Categories
ताजा समाचार

श्रममन्त्रीबाट गोकर्ण विष्ट बाहिरिएसँगै मलेसियाले माग्यो नेपालसँग ३१ हजार कामदार, कुनमा कति ?

काठमाडौं । मलेसियाले नेपालसँग ३१ हजार कामदार माग गरेको छ । पूर्वमन्त्री गोकर्ण विष्टको पहलमा मलेसियामा नेपाली कामदार जाने प्रक्रिया रोकिएको थियो । उनी मन्त्रीबाट हटेको दुई साता नबित्दै डेढ वर्षसम्म ठप्प मलेसियाको रोजगारी पुनः सुचारु भएको हो ।

मलेसियाले विभिन्न पाँच क्षेत्रका लागि ३१ हजार दुई सय नेपाली मजदुरको माग पठाएको छ । मलेसियास्थित नेपाली दूतावासमा मागपत्र प्रमाणित भई विभिन्न पाँचवटा क्षेत्रका लागि ३१ हजार बढी नेपालीको माग आएको हो ।

मागपत्रमध्ये औद्योगिक क्षेत्रका लागि १७ हजार ११६, सेवा क्षेत्र (सेक्युरिटी गार्डसहित) का क्षेत्रमा १० हजार १८३, कृषि क्षेत्रका लागि १ हजार ४७५, प्लान्टेसनमा १ हजार ३९७ र निर्माण क्षेत्रमा १ हजार ३० श्रमिकका लागि माग आएको छ ।नेपाल र मेलेसिया सरकारबीच एक वर्षअघि सम्पन्न कामदारको नियुक्ति, रोजगारी तथा घरफिर्तीसम्बन्धी समझदारी भएको थियो ।

सुशील कोइराला नेतृत्वको सरकारका श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले फ्रि भिसा, फ्रि टिकेटको अवधारणा अघि सारिसकेका थिए र यसमा मलेसिया सहमत पनि थियो । तर, तत्कालीन श्रममन्त्री विष्टले शून्य लागतलगायतको प्रावधान राख्न भन्दै डेढ वर्षसम्म मलेसियामा नेपाली कामदार पठाउनबाट रोकेका थिए । यसबाट नेपालले अर्बौं रुपैयाँ रेमिटेन्स गुमाएको थियो ।

नेपालीका लागि सबैभन्दा सहज रोजगारीको गन्तव्य मलेसिया रोकिँदा झन्डै पाँच लाख बेरोजगार नेपाली युवा स्वदेशमै थन्किए भने त्यसको प्रत्यक्ष प्रभाव रेमिटयान्समा समेत देखिइसकेको छ ।

Leave a Reply

Your email address will not be published.