Categories
समाचार

म टोपी लगाएर गएको थिएँ, बाइडेनले चिनिहाले: देउवा

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाललाई पूरा सहयोग गर्ने बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग स्कटल्याण्डको ग्लास्गोमा भएको संक्षिप्त भेटमा बाइडेनले नेपाल आफूलाई खुब मन पर्ने देश भएको र पूरा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

साता लामो ग्लास्गो जलवायु सम्मेलनमा सहभागी भएर आज विहान स्वदेश फर्केका प्रधानमन्त्री देउवाले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै बाइडेनले सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो ।

‘बाइडेनसँग पनि रिसेप्सनमा भेट हुँदा टोपी लगाएर गएको थिए चिनिहाल्नु भयो । नेपाल आउनुभएको रहेछ उँहा । नेपाल राम्रो देश, सबभन्दा खुब मन पर्छ भन्नुभयो । नेपालको सम्बन्धमा कुरा गर्दा उंहाले सबै थाहा पाउनुभएको रहेछ । पूरा सहयोग हुने भन्नु भयो,’ देउवाले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले बेलायतका रक्षा मन्त्रीको गोर्खाप्रति राम्रो सद्भाव पाएको बताउनुभयो । ‘गोर्खा सैनिकसँगै काम गर्नुभएको रहेछ । नेपाली राजदूत आएपछि समस्या समाधान अगाडि बढाउँछौं भन्नुभयो,’ उंहाले भन्नुभयो ।

भारतसँग राम्रो कुराकानी भयो

पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले कोप सम्मेलनका दौरानमा छिमेकी मुलुक भारतलगायत विभिन्न मुलुकका नेताहरुसँग महत्वपूर्ण विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाँका अनुसार विशेषगरी भारतसँग हवाई रुटका सम्बन्धमा विस्तृत कुराकानी भएको छ । भैरहवाको लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि ‘एयरस्पेस’ का सम्बन्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल भएको छ ।

“गौतमबुद्ध विमानस्थलमा उडान गर्दा भारतको भूमि प्रयोग भएर उडान गर्नुपर्ने भएकाले एयरस्पेसको सम्बन्धमा कुराकानी भएको छ, यो लगायत अन्य विषयमा पनि राम्रो छलफल भएको र नेपालका निम्ति भारतको राम्रो सद्भाव देखिएको छ । भारतमा समेत युरिया मल अभाव रहेका बेला पनि नेपाललाई भारतले मल दिएर सहयोग गरेकोप्रति धन्यवाद दिएको छु”, प्रधानमन्त्री देउवाले भन्नुभयो ।

गौतमबुद्ध विमानस्थल शीघ्र सञ्चालनको तयारीमा छ । यो विमानस्थलमा एक महिनाभित्र क्लालिब्रेसन फ्लाइट गरेर त्यसको तीन महिनाभित्रै परीक्षण उडान हुने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रधानमन्त्री देउवाले बेलायतका रक्षामन्त्रीसँगको छलफलको क्रममा नेपालप्रति धेरै ठूलो सद्भाव रहेको पाएको र गोरखा फौजको सङ्ख्या बढाउन सकारात्मक रहेको प्रक्रिया दिएको जानकारी दिनुभयो । “जुन बेलादेखिको गोरखाहरुको तलब बढेको छ, त्यही बेलादेखिको पेन्सन बढ्नुपर्छ भनेर कुराकानी भएको छ । बेलायतका प्रधानमन्त्रीसँगको छलफलमा पनि गोर्खाजको विषयमा सकारात्मक कुराकानी भएको छ”, उहाँले भन्नुभयो । सम्मेलनकै क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि नेपालको सम्बन्धका बारेमा संक्षिप्त कुराकानी भएको जानकारी प्रधानमन्त्री देउवाले दिनुभयो ।

उता सम्मेलनलाई सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे जोडदारका साथ कुरा उठाएको बताउनुभयो । कार्बन ग्यास घटाउने, अक्सिजन बचाउने र कार्बन उत्सर्जन घटाउनेबारे कुरा उठाएको उहाँले बताउनुभयो । जलवायु परिवर्तनको जोखिमको बढी असर नेपालमा परेको र बाढी, पहिरोजन्य विपद्का घटना बढेकोप्रति ध्यानकर्षण गराउँदा अन्य मुलुकले चासो लिएको प्रधानमन्त्री देउवाले जानकारी दिनुभयो ।

