तेस्रो मुलुकसँग व्यापार तथा पारवहनमा पहुँच विस्तार गर्न नेपालको राष्ट्रिय झण्डासहितको पानीजहाज सञ्चालन गर्न भारतसँग सहमति भएको खबर राजधानी दैनिकमा छापिएको छ ।राजधानीमा बुधबार सम्पन्न नेपाल भारत पारवहन सन्धि पुनरावलोकन द्धिपक्षीय बैठकमा यस्तो सहमति भएको हो ।
नेपाली झण्डासहितको पानीजहाज सञ्चालनपछि आयात निर्यातमा नेपालको पहिचान झल्किने विश्वास गरिएको छ ।नेपालको पारवहन तथा आन्तरिक जलमार्ग उपयोग गर्न नेपाल भारत पारवहन सन्धि प्रोटोकलमा जलमार्ग एवम् बहुविधिक रुट दुवानी प्रक्रिया र व्यवस्था तथा भन्सार सहजीकरण सहमति भएको हो ।
नेपालसँग चीनको चित्त दुखाई
मानवअधिकारको नारा होस् वा व्यापार सम्बन्धको कारण नै किन नसहोस्, दुःख दिने अमेरिकासँग भीसा प्रकरणलगायत अनेक माध्यमबाट नजिकिने काम नेपालले गर्न थाल्यो । सबभन्दा बढी पर्यटक पठाउने अवस्था हुँदाहुँदै पनि हाम्रो संवेदनालाई चिमोट्ने काम भएको भन्दै प्रकट/अप्रकटरुपमा चीनबाट कुरा उठ्न थालेका हुन् ।
अनौपचारिक संवादमा भन्छन्– अमेरिकनलाई पनि पहिला चिनियाँ पर्यटकसरह पाँच महिना(एक सय ५० दिन) को प्रवेशशाज्ञा दिइन्थ्यो भने अब एकचोटीमा ६ महिना बस्न पाइने गरी ५ वर्षको एकमुष्ट भीषा दिने प्रचलन शुरु भएको छ ।
उनीहरुको भनाइ छ, ‘सबभन्दा बढी पर्यटक हामीले पठाउने, नेपाली भूमी प्रयोग गरी गिजोलिरहनेलाई च्याप्ने, बरु प्रत्यक्ष÷अप्रत्यक्ष रुपले विकास, निर्माणका अनेक सहयोगमार्फत गुण लगाइरहेको छिमेकीलाई यस्तो व्यवहार गर्ने ?’
सुपुर्दगी सन्धिको प्रस्ताव वर्षौदेखि अड्किएकोमा अघिल्लो महिना ब्युँतियो । गृहसचिवको नेतृत्वमा रातारात, उच्च गतिमा मस्यौदा तयार पनि भयो । तर, त्यो डकुमेण्ट दुई देशका राष्ट्रपतिको उपस्थितिमा हस्ताक्षर गर्ने बेला एजेण्डाबाटै उडाइयो । यसमा पनि चिनियाँको चित्तदुखाइ छ ।
त्यही बेला काठमाडौँ बस्दाबस्दै ‘चीनविरोधी गतिविधि गर्नेको हड्डी धुलो परिनेछ’ भनी राष्ट्रपति सी चिनफिङको अभिव्यक्ति आएको हो । त्यसको सांकेतिक अर्थ बल्ल खुल्न थालेको छ ।