काठमाडौं । काठमाडौमा फेला परेका ११ अफगानी नागरिक मध्य ५ जनालाई अध्यागमन विभागले मेक्सिको पठाएको थियो । तर उनीहरु फेरी नेपाल फर्कीएका छन् । अन्य ६ जनाका बारेमा कुनै निर्णय लिन बाँकी रहेकै बेला मेक्सिको पठाएकाहरु पनि पुन नेपाल फर्किएपछि अध्यागमन विभाग अप्ठेरोमा परेको छ ।
मंगलबार दिउँसो ३ बजे श्रीलंका हुँदै उनीहरू नेपाल फर्किएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले जानकारी दिए।
अध्यागमन विभागले उनीहरुलाई कालिकास्थानस्थित विभागमा पठाइसकेको जनाएको छ । विभागले उनीहरूलाई गत आइतबार मेक्सिकोको लागि पठाएको थियो। उनीहरूसँग भिसा भएको देखिएपछि विभागले मेक्सिको पठाएको थियो।
कात्तिक ३ मा भारतको सुनौलीबाट रुपन्देहीको बेलहिया नाका हुँदै गैरकानुनी रुपमा काठमाडौं आइपुगेका थिए । काठमाडौँ आएपछि प्रहरीले ११ जनालाई पक्राउ गरेको थियो । सुरुमा यूएनएचसीआरको सम्पर्कमा गएका थिए ।
तर उनीहरूलाई यहीँबाट फर्काइएको छ। यसअघि अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले उनीहरू पुन फर्किनसक्ने बताएका थिए। यस्तै, ११ जनामध्ये पाँच जना एकै परिवारका सदस्य हुन्। परिवारमा श्रीमान(श्रीमती, आठ वर्षीय बालक, ११ र १७ वर्षीया बालिका छन्।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गत आइतबार काठमाडौंको सिनामंगलस्थित फेसबुक होटलबाट उनीहरूसहित ११ जनालाई पक्राउ गरेको थियो। उनीहरूलाई पक्राउ गरी ब्युरोले थप अनुसन्धान गर्न विभागमा बुझाएको थियो। विभागले पाँच जनालाई मेक्सिको पठाए पनि अरू ६ जनाबारे कुनै निर्णय गरेको थिएन।