१३औं दक्षिण एसियाली खेलकुद (साग) खेल्न गौरिका सिंह अहिले नेपालमा छिन्।
लण्डनमा बसोबास गर्ने गौरिका सिंहले पौडीको २ सय मिटर फ्रिस्टाइलमा बिहीबार ऐतिहासिक स्वर्ण हात पारिन्।
२ सय मिटर फ्रिस्टाइलमा प्रतिष्पर्धा गर्न सातदोबाटो पुगेकीू गौरिकाको जब भारतीय खेलाडीलाई पछि पारिन् नेपाली समर्थकले भुँइ उचालिने गरि चिच्याए।
‘घरेलु दर्शकको उत्साहले मेरो सातो लियो’, गौरिकाले आफ्ना लागि आएका समर्थकबारे टिप्पणी गर्दै भनिन्न, ‘यो ओलम्पिकमा हुने चियर्स जित्तिकै थियो। धेरै मानिसले आफूलाई बाहिर बसेका कारण विदेशी भएको टिप्पणी गर्ने गरेको प्रति उनले दु:ख व्यक्त गरिन्। ‘धेरैले बाहिर बस्छ भन्छन्, नेपाली होइन भनेर भन्छन्। यो मेरो स्वर्ण नेपालका लागि हो।’
उनले लण्डनमा आफूले तयारी गर्दाको पानी र नेपालको पानी उस्तै रहेको बताइन्।
‘नेपालको पानी अलिक चिसो रहेछ’, गौरिकाले हाँस्दै नयाँ हिटिङ स्वमिङ पुलबारे टिप्पणी गरिन्, ‘तर लण्डको जस्तै बनेछ।’
गौरिकाले भारतकी सुभांगी सिंहलाई पछि पार्दै स्वर्ण हात पारेकी हुन्। उनले निर्धारित दूरी २ मिनेट ०५.०६ सेकेन्डमा लक्ष्य पूरा गरिन्।
श्रीलंकाकी गंगा सेन तेस्रो भइन्। सागमा पौडीमा व्यक्तिगत प्रतिस्पर्धामा नेपालले स्वर्ण जितेको यो पहिलो पटक हो।
यसअघि नेपालले १९९९ मा टिम रिलेमा स्वर्ण जितेको थियो। नेपालले साग इतिहासमा पौडीमा २० वर्षपछि स्वर्ण जितेको हो।
गौरिकाले सन् २०१६ मा भारतमा भएको १२औं सागमा रजत र कास्य पदक जितेकी थिइन्।