Categories
ताजा समाचार

कालापानीबारे फेरि बोले देउवा, भने– अंग्रेजको नक्सामा समेत त्यही छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काली पूर्वको भूभाग नेपाली भूमि भएको बताएका छन् ।नेपाल प्रेस युनियन नवलपुर शाखाले आयोजना गरेको सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले काली पूर्वको कालापानीसहितको भूभाग नेपालको भएको बताए।

महाकाली सन्धिमा समेत स्पष्टरूपमा महाकाली नदी सीमा नदी र पानी आधाआधा भनी स्पष्ट किटान गरिएको बताउँदै उनले यसको पूर्वको भूभाग नेपालको भएकोे बताए ।भारतले काली नदी र नेपालले महाकाली भन्ने गरिएको नदी नै सीमा नदी भएको हुँदा यस पूर्वको भाग नेपालको भएको उनले बताए ।

सभापति देउवाले अंग्रेजले छापेको नक्सामा काली नदी र तिब्बती नक्सामा कुटियाङ्दी नदी भन्ने गरेको नदीनै महाकाली नदी भएको बताउँदै यसैलाई सीमा नदी मानेको हुँदा यस पूर्वको भाग नेपालको भएको बताए ।

सभापति देउवाले भारतले नक्सा छापेर कालीपानी आफ्नो भनेकोमा यसको विरोध सरकारले कडा रूपमा गर्नुपर्ने बताए ।उनले आफूहरू सबैले यस विषयमा अगाडि बढ्नुस् भनेर सरकारलाई भनेको भएपनि सरकारले अग्रसरता नदेखाएको आरोप लगाए ।

प्रेस स्वतन्त्रता नभएसम्म प्रजातन्त्र टिक्न नसक्ने बताउँदै उनले भने, “यसकारण प्रेस स्वतन्त्रता हुनुपर्छ ।” उनले प्रेसमाथि हुने हमला भनेको प्रजातन्त्र माथिको हमला भएको समेत बताए ।

Leave a Reply

Your email address will not be published.