Categories
राजनीतिक

सडको नामै कांग्रेस, एमाले !

बैतडी : दशरथचन्द नगरपालिका–२ देहिमान्डु बजारबाट पाटन–पञ्चेश्वर सडक जोड्न २०५७ मा नयाँ ट्र्याक खोल्ने प्रयास भयो। तर, केही स्थानीयले जग्गा मासिने भनेपछि जिल्ला सभापति जयसिंह विष्टको योजना पूरा भएन। जिल्ला सदरमुकामबाट पञ्चेश्वर सडक जोड्ने छोटो दूरी (झन्डै सात किलोमिटर) देहिमान्डु मात्र विकल्प थियो।

तत्कालीन जिविसले २०७२÷७३ मा दरशथचन्दकै सिलङाचौरबाट पाँच किलोमिटर ट्र्याक खोल्यो। यसले पाटन–पञ्चेश्वर सडकको कुमालीगाडमा जोड्छ। त्यही बेला अलि पर घुसुल्ला मोडबाट कुमालीगाडसम्म कांग्रेस नेताले अर्को सडक खन्न सुरु गरे। कांग्रेसका तारादत्त बडू र हरिदत्त शर्मा उपभोक्ता समितिका अध्यक्ष भए। ‘हामीले पछि तिर्ने सर्तमा ३८ लाख रकम जनताबाट उठाएर सडक खन्न सुरु गर्‍यौं’, दशरथचन्द नगरपालिकाका प्रवक्तासमेत रहेका ७ नम्बर वडाध्यक्ष चक्र शर्माले भने। उनका अनुसार नयाँ ट्र्याकको नाम कांग्रेस सडक राखिएको छ। ‘सडकको ट्र्याक खोल्न कांग्रेसका प्रतिनिधिले अगुवाइ गरेकाले जनमानसमा त्यसलाई कांग्रेस सडक भन्छन्’, उनले भने। यो सडकका केही स्थानमा ग्राभेल गरिएको छ। सडकले दशरथ चन्दनगरपालिका–२ ज्वाकट्या र दुधेखाली गाउँ जोड्छ।

तत्कालीन एमालेले पनि २०५७ मा जग्गा विवादले रोकिएको स्थानबाट कुमालीगाडसम्म ट्र्याक खोल्ने काम सुरु गर्‍यो। कांग्रेसको पकड भएको स्थानमा सडक जाने भएपछि एमालेले पनि आफ्नो क्षेत्रमा ट्र्याक खोल्ने काम गरेको उपभोक्ता समितिका अध्यक्ष सूर्यबहादुर बोहराले बताए। ‘हामीले कार्यकर्ताबाट ३० लाख रकम उठायौं’, उनले भने, ‘केही रकम जनकालिका सहकारीबाट ऋण लिएर सडक ट्र्याक खोल्यौं।’ उनी स्थानीय निर्वाचनमा एमालेबाट वडाध्यक्ष पदमा उठेर हारेका थिए।

घुसुल्ला मोडबाट कुमालीगाडसम्म कांग्रेस सडक, देहिमान्डुको नयाँ बजारबाट कुमालीगाडसम्म एमाले सडक र सिलङाचौरबाट कुमालीगाडसम्म सर्भे सडकका नामले चिनिन्छ। जिविसले खनेको सडकमा ८० लाख रुपैयाँ खर्च भएको थियो। कांग्रेस सडकमा जिविस र नगरपालिकाले ८१ लाख रकम खर्च गरेका छन्। एमाले सडकमा जिविसको १९ लाखसहित ३५ लाखभन्दा बढी खर्च भएको छ। ‘हामीले जनताबाट उठाएको साढे १६ लाख रकम अझै तिर्न बाँकी छ’, एमाले सडकका उपभोक्ता समिति अध्यक्ष बोहराले भने, ‘सहकारीको २ लाख त म एक्लैले तिरेको छु।’

बैतडीको दशरथचन्द नगरपालिकामा तल्लो एमाले, माथिल्लो कांग्रेस सडक।

उनका अनुसार जिविसले बनाएको सडक महारुद्र मसानघाट भएर जाने भएकाले महिलाहरू हिँड्दैनन्। महिनावारी भएका महिला मसानघाट थानबाट जानु हुँदैन भन्ने मान्यता छ। ‘ठकुरी महिलाले त अझै महिनावारी नभएका बेला पनि जानु हुँदैन भन्ने मान्यता छ’, उनले भने, ‘त्यही थानमा सडक गएकाले हामीले अलग्गै ट्र्याक खोलेका हौं।’ जिविसको सडकले एक मात्र जरकट्या बस्ती छुने भएकाले त्यो अपायक भएको दाबी उनले गरे।

यसपटक तीनै सडकमध्ये स्तरोन्नतिका लागि कुनमा बजेट पार्ने भनेर विवाद देखिएको छ। तत्कालीन एमालेबाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित लीलाधर भट्टले एमाले सडक सबैभन्दा बढी गाउँ भएर जाने र छोटो पनि भएकाले त्यसमा बजेट विनियोजन भएको बताए। उनले आफ्नो सांसद विकास कोषबाट १५ लाख विनियोजन गरेका छन्। एमालेबाटै निर्वाचित प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले २० लाख रकम छुट्याएका छन्। ‘ग्रेड मिलाउन रकम विनियोजन गरिएको हो’, भट्टले भने, ‘सबैभन्दा छोटो सडक छ।’

कांग्रेसका जिल्ला सभापति नरेन्द्र थापाले भने घुसुल्ला मोडबाट कुमालीगाड हुँदै सुर्कालको ढलौनसम्म १० किलोमिटरका लागि डीपीआर तयार भइसकेको बताए। ‘अब डीपीआर भएको सडकको स्तरोन्नति गर्ने कि अरू कुनै ? ’, उनले भने, ‘यो जसले पनि थाहा पाउने कुरा हो।’ कांग्रेस नेता रमेश लेखक भौतिक पूर्वाधारमन्त्री भएका बेला जिविसमार्फत रकम आएको उनले सुनाए।

संघीय सांसद दामोदर भण्डारी अर्थ राज्यमन्त्री भएका बेला तीनै सडकका लागि जिविसबाट रकम आएको नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालको भनाइ छ। ‘खन्न सुरु भइहाले, गन्तव्यसम्म पुगाउनै पर्ने भयो’, उनले भने, ‘त्यसैले एमाले, कांग्रेस नभनेर रकम विनियोज भएको हो।’
बैतडीको दशरथचन्द नगरपालिका–२ मा एमाले र कांग्रेस सडक जोडिएको ठाउँ।

Leave a Reply

Your email address will not be published.