भारतीय प्रधानमन्त्रीले छिट्टै नेपाल भ्रमण गर्ने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपालको भ्रमण गर्नुहुने भएको छ । कोप सम्मेलनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताको क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल आउने आशय व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री देउवाले समकक्षी भारतीय प्रधानमन्त्रीसँग नेपाल भ्रमणबारे कुराकानी भएको र उहाँ नेपाल आउन उत्सुक रहनुभएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मैले भारतीय प्रधानमन्त्रीलाई तपाईँ नेपाल आउनुस् हामी स्वागत गर्छौँ भनेँ । नेपालका पशुपतिनाथ, मुक्तिनाथ घुम्न मैले आग्रह गरेँ, धार्मिक क्षेत्रहरुको भ्रमण पनि हुन्छ, आउनुस् भनेर मैले भनेको छु र उहाँले आफू नेपाल आउन तयार रहेको बताउनुभयो, मलाई पनि भारत भ्रमणमा आउनुस् भन्नुभएको छ ।”

प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना (एमसिसी)का उपकार्यकारी प्रमुखसँग भएको भेटघाटका क्रममा नेपाल एमसिसीको पक्षमा रहेको र आवश्यक प्रक्रिया पूरा गरेर यसलाई चाँडै टुङगो लगाउने भन्ने विषयमा कुराकानी भएको जानकारी पनि दिनुभयो । “उहाँले एमसिसी कहिले पास हुन्छ भन्नुभएको थियो, मैले भने गठबन्धनसमक्ष छलफल गरेर हामी छिट्टै प्रक्रिया पु¥याएर निष्कर्षमा पुग्छौँ भनेको छु । हामीले हस्ताक्षर गरेरै पठाएको भनेको छु यसमा प्रचण्डजीले पनि हस्ताक्षर गर्नुभएको छ, संसद् स्थगन भएको यही कारण होइन अन्य कारणले हो, कतिपय विषयलाई अध्यादेशमार्फत सम्बोधन गर्नुपर्ने भएकाले स्थगन भएको हो”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री देउवाको स्वागतका लागि विमानस्थलको विशिष्टकक्षमा गृहमन्त्री बालकृष्ण खाँण, रक्षामन्त्री डा मिनेन्द्र रिजाल, परराष्ट्रमन्त्री नारायण खड्का, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विमानस्थल पुग्नुभएको थियो । प्रधानमन्त्रीको स्वागतका लागि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, मुख्यसचिव शङ्करदास वैरागी, सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख पनि विमानस्थल पुग्नुभएको थियो ।

‘कोप २६’ मा प्रधानमन्त्रीको सहभागिता नेपालका लागि फलदायी
प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन (कोप–२६) मा भाग लिएर आज स्वदेश फर्कनुभएको छ ।

प्रधानमन्त्री देउवाले यही कात्तिक १५ गते कोप २६ को ‘वल्र्ड लिडर समिट’ लाई सम्बोधन गर्दै हिमाली क्षेत्रको संवेदनशीलतालाई विश्व जगत्ले नजिकबाट नियाल्नुपर्ने बताउनुभएको थियो । प्रधानमन्त्री देउवाले विश्व जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता कार्यान्वयनका लागि नेपाल प्रतिबद्ध रहेको जनाउँदै विकसित मुलुकमा पनि उक्त सम्झौता कार्यान्वयनका लागि त्यत्तिकै जिम्मेवार रहनुपर्ने धारणा राख्नुभएको थियो ।

उहाँले हिमाली क्षेत्रमा पर्ने असरले समुद्र नजिकका सबै राष्ट्रलाई पार्नसक्ने असरबारे गम्भीरतापूर्वक लिन आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले नेपालले सन् २०४५ भित्र शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य राखेको बताउँदै आफ्नो अर्थतन्त्रका हरेक क्षेत्रलाई कार्बन उत्सर्जनरहित तुल्याउने प्रतिबद्धतासमेत जनाउनुभएको थियो ।

