काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालेन साहसँग सहकार्य गर्न तयार भएको बताउनु भएको छ ।
काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउनेसहित अन्य विषयमा नवनिर्वाचित मेयर साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको उहाँले बताउनुभयो ।
अध्यक्ष नेपालले लोकप्रिय मतसहित काठमाडौंको मेयरमा निर्वाचित साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिनुभयो ।
नेपालले जारी गरेको सन्देशमा बालेनले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौंलाई उत्कृष्ट सहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवं सहकार्य गर्न आफ्नो पार्टी सदैब तत्पर रहेको भनिएको छ ।
नेता नेपालले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख, वडाध्यक्षहरू तथा सम्पूर्ण जनप्रतिनिधिहरूलाई पनि बधाई दिनुभयो ।
कांग्रेसबाट धमाधम राजीनामा
स्थानीय तहको निर्वाचनमा कांग्रेसले सबैजसो स्थानमा पराजय भोगेपछि नेपाली कांग्रेसका नेताहरुले धमाधम राजीनामा दिन थाल्नुभएको छ ।
पराजयको कारणमा जिल्ला नेतृत्व दोषी देखिएको दाबी गर्दै नगर तहका नेताले राजीनामा दिनुभएको हो ।
देवचुली नगरपालिकाका पार्टी सभापति डिल्लीराम कडरिया र कावासोती नगरपालिकाका सचिव विनोद रानामगरले राजीनामा दिनुभएको हो ।
रानाले दिएको राजीनामा पत्रमा स्थानीय तहको निर्वाचनमा पार्टीले लज्जास्पद हार ब्यहोरेका कारण पदमा बसिरहन उपयुक्त नदेखिएको बताउनुभएको छ ।कावासोती र देवचुली नगरपालिकामा उम्मेदवार नमिलेकै कारण पार्टीले पराजय भोग्नुपरेको उहाँहरुले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ । अन्य वडा र प्रदेश कमिटीमा रहेका सदस्यले पनि राजीनामा दिनुभएको छ ।
पार्टीको केही महिनाअघि सम्पन्न निर्वाचनमा सर्वाधिक मत ल्याएर कावासोती नगर सचिव चुनिनुभएका राना स्थानीय तहको निर्वाचनमा वडा १३ मा वडाध्यक्षको उम्मेदवार भएर पराजित हुनुभयो । उहाँ २०७४ मा निर्वाचित वडाध्यक्ष हुनुहुन्छ ।
त्यसैगरी देवचुली नगरपालिकाका पार्टी सभापति डिल्लीराम कडरियाले जिल्लाभरी कांग्रेसले नराम्रो पराजय भोगेको थियो ।
उहाँले देवचुलीमा कांग्रेसका लज्जास्पद हारका पछाडि जिल्ला नेतृत्वको मुख्य हात रहेको दाबी गर्नुभयो । पार्टी जिल्ला नेतृत्वले जनमत नभएका व्यक्तिलाई खोजीखोजी टिकट दिएको र पराजय भोग्न परेको उल्लेख राजीनामा पत्रमा छ ।
पूर्वी नवलपरासीको ८ स्थानीय तहमध्ये ६ वटामा कांग्रेस पराजित भएको छ ।
यहाँको विनयी त्रिवेणी र बुलिंटार गाउँपालिकामा कांग्रेसकै अन्तर्घातका कारण पराजित भएको नेताहरुको भनाई छ ।
२०७४ मा ६ पालिकामा बहुमतसहित मुख्य पदमा कांग्रेस निर्वाचित भएको थियो । यसपटक हुप्सेकोट र गैंडाकोट नगरपालिकामा मात्र कांग्रेस बहुमतसहित विजयी भएको छ । अन्य ६ वटा पालिकामा पराजित भएको छ ।