकाइ कोष प्रवद्र्धकलाई सुरक्षित गरी सर्वसाधारणका लागि ८ करोड ५० लाख इकाइका लागि निष्कासन गर्नेछ । यस योजनाको कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेसनल रहेको छ ।

यस योजनाको अवधि ७ वर्षको रहेको छ । लगानीकर्ताले न्यूनतम १०० इकाइका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम २ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । यसको योजना व्यवस्थापक सिबिआइएल क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । यस म्युचुअल फन्डको कोष प्रवद्र्धकलाई इक्रा नेपालले मध्यम क्रेडिट क्वालिटी जनाउने इक्राएनपी–आइआर बिबिबी रेटिङ दिएको छ भने योजना व्यवस्थापकलाई इक्रएनपी एएमसी क्वालिटी ३ रेटिङ दिएको छ ।

प्राइमको साधारणसभा
प्राइम कमर्सियल बैंक लिमिटेडले जेठ २६ गते नेपाल एकेडेमी, कमलादीमा ११औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । साधारणसभा प्रयोजनका लागि बैंकले जेठ ९ गतेदेखि बुक क्लोज गर्ने भएको छ । वैशाख ३१ गते सम्पन्न कम्पनीको सञ्चालन समितिको बैठकले सो साधारणसभा र बुक क्लोजको निर्णय गरेको हो ।

गुराँसको २ः१ हकप्रद निष्कासन बन्द
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत २८ गतेदेखि २ बराबर १ अनुपातमा निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने म्याद जेठ १ गते सकिएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यको २९ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । इक्रा नेपालले कम्पनीले निष्कासन गरेको हकप्रद सेयरलाई ‘इक्राएनपी आइपिओ ग्रेड फोर’ रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कम रहेको संकेत गर्छ । हाल कम्पनीको चुक्ता पुँजी ५९ करोड ४० लाख रहेको छ । हकप्रद सेयर निष्कासन तथा बाँडफाँडपश्चात् कम्पनीको चुक्ता पुँजी ८९ करोड १० लाख पुग्नेछ ।

सन्राइजको ऋणपत्र बाँडफाँड
सन्राइज बैंकले वैशाख ३१ गते ‘१० प्रतिशत सन्राइज डिबेन्चर २०८०’ बाँडफाँड गरेको छ । कम्पनीले २०७५ चैत २० गतेदेखि २०७६ वैशाख १९ गतेसम्म सो ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको थियो । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

तारागाउँको साधारणसभा
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले जेठ २४ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा २२औँ साधारणसभा आयोजना गर्ने भएको छ । सभामा १२ दशमलव ६३१ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने, समूह ख र स्वतन्त्रतर्फ प्रतिनिधित्व गर्ने सञ्चालक नियुक्ति अनुमोदन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ ३ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published.