Categories
अन्तरास्ट्रिय

नागरिकता कानुन ठिक छ : नरेन्द्र मोदी

नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार दिल्लीस्थित रामलीला मैदानबाट धर्मका नाममा भ्रमित नहुन आह्वान गरेका छन्। नागरिकता कानुनमा भारतीय मुसलमानलाई कुनै भेदभाव नभएको उनले स्पष्ट पारेका छन्। उनले ‘विविधतामा एकता, भारतको विशेषता’ भएको भन्दै सबैलाई साथ दिन आग्रह गरे।

मोदीले विपक्षीले अफवाह फैलाएको भन्दै कागज, प्रमाणपत्र जस्ता शब्द लिँदै मुसलमानलाई भ्रम छरेको बताए। उनले भने, ‘हामीले गरीबको हितका लागि योजनामा यस्ता कुनै कागज मागेनौं।’ यसमा नागरिकता कानुन एकपल्ट पढ्न पनि आग्रह गरे। कानुन पढ्दै नपढी कसैले गरेको हल्लाका पछि नलाग्न पनि आह्वान गरे।

मोदीले भने, ‘तपाईँहरूले अफवाह फैलाउने व्यक्तिलाई चिन्नुहोस्। दुई खाले व्यक्तिले यस्तो अफवाह फैलाएका छन्। एकथरि जसको राजनीति दशकौंसम्म यस्तै गरीबलाई भोटबैंक बनाए र अर्काथरि त्यस्तो राजनीतिबाट फाइदा उठाएका थिए।’ उनले तुच्छ स्वार्थका लागि राजनीति नगर्न विपक्षी दलसँग आग्रह पनि गरे। झूटो बोलेर, फर्जी सन्देश फैलाएर राजनीति गर्न अप्ठेरो लाग्नुपर्ने भन्दै चिन्ता व्यक्त गरे।

उनले तोडफोडमा उत्रिएका प्रदर्शनकारीलाई पनि अराजक नहुन आह्वान गरेका छन्। स्कूल बस, रेल, मोटरसाइकिल, गाडी, साइकिल र साना पसलमा आगो लगाएर कसैलाई फाइदा नहुने उनको विचार छ। उनले भने, ‘मोदीलाई जनताले चुनेका हुन्। तपाईंलाई मोदी मन पर्दैन भने गाली गर्नुहोस्, विरोध गर्नुहोस्, मोदीको पुत्ला जलाउनुहोस् तर देशको सम्पत्ति नजलाउनुहोस्, गरीबको रिक्सा र झुपडीमा आगो नलगाउनुहोस्।’

कांग्रेस र वामपन्थी नेताले भारतमा मुसलमानलाई बन्दी बनाइएको छ भनेर अफवाह फैलाएका छन्। ती कहाँ छन् भनेर सोध्न पनि मोदीले चुनौती दिए। भारतका मुसलमानलाई नागरिकता कानुनले कुनै अप्ठेरो नपारेको उनले चर्चा गरे। एकपटक नागरिकता कानुन पढ्न पनि उनले सबैलाई आग्रह गरे।

Leave a Reply

Your email address will not be published.