झापा। सर्वोच्च अदालतले व्यक्ति विशेषको प्रभावमा परी अर्बाैं रुपैयाँबराबरको गुठीको जग्गा व्यक्तिको नाममा गरिदिएको भन्दै झापाका सरकारी अड्डाले त्यसलाई कार्यान्वयन गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशहरु गौरी ढकाल र राजेन्द्र कोइरालाले ९ फागुन २०६६ मा झापाको विर्तामोड नगरपालिकास्थित विर्ताबजारको अनारमनी देवी गुठी स्थानको साढे ५ बिघा जमिन चारजनाको नाममा जोतभोगको व्यवस्था मिलाउनु भनी फैसला गरेका थिए । सो फैसला कार्यान्वयनका लागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयबाट पाँचपटक ताकेता गर्दा समेत झापाका सवै सरकारी अड्डाले यस्तो फैसला कार्यान्वयन नगर्ने आन्तरिक सहमति गरी म्याद गुजारेका हुन् ।
स्थानीय डोमालाल राजवंशीले २०११ सालमा अनारमनी देवी गुठी स्थानका नाममा दान दिएको १३ बिघा जग्गामध्ये साढे ५ बिघामा मोहीको दाबी गर्दै सूर्यकुमार विमली, रमेश महर्जन, टीकादेवी विमली र केशवप्रसाद विमलीले सर्वोच्च अदालतबाट जोतभोग गर्ने व्यवस्था मिलाइदिने भन्ने आदेश गराउन सफल भएका थिए । तर, सर्वोच्चले हचुवामा आदेश दिएको सरकारी अधिकारीको दाबी छ ।
१० वर्षअघि सर्वोच्च अदालतले दिएको सो गुठीको जग्गा व्यक्तिको नाममा चारकिल्ला गरी भोगचलन गर्ने व्यवस्था गरिदिनू भन्ने फैसलालाई झापाका सम्बन्धित सरकारी निकायले कार्यान्वयन नगर्ने भएका हुन् । न्यायाधीशहरुले प्रभावमा परेर सरकारी गुठी जग्गा व्यक्ति विशेषको नाममा जाने गरी फैसला गरेको निष्कर्ष निकाल्दै झापाका मालपोत, नापी, प्रहरी, विर्तामोड नगरपालिका र जिल्ला प्रशासन कार्यालयले अदालतको फैसलालाई आलटाल गर्दै म्याद गुजारेपछि गुठीको जग्गा हडपिने प्रयासबाट बचेको छ । गुठीको जग्गा हडप्ने प्रयासमा लागेका व्यक्ति विशेषकै रुचिअनुसार सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले पाँचपटक ताकेता गरे पनि झापाका सरकारी कार्यालयले सो निर्देशनबमोजिम गरेनन् ।
स्रोतका अनुसार सबै सरकारी कार्यालय मिलेर अदालतको फैसलालाई प्रक्रियामा छ भन्दै निश्चित म्याद गुजारिदिएका हुन् ।
भूमि सुधार कार्यालयले मालपोतलाई, मालपोतले नापीलाई, नापीले सीडीओ कार्यालय र सीडीओ कार्यालयले प्रहरीलाई पत्राचार गर्दै ‘प्रक्रिया मात्र पूरा गर्दै छौं’ भन्दै निश्चित समय गुजारिदिएपछि सो फैसला कार्यान्वयन नहुने अवस्थामा पुगेको हो । कुन कुन न्यायाधीशले के के फैसला गरे म जान्दिनँ । यो जग्गा अनारमनी देवी गुठी स्थानकै हो। कसैले भोग चलन गर्छु भन्न नसोचे हुन्छ । धु्रबकुमार शिवाकोटी, प्रमुख, विर्तामोड नपा
यस्तो छ हडप्न खोजिएको गुठी जग्गाको कथा
२०५२ सालमा अनारमनी देवी गुठी स्थानको नामबाट राज गुठीमा परिणत गराई गुठीको जग्गा व्यक्तिको नाममा लगिएको थियो । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले ३० वैशाख २०६७, २२ वैशाख २०६९, १० चैत २०७० र २९ साउन २०७२ मा समेत ताकेता पत्र लेख्दै मालपोत कार्यालयलाई चार किल्ला छुट्याइदिन भनेको थियो । विमलीसहित चारजनालाई भोगचलन गर्न दिने व्यवस्था मिलाउनुभन्ने कित्ता नम्बर २९४ को ३८७० वर्ग मिटर र २९५ को ३९८४० वर्ग मिटर डोमालाल रंगशाला र त्यसको वरपरको जग्गा पर्दछ ।
प्रतिधुर ३ देख ४ लाख रुपैयाँ मूल्यमा बेचबिखान हुन सक्ने सो जग्गा चारजनालाई किन भोग चलन गर्न ढिलाइ गरेको भन्दै ७ भदौ २०७२ मा भूमि सुधार मन्त्रालयले झापाको भूमि सुधार कार्यालयलाई समेत ७ दिनभित्रमा सो व्यवस्था मिलाउनू भन्दै पत्राचार गरेको थियो । तर, मालमोत तथा भूमि सुधार कार्यालय झापाले सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालय र मन्त्रालयलाई सो फैसला कार्यान्वयन गर्न नसकिने आशयका साथ पत्राचार गरेको स्रोतले बताएको छ ।
‘हामीले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले समेत सोही जग्गामा खेलकुद मैदान रंगशालाको शिलान्यास गरेको र सार्वजनिक रूपमा प्रयोग भइरहेको स्पष्ट खुलाएर पत्र पठाएका छौं,’ विर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी भन्छन्, ‘कुन कुन न्यायाधीशले के के फैसला गरे म जान्दिनँ । यो जग्गा अनारमनी देवी गुठी स्थानकै हो । कसैले भोग चलन गर्छु भन्ने नसोचे हुन्छ । अनारमनी देवी गुठी स्थानको नामको जग्गा कसरी राज गुठीमा अदालतले लाने फैसला गरिदियो र व्यक्तिको नाममा दियो । हामी आश्चर्यचकित छौं । यो कार्यान्वयन हुँदैन । यो अतिक्रमण र अपचलन गरिएको हो कसको प्रभावमा को प¥यो ? गठित सर्वोच्च आयोगले खोजोस् । राज गुठीमा लगेको बखत म तत्कालीन अनारमनी नगर उन्मुख गाविसको अध्यक्ष थिएँ । मलाई थाहा नभई कसरी गुठीमा गयो ? यो भूमाफियाको खेल हो । यो कसैलाई मान्य हँुदैन ।’
उता, तत्कालीन अनारमनी देवी गुठी स्थानका सचिव गणेश ओलीले आफूले नै राज गुठीमा लाने निर्णय गराएको स्विकारे। उनले भने, ‘सबै राजनितिक दलको कमाइ खाने भाँडो भयो । अनि, मेरै पहलमा राज गुठीमा लाने निर्णय भएको हो । तर, कसरी बिना सरोकारवाला व्यक्तिको नाममा जग्गा अदालतले फैसला ग¥यो, मलाई नै थाहा छैन ।’
अनारमनी देवी गुठी स्थानको मोही भनिएका बिर्खबहादुर मगर र शान्तादेवी खड्काको विषयमा सर्वोच्चले केही बोलेको छैन । हाल सो जग्गामा भीमप्रसाद दहालका छोरा श्यामकुमार विष्ट, र बिर्खबहादुर मगरका छोराले घर बनाई बसेका छन् । धनीपुर्जा जो सुकैको नाममा होस्, भोगचलन गर्न आउने अवस्था छैन । आए भने भौतिक सुरक्षामै खतरा छ,’ रंगशालाको संरक्षणमा जुटेका जलकुमार गुरुङ भन्छन् । स्रोतका अनुसार विमली परिवारलगायतले रमेश महर्जनले आफ्नो नाममा ल्याउन खर्चेको २४ लाख रुपैयाँ दिए जग्गा फिर्ता गरिदिने भन्दै विभिन्न माध्यमबाट संवाद गरिरहेको छ ।