Categories
समाचार

अमेरिकी राष्ट्रपतिले भने, ‘नेपाल खुब मन पर्छ, पूरा सहयोग गर्छौं’

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाललाई पूरा सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग स्कटल्याण्डको ग्लास्गोमा भएको संक्षिप्त भेटमा बाइडेनले नेपाल आफूलाई खुब मन पर्ने देश भएको र पूरा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

साता लामो ग्लास्गो जलवायु सम्मेलनमा सहभागी भएर आज विहान स्वदेश फर्केका प्रधानमन्त्री देउवाले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै बाइडेनले सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए ।‘बाइडेनसँग पनि रिसेप्सनमा भेट हुँदा टोपी लगाएर गएको थिए चिनिहाले । नेपाल आएका रहेछन् उनी । नेपाल राम्रो देश, सबभन्दा खुब मन पर्छ भने । नेपालको सम्बन्धमा कुरा गर्दा उनले सबै थाहा पाएका रहेछन् । पूरा सहयोग हुने भन्नु भयो,’ उनले भने ।

प्रधानमन्त्री देउवाले बेलायतका रक्षा मन्त्रीको गोर्खाप्रति राम्रो सद्भाव पाएको बताए । ‘गोर्खा सैनिकसँगै काम गरेका रहेछन् । नेपाली राजदूत आएपछि समस्या समाधान अगाडि बढाउँछौं भने,’ उनले भने ।यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँएका छन् । स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी भएर देउवा कतार एयरवेजको उडानबाट दोहा हुँदै बिहान काठमाडौं आइपुगेका हुन् ।

देउवालाई स्वागत गर्न गृहमन्त्री बालकृष्ण खाँडसहित मन्त्रीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । सम्मेलनमा भाग लिन देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित एक साताअघि १२ कात्तिकमा बेलायत प्रस्थान गरेका थिए ।

ग्लास्गोमा रहँदा प्रधानमन्त्री देउवाले सम्मेलनलाई सम्बोधन गर्दै कार्बन उत्सर्जन कटौती गर्न हातेमालो गर्न जरुरी रहेको बताएका थिए । नेपालले २०४५ सम्म उत्सर्जन शून्यमा झार्ने सुनाएका थिए । जलवायु परिवर्तनविरुद्ध जुध्नका लागि गरेको योगदानबापत कम विकसित देशहरुले क्षतिपूर्ति पाउनुपर्ने माग गरेका थिए ।

सम्मेलनका क्रममा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका राष्ट्र प्रमुखसँग साइडलाइन वार्ता गरेका थिए ।

Leave a Reply

Your email address will not be published.