Categories
बिचार

म त सोह्र सत्रकी- छुल्ठिम डोल्मा

छुल्ठिम डोल्मा गुरुङ अहिले नेपाली फिल्ममा छाइरहेकी छन् । ‘नोभेम्बर रेन’ फिल्ममा उत्कृष्ट सहअभिनेत्रीको अवार्ड थापेकी उनका लागि भदौको चौथो साता खास समय हो । उनी भदौ २५ मा जन्मदिन मनाउँदै छिन् भने उनको ‘पासवर्ड’ फिल्म भदौ २७ मा रिलिज हुँदै छ ।

तीज सकिएको छ तर कलाकारलाई तीजको ह्याङले छाडेको छैन । नायिका छुल्ठिम पनि तीज विशेष कार्यक्रमका लागि यसै साता ओमान जाँदै छिन् । उनीसँग गायक विराज गौतमलगायतको टोली छ । कार्यक्रममा छुल्ठिमले नृत्य पस्किने छिन् । यसपालिको दसैं विशेष कार्यक्रमका लागि जापान, कोरियालगायत देशमा उनको कार्यक्रम तय भइसकेको छ ।

‘नोभेम्बर रेन’ पछि दुई वर्षजति हराएकी छुल्ठिम ‘डायरी’ फिल्ममार्फत पुनः कलिउडमा कमब्याक भइन् । उनका ‘नेप्टे’, ‘मेरो पैसा खोइ ? ’, ‘रियल रिंगेट’, ‘यता न उता’, ‘पसिना’लगायतका फिल्म छन् । कलिउड प्रवेश गरेको पाँच वर्षको यस अवधिमा दुई वर्ष हराए पनि हाल उनका फिल्म हेर्दा व्यस्त कलाकारको रूपमा देख्न सकिन्छ ।

आम बुझाइमा गुरुङ भन्नेबित्तिकै पहाडको बसाइमा घुलमिल हुने व्यक्ति बुझिन्छ । तर छुल्ठिमलाई पहाड बसाइको अनुभव नै छैन, कहिलेकाहीँ घुम्न जानु अलग कुरा । उनी तराईको बारा, डुमरवानामा जन्मिएर हुर्किएकी हुन् । उनको माध्यमिक कक्षाको पढाइ पनि बारामै भएको हो । बाबाले साथीहरूसँग मिलेर खोलेको ‘एक्स सर्भिसम्यान एकाडेमी’ मा उनले एसएलसीसम्म पढिन् । स्कुलमै नाच्न, गाउन, तेक्वान्दोलगायत गेममा पोख्त भइन् । आर्मीहरू नाच्न, गाउन हुुरुक्क हुन्छन् । उनका रिटायर्ड आर्मी बाबाले मादल ठोक्दै गीत गाए, उनले घुँगरु लगाएर नाचिन् । यसरी छुल्ठिमले अहिले फिल्ममा देखाइरहेको ठुम्का बाल्यकालमा उनले बाबासँग सिकेको नृत्यको आधार हो भन्दा फरक परोइन ।

उनका हजुरबाको घर धादिङको सत्यवती हो । तर उनका बाबा इन्डियन आर्मीबाट रिटायर्ड भएपछि बारामै घरजम गरेर बसे । छुल्ठिमका अनुसार बाराको उनको गाउँमा ५५÷६० वटा घरमध्ये गुरुङको घर उनीहरूको मात्रै थियो, बाँकी सबै थारू समुदाय । त्यसैले उनी अहिले पनि वीरगन्जिया लवजमा भोजपुरी मिसिएको थारू भाषा फर्रर बोल्छिन् । गाउँ छाडेर काठमाडौं बस्न थालेको डेढ दशक भयो छुल्ठिमको । तर अझै पनि उनलाई त्यहाँ छँदा थारू सखीहरूसँग छठी माईको व्रत बसेको, सामाचकेवा चाडमा सामा बाँधेको झल्झली याद आउँदो रहेछ । उनले मन मिल्ने थारू साथीहरूको नाम टिपाउन थालिन्— पूर्णिमा, राशि, धर्मराज आदि ।

छुल्ठिमकै शब्दमा उनलाई लप्पनछप्पन आउँदैन रे । तर खै कसरी पो हो, गायक धीरज राईको लप्पनछप्पनमा ११ वर्ष परिन् । अहिले जिन्दगी स्वतन्त्र छ । बाबाआमासँग धापासी बस्छिन् । रंगमञ्च नै उनको जिन्दगी बनेको छ । गायक राईले अर्को घरजम गरे पनि उनले यस विषयमा सोच बनाएकी छैनन् । फिल्ममा करिअर बनाउनुअघि रेडियो, टेलिभिजनमा आरजे रहेकी उनी अहिले पनि ननस्टप बोलिरहन्छिन् ।

छुल्ठिम, लामाले अनुष्ठान गरेर राखिदिएको नाम । यसको अर्थ सहनशील भन्ने लाग्छ । डोल्मा भनेको नामपछाडि आउने कुमारीजस्तै हो । गुरुङ त उनको जाति भइहाल्यो । उनले त्यसपछि पनि जोडेकी छन्, ‘डिम्डुङ ।’ यो गुरुङभित्रको अर्को थर हो । छुल्ठिमलाई अब नेपाली फिल्म इन्डस्ट्रीमा लामो समय काम गर्न मन छ ।

छुल्ठिम शुद्ध शाकाहारी हुन् । थारू साथीहरूको सरसंगतमा हुर्के पनि मांसाहारी खानामा उनको ध्यान गएन । त्यसमाथि सानैमा लामाले अनुष्ठान गरेर नाम राखिदिएपछि पञ्चशील संस्कार पछ्याउँदै भेज खाना नै मेनु भयो ।

उनका साथीहरू धेरै पढेर ठूला हाकिम भएका छन् । सोसियोलोजीमा स्नातक सकाएकी छुुल्ठिम स्नातकोत्तर भर्नासम्म भइन् तर फिल्मले पढ्ने समय खाइदियो । अहिले बाबाआमाले के गर्ने, कसो गर्ने भन्नेमा तिमी स्वतन्त्र छौ भनेपछि अब पढाइमा जाँगर लागेको छैन ।

आफ्नो जीवनमा जे कुरा पनि अचानक भएजस्तो लाग्छ उनलाई । दुई दाइ, दुई दिदीपछि उनी कान्छी हुन् । उनी माथिको दिदीसँग दस वर्षको फरक छ । ४० वर्षको उमेरमा आमाको गर्भ रहेपछि के गर्ने भन्नेमा आमा विलखबन्दमा परिन् । तर बाबाले हुर्काउने जिम्मा लिएपछि छुल्ठिमले संसार देख्न पाइन् । रिटायर्ड लाहुरेले छोरी स्याहार्ने काम पाए । यसरी छुल्ठिमको जिन्दगीमा दुःखको घाम नै छिरेन ।

उनका बाबा कुनै समयमा वडाध्यक्ष थिए । नेताहरू घरमा आइरहने । बाबासँग उनी कार्यक्रममा गइरहने । त्यसैले औंला ठड्याउँदै म पनि नेता बन्छु भनेर उनी बाआमालाई सुनाउँथिन् । भन्छिन्, ‘नेत्री भइनँ । तर त्यही सपनाले अभिनेत्री बनायो । अब रंगमञ्चबेगरको जिन्दगी सोच्न पनि सकिन्न ।’

‘वी विल राइज’ अभियानमार्फत उनी संग्लग्न टिमले हालै मात्र आफ्नो गाउँको चिनारी दिलाउने ‘मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेन्ज प्रतियोगिता’ गराएको छ । पर्यटन प्रवद्र्धन गर्न यो प्रतियोगिता अर्को वर्ष पनि हुनेछ । छुल्ठिम भन्छिन्, ‘सबै गाउँघर, कुनाकाप्चा घुम्ने फुर्सद हुन्न । भिडियो च्यालेन्ज प्रतियोगितामा प्रत्यक्ष सहभागी भएपछि प्राप्त एक सय ३२ वटा सबै भिडियो हेर्ने मौका पाएकी छु । यसले प्रत्यक्ष घुमघामको अनुभूति भयो ।’ फिल्म मेकिङमा पनि यसले सघाउने उनको बुझाइ छ ।

नङ पाल्ने सोख छ, छुल्ठिमको । उनका दुवै हातका प्रायः सबै नङ लामा छन् । ‘बबी ब्राउन’ ब्रान्डको क्रिम लगाउँछिन् उनी । अनि ‘लोरियल’ ले कपाल रंगाउँछिन् । ‘न्यु लुक’, ‘जारा’लगायतका जुत्ताचप्पल उनलाई कम्फर्टेबल लाग्छ । भन्छिन्, ‘उमेरले नेटो काट्दै गए पनि मलाई त किन हो आफू सोह्र–सत्रकै लाग्छ ।’ मन परेको लाउने, मन परेको खाने, मन परेको ठाउँ घुम्ने उमेर त हो सोह्र–सत्र । स्वतन्त्र जीवन बाँचिरहेकी छुल्ठिमलाई त्यसो किन पो नलागोस् ।

Leave a Reply

Your email address will not be published.