नेपालले नवीकरणीय ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर स्वच्छ ऊर्जा अभियान जारी राखेको उहाँले बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री देउवासँग बेलायतका अन्तर्राष्ट्रिय व्यापारमन्त्री र परराष्ट्र राज्यमन्त्रीले शिष्टाचार भेट गर्नुभएको थियो । कात्तिक १५ गते साँझ बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सम्मेलनमा भाग लिन आउनुभएका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको सम्मानमा आयोजना गर्नुभएको स्वागत समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुनुभएको थियो ।

कात्तिक १६ गते प्रधानमन्त्री देउवाले वन तथा वातावरणसम्बन्धी उच्चस्तरीय समारोहमा विशेष प्यानलिष्टको रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालको वन तथा स्वच्छ कार्बन उत्सर्जनका बारेमा गरिरहेको कामबारे अवगत गराउनुभएको थियो ।

सोही दिन बिहान बेलायतका प्रधानमन्त्री जोनसन र स्कटल्याण्डका सरकार प्रमुखले सीमित राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका लागि आयोजना गर्ने ‘ब्रेकफास्ट रिसेप्सन’मा पनि सहभागी हुनुभएको थियो । त्यहाँ विशेषगरी वन संरक्षण र जमिनको सदुपयोगबारे छलफल भएको थियो । सोही दिन प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । भेटवार्ताका क्रममा नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो र प्रगाढ बनाउने विषयमा कुराकानी भएको थियो । त्यसक्रममा प्रधानमन्त्री देउवाले भारत सरकारबाट विभिन्न क्षेत्रमा भइरहेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै नेपालले अभाव झेलिरहेको रासायनिक मलको निरन्तर आपूर्तिबारे कुराकानी गर्नुभएको थियो । जवाफमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको जस्तो समस्या छ भारतले पनि सोही समस्या लिएर समाधान गर्न चाहेको धारणा राख्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले भारत हुँदै भैरहवा, नेपालगञ्ज र धनगढीको हवाई रुट सञ्चालन सहजीकरणबारे कुरा उठाउनुभएको र त्यसबारे नेपालले उठाएको सवाललाई सकारात्मकरूपमा लिएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । त्यसैगरी श्रीलङ्काका राष्ट्रपतिसँग उच्चस्तरीय भेटवार्ता भएको र दुई देशबीचको शैक्षिक र सांस्कृत आदन–प्रदान तथा लुम्बिनी क्षेत्रको विकासबारे पनि कुराकानी भएको थियो ।

त्यस्तै बेलायतका रक्षामन्त्रीसँग भएको भेटमा प्रधानमन्त्री देउवाले भूतपूर्व गोरखा सैनिकले उठाएको मागको सम्बोधन गर्न आग्रह गर्नुभएको थियो । उहाँले नेपालप्रति बेलायती सरकार र जनताको लामो मित्रवत सद्भाव रहेको र समस्या समाधनका साथै कोभिड महामारी नियन्त्रणमा सहयोग तथा दुई पक्षीय भ्रमणबारे पनि सकारात्मक कुराकानी भएको थियो ।

प्रधानमन्त्री देउवाले कात्तिक १७ गते स्कटल्याडको इडनबरास्थित रोयल शाही वनस्पति उद्यानको अवलोकन गर्नुका साथै नेपाली बगैँचामा बिरुवा रोप्नुभएको थियो ।

संयुक्त अधिराज्यमा रहँदा प्रधानमन्त्री देउवाले कात्तिक १३ गते नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्ने स्वागत समारोहलाई सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्री त्यहाँ रहँदा उहाँसँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिले भेटेका थिए ।

उहाँले भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधि, बेलायती संसद्का सदस्य र अन्य नेपाली प्रवासी सदस्यसँग पनि भेटघाट गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री आज स्वदेश फर्र्किएलगत्तै आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयद्वारा वितरित विज्ञप्तिमा प्रधानमन्त्री देउवाको यस भ्रमण नेपालका लागि फलदायी भएको उल्लेख गरिएको छ । त्यस सम्मेलनका क्रममा प्रधानमन्त्री देउवाले गर्नुभएका उच्चस्तरीय साइडलाइन बैठक तथा द्विपक्षीय भेटवार्ताबाट नेपालको कूटनीतिक क्षेत्रमा सकारात्मक प्रभाव परेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.