Categories
ताजा समाचार

सागमा पदक जितेका नेपाली खेलाडीलाई प्रधानमन्त्रीले भेटेर बधाई दिँदै, पुरस्कार घोषणाको तयारी

२५ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता नेपाली खेलाडी, तिनका प्रशिक्षक र पदाधिकारीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेर बधाई दिने भएका छन् ।

भेटघाटका लागि उनीहरुलाई प्रधानमन्त्री ओलीले बुधबार बालुवाटारस्थित निवासमा बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटघाटको लागि दिउँसो सवा २ बजेको समय निर्धारण गरिएको छ ।

सो अवसरमा प्रधानमन्त्रीले खेलाडीहरुलाई सम्बोधन गर्ने र प्रोत्साहनस्वरुप पुरस्कारसमेत घोषणा गर्ने तयारी छ ।

साग प्रतियोगितामा ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जित्दै नेपाल दोस्रो भएको छ । प्रधानमन्त्री ओली अस्वस्थ भएका कारण सागको उदघाटन र समापन समारोहमा सहभागी हुन पाएका थिएनन् । उनले समापन समारोहको दिन मंगलबार भिडियो सन्देशमार्फत् खेलाडीहरुलाई बधाई दिएका थिए ।

सागको ड्रोन प्रस्तुतिमा लिपुलेक छैन, सरकारमाथि गम्भीर प्रश्न

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको समापन मंगलबार भएको छ । भब्यताका साथ समापन सकिएको छ । नेपालले समापनलाई यादगार बनाउन १५० वटा ड्रोनको समेत प्रयोग गरेको थियो ।

ड्रोनमार्फत बनाइएको नेपालको नक्सामा भने भारतले नयाँ नक्सामा आफ्नोतर्फ समेटेको लिपुलेकलाई समावेश गरिएको छैन ।

यो गल्ती हो वा केपी शर्मा ओली नेतृत्वको सरकारले जानीजानी गरेको हो ? यससम्बन्धमा सरकारले जवाफ दिनु जरुरी छ ।

ओली सरकारले भारतद्धारा सीमा मिचेको नक्सा सार्वजनिक हुँदा पनि कुनै चासो देखाउन सकेको छैन । कटुनीतिक पहल गर्नुको सट्टा ओलीले आफ्ना भ्रातृ संगठनका कार्यक्रममा गएर भारतलाई गाली गर्ने गर्छन् ।

त्यतिमात्र हैन परराष्ट्र मन्त्रालयले समेत फितलो विज्ञप्ति निकालेर टारेको यथार्थ हामी सामु छ । यतिसम्म पनि यति ठूलो सीमाको विषयमा केवल नेपाली भाषामा मात्र निकालिएको विज्ञप्तिले भन्छ कि त्यो विज्ञप्ति भारतलाई समेत देखाइएन ।

यो कमजोरीको पछाडि ओली सरकारको नियत अझै स्पष्ट भइसकेको छैन । त्यसमाथि सातै राष्ट्रका प्रतिनिधि रहेको सागको समापनमा सही सन्देश दिन नसक्नु सरकारको कमजोरी हो ।

या जानीजानी सरकारले यसलाई प्रश्रय दिएको हो भने यो गम्भीर आपत्तिजनक छ । ड्रोनको प्रयोगमा युनिकपन छ । तर आफ्नो सही नक्सा बनाउन नसक्नेलाई कार्वाही किन नगर्ने भन्ने गम्भीर प्रश्न खडा भएको छ ।

‘सीमा चिनाऔं माटो बचाऔं’ भन्दै नवराज त्रिपाठीहरुले अभियान नै चलाइरँदा सरकारले गरेको यो गल्तीलाई के भनेर बुझ्ने ?

 

Leave a Reply

Your email address will not be published.