सिड्नी । अस्ट्रेलियाको चर्चित द डेली टेलिग्राफ दैनिकको अनलाइन संस्करणमा डिसेम्बर दोस्रो साता विश्वका १० प्रभावकारी प्राथमिक शिक्षकमध्ये एक अस्ट्रेलियाका ग्याबिन मकमार्क हुन् भन्ने समाचार प्रकाशित भैरहँदा उनी आफ्नो स्कूल बिदाको घन्टी पर्खिदै थिए । अनलाइनखबरले उनी आराम गर्न स्कूल बिदाको घन्टी पर्खदैनन् भन्ने कथा यसअघि नै लेखि सकेको छ ।
उनी त स्कूल बिदाको घन्टी बजेलगत्तै झोला कसेर नेपालतर्फ हुइँकिन्छन् र दोस्रो दिनदेखि कुनै नेपाली स्कूलका भित्ताहरु रंग्याउन, फर्निचर र पाठ्य सामग्रीको व्यवस्थापन गर्न, पुस्तकालय स्थापना गरेर स्कूललाई हस्तान्तरण गर्न लागिपर्छन् ।
यस पटक भने उनको डिसेम्बर १४ मा नेपाल पुग्ने इच्छा उनको जहाजले हङकङ्गमा एक रात ढिलो गरिदिएकाले पुरा हुन सकेन । तर उनी डिसेम्बर १५ मा नेपाल पुगेर अरु आधा दर्जन स्वयंसेवकसँगै डिसेम्बर १६ मा झन्डै दुई हजार किलो शैक्षिक सामग्री बोकेको गाडीमा लोड भएर नवलपरासीको बर्दघाट ओर्लिए।
उनले आफ्ना साथीहरुले चन्दा स्वरुप दिएका झन्डै तीन हजार बाल पुस्तकहरु र अन्य शैक्षिक सामग्री अघिल्लो महिना नोभेम्बरमै नेपाल पठाइसकेका थिए । उनले जम्मा गरेको पाठ्यसामग्री मात्रै नेपाल पुग्न झण्डै चार लाख नेपाली खर्च भयो ।
त्यो रकम पनि उनका साथीहरुले तिरिदिए । उनले आफू नेपालमा जीर्ण अवस्थाको स्कूलमा रंग भरेर पाँच सय नेपाली विद्यार्थीको अहिलेलाई अनुहार र पछिलाई भविष्य उज्यालो गर्नेछु भनेपछि केही अस्ट्रेलियन युवा पनि यसपटक साथ लागे